१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुलसँगको प्रदर्शनबाट सन्तुष्ट एस्टन भिल्ला

पहिलो रोजाइका खेलाडी बेन्चमा सीमित रहेको एस्टन भिल्लालाई ४–१ ले हराउँदै भ्रमणकारी टोली लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। पहिलो रोजाइका अधिकांस खेलाडीमा कोरोना संक्रमण देखिएपछि प्रशिक्षक डिन स्मिथले दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेका थिए। पहिलो हाफमा एस्टन भिल्लाले प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुललाई रोके पनि दोस्रो हाफमा भने निरिह बन्यो।

समग्रमा एस्टन भिल्लाका १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो, जसमध्ये ९ खेलाडी र पाँच कर्मचारी छन्। पहिलो हाफमा घरेलु टोलीसँग संघर्ष गरेको लिभरपुल दोस्रो हाफमा मात्र लय समात्न सफल भयो। चौथो मिनेटमा नै साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।  

३० यार्ड टाढाबाट प्राप्त पासलाई मानेले हेडरमार्फत जाली चुमाउँदा लिभरपुलले अग्रता लिन सफल भएको थियो। ४१औं मिनेटमा लुई बारीले एस्टन भिल्लाका लागि गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। लिभरपुल दोस्रो हाफमा भने आक्रामक खेल देखियो। ६०औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको तीन मिनेट पछि नै मानेले अर्को गोल थप्दै अग्रता ३–१ ले बढाए। ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई ४–१ को बलियो स्थितिमा पुर्‍याएका थिए ।

यद्यपि, त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र लिभरपुलले चौथो चरणमा स्थान पक्का गर्‍यो। अनुभवी र नयाँ खेलाडीसहितको टोलीबाट जित हात पारेपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले युवा खेलाडीको प्रशंसा गरे। ‘युवा खेलाडीको प्रदर्शन तारिफ योग्य रह्यो,’लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘पछिल्लो समय टोलीमा पास उपलब्ध गराउँदै बल अगाडि बढाउनमा समस्या देखिएको थियो। गलत ठाउँमा पास निस्किरहेको अवस्था थियो। केही परिवर्तन गर्दै नयाँ खेलाडीलाई स्थान दिँदा त्यो समस्या कम हुन पुग्यो ।’ क्लोपले केही सुन्दर अवसरसमेत सदुपयोग गर्न नसकिएको बताए।  

घरेलु टोली एस्टन भिल्लाको यु–२३ टोलीका प्रशिक्षक मार्क डिलेनेले पराजित भए पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘क्लब र एकेडेमीको आँखाले हेर्दा बलियो टोलीविरुद्ध युवा खेलाडीले गरेको प्रदर्शन निकै राम्रो रह्यो र नयाँ खेलाडीलाई पनि अनुभव राम्रो भयो,’ एस्टन भिल्लाका यु–२३ प्रशिक्षक मार्कले भने। एस्टन भिल्लाका प्रमुख कार्यकारी अधिकृत क्रिस्टियन पुरस्लोले पनि यु–२३ का प्रशिक्षक मार्क डिलेनेले जस्तै युवा खेलाडीको प्रशंसा गरे।

‘लिभरपुल जस्तो टोलीसँग मैदान उत्रदा खेलाडीको औसत उमेर १८ वर्ष थियो, त्यसैले उनीहरूको प्रदर्शनले हाम्रो ध्यान खिचेको छ,’ प्रमुख कार्यकारी अधिकृत पुरस्लोले भने। एफए कपअन्र्तगत शुक्रबार नै सम्पन्न अर्को खेलमा भ्रमणकारी टोली क्रिस्टल प्यालेस उल्भरह्याम्पटनसँग १–० ले स्तब्ध बन्यो। ३५औं मिनेटमा एडमा ट्राओरेले गरेको गोल निर्णायक बन्दा उल्भरह्याम्पटनको पनि चौथो चरणको यात्रा सम्भव भएको हो।

प्रकाशित: २६ पुस २०७७ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App