१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बराबरी पनि जित सरह: रहाने

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टलाई हारबाट जोगाएपछि भारतीय क्रिकेटका कप्तान अजिन्क्या रहानेले आफ्नो टोलीको तारिफ गर्दै बराबरी पनि जित सरह भएको टिप्पणी गरेका छन् ।

ओपनरद्वय शुबमन गिल र रोहित शर्मालाई चौथो दिन नै गुमाउँदा ९८–२ को स्थितिबाट सोमबारको खेल सुरु गरेको भारतले विश्वका उत्कृष्ट बलिङ आक्रमणविरुद्ध तेस्रो टेस्टमा बराबरीको नतिजा निकालेको थियो। ओभर नाइट क्रिकेटमा सोमबार थप रन बटुल्न असफल रहाने ४ रनमै पवेलियन फर्किएका थिए, जहाँ उनको टोलीलाई जितका लागि ३ सय ९ रन आवश्यक थियो। सोमबार दोस्रो ओभर नसकिँदै कप्तान रहाने आउट भएपछि रेकर्ड  

योगफल पछ्याएको भारतको सुरुआत राम्रो हुन सकेन। यद्यपि, रिसब पन्तले ९७ रन र चेतेश्वर पुजराले ७७ रन बनाउँदै भारतको आशा जगाए। यो जोडी आउट भएपछि हनुमा बिहारीले चोटका बाबजुत उपचार गराउँदै इनिङलाई जोगाए। रविचन्द्रन अश्विनले पनि घरेलु टोलीको तीव्र बलिङमा समालिँदै भारतमाथि संकट पर्न दिएनन्। बिहारीले १६१ बल खेल्दा २३ रन र अश्विनले ३९ रनको महत्वपूर्ण योगदान दिए।  

अस्ट्रेलियाको तीव्र गतिको बलिङका कारण घाइते भएका अश्विनले सामान्य उपचारको सहायता लिनुपरेको थियो। बिहारी र अश्विनको जोडीले २ सय ५६ बल खेल्दा ६२ रन बनाए जसको मद्दतमा भारतले पाँच विकेट गुमाउँदा ३३४ रनको योगफल बनाउँदै तेस्रो टेस्ट जोगाउन सफल भयो। यससँगै चार खेलको शृंखलामा १–१ को बराबरीमा रहँदा ब्रिसबेनमा हुने अन्तिम टेस्ट निर्णायक बन्नेछ। ‘यो टेस्ट जितेसरह नै हो,’रहानेले भने,‘जब हामी विदेश जान्छौं र यो तरिकाले खेल्छौं भने त्यो विशेष नै हुन्छ, त्यो जितसरह नै रहनेछ । 

’खेलाडीले चोटका बाबजुत पनि घरेलु बलरसामू  अन्तिम समयसम्म लड्नु रहानेको सन्तुष्टिको आधार थियो। ‘बिहानको छलफलमा पनि हामीले आफ्नो स्वाभाविक खेल खेल्ने र अन्तिमसम्म लड्ने थियो,’रहानेले भने, ‘नतिजाबारे धेरै नसोच्ने योजना थियो। जुन तरिकाले प्रदर्शन भयो, त्यो विशेष नै छ। पहिलो इनिङमा एक समय अस्ट्रेलियालाई २००/२ को स्थितिबाट ३ सय ३८ रनमा अलआउट गर्नु पनि उत्कृष्ट  नै रह्यो ।’ कप्तान रहानेको खराब प्रदर्शनका बाबजुत बिहारी र अश्विनले देखाएको धैर्यताका साथै पन्तको आक्रामक शैली भारतका लागि महत्वपूर्ण साबित भयो ।

बिहारीभन्दा अगाडि पाँच नम्बरको ब्याटिङमा पन्तलाई पठाउने भारतको रणनीतिले केही हदसम्म काम ग¥यो। ‘हामीले पन्तलाई पाँच नम्बरमा पठाउने रणनीति बनाएका थियौं, जुन सफल पनि भयो। त्यसको मुख्य श्रेय उनलाई नै जान्छ। जुन तवरबाट उनले काउन्टर अट्याक गरे र महत्वपूर्ण इनिङ खेले, त्यो हर्ने लायक थियो,’रहानेले भने।

अस्ट्रेलियाका कप्तान टिम पाइनेले आफ्ना बलरको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। ‘स्पिनर र तीव्र गतिका बलरमाथि मलाई विश्वास थियो र उनीहरूले सोहीअनुरूप काम पनि गरे। तथापि पाएका अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्‍यौं। हामीले लगातार केही क्याच ड्रप गर्नुले पनि जितबाट बन्चित रह्यौं,’पाइनेले भने,‘मैले पनि केही क्याच छुटाए। तर, अब एकअर्काप्रति आरोप लगाउनुभन्दा ब्रिसबेनको खेलमा केन्द्रित रहनु उत्तम हुन्छ।’

प्रकाशित: २८ पुस २०७७ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App