१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: एपिएफ र प्रदेश–१ फाइनलमा

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ र प्रदेश–१ फाइनल प्रवेश गरेका छन्।  शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पाखा लगाउँदैै विभागीय टोली एपिएफ फाइनल प्रवेश गर्‍यो। सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपिएफले १५ ओभरमा १ विकेट खर्चेर पूरा गर्‍यो।

मौसम खराब भएका कारण २० ओभरको खेल १६ ओभरमा छोट्याइएको थियो। एफिएफका लागि ओपनर ज्योति पाण्डेले अविजित रहँदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित १९ रन बनाइन्। त्यसअघि ४।४ ओभरमा टोलीकोे स्कोर १४ रन हुँदा कविता कुँवरको बलमा क्याच हुन पुगेकी कप्तान सीता रानामगरले ७ रन बनाएकी थिइन्।  

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो। टोलीले उक्त रन बनाउने क्रममा कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन्। अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन्। यस्तै टोलीका लागि ओपनर रेवती धामीले १२ रन तथा कविता कुँवरले ९ रन बनाएका थिए। बलिङतर्फ एपिएफका लागि करुणा भण्डारीले ११ रन खर्चंदै सर्वाधिक ३ विकेट लिइन्। कप्तान सीता रानामगर पनि १ विकेट लिन सफल भइन्।  

यसै गरी शनिबारै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ फाइनल पुग्यो। खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको लक्ष्य प्रदेश–१ ले ८.५ ओभरमा बिनाविकेट पूरा गर्‍यो। प्रदेश–१ बाट काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरे।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सीमित हुन पग्यो। लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। ३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका प्रहार गरेकी थिइन्। बलिङतर्फ प्रदेश–१ की संगीता राई र निग्मा तामाङले २/२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिएकी थिइन्। अब उपाधिका लागि आइतबार प्रदेश– १ र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १९ पुस २०७७ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App