विमला कार्कीको दैनिकी फेरिएको छ। लकडाउनअघि उनी बिहान सबेरै उठेर घरको काममा लाग्थिन्। उनको दैनिकी घरधन्दामै बित्थ्यो। अव्यवस्थित खानपिन र व्यस्त जीवनशैलीबीच उनी कहिलेकाहीं घर आसपास मर्निङवाकका लागि निस्किन्थिन्। बिहान समान्य अभ्यासका लागि निस्किँदा उनी बुढालिकण्ठ नगरपाकिलकाको भंगाल सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिल्लामा खेलाडीहरू टेनिस खेलिरहेको देख्थिन्।
विद्यलालयस्तरमा भलिबल र फुटबल खेलमा सहभागिता जनाए पनि उनलाई टेनिस खेलको बारेमा भने खासै ज्ञान थिएन। त्यति बेला उनले नौलिन स्पोर्ट्स भिल्लाका सञ्चालक किशोर थापालाई भेटिन र यस खेलका बारेमा जानकारी लिइन्। तर सानैदेखि खेलमा रुचि भएकाले उनले टेनिस प्रशिक्षण सुरु गर्ने निर्णय गरिन्। उनको यो निर्णय पूरा भैहाल्न भने निकै कठिन थियो। विवाहिता महिलाले घरधन्दाको साटो टेनिस खेल्छु भन्दा घर परिवार र छिमेकीले के भन्लान् भन्ने डर उनमा थियो। तर उनमा टेनिस प्रशिक्षण सुरु गर्ने दृढ संकल्प थियो। आफ्नो खेल रुचिका बारेमा श्रीमानलाई भनिन्। श्रीमान्ले उनको प्रस्तावमा समर्थन गरे।
त्यसपछि उनको दैनिकी फेरियो। उनी टेनिस र्याकेटका साथ बिहान ६ः३० मै नैलिन भिल्ला पुुग्न थालिन्। जहाँ उनीजस्तै अन्य गृहिणी पनि टेनिस अभ्यासका लागि आउँथे। त्यसले उनको हौसला थप बढायो।
‘सुरुका दिनमा मलाई केही असहज लागेको थियो, मैले फिटनेसका लागि मात्र टेनिस प्रशिक्षण सुरु गरेको थिएँ,’ विमलाले भनिन्, ‘तर त्यहाँ मजस्तै अन्य महिला खेलाडी पनि अभ्यासमा देखेपछि मेरो मनोबल बढ्यो। टेनिस प्रशिक्षण सुरु गरेपछि मैले आफैंमा थप ऊर्जा पाएँ। यो खेल केही महँगो लाग्न सक्छ तर स्वास्थ्यका अगाडि पैसाको कुनै अर्थ हुन्न। यो मेरो दैनिक अभ्यास नै भएको छ।’
‘मैले अहिले अभ्यास मात्र गरिरहेको छु, कुनै प्रतियोगिता भने खेलिसकेको छैन,’ विमलाले भनिन्, ‘म अहिले ३७ वर्षकी भएँ। म ३५ वर्षमाथिको उमेरसमूहमा कुनै प्रतियोगितामा सहभागिता जनाउन चाहन्छु।’
विमलाको जस्तै बुझाइ छ डाक्टर स्निधा मैनालीको पनि। उनलाई पनि टेनिस खेल धनाढ्यहरूको खेल लाग्थ्यो। उनलाई पनि खेलकुदमा रुचि थियो ,त्यसमाथि टेनिस खेलप्रति छुट्टै चाख थियो। तर कहिले टेनिस खेल्छु जस्तो लाग्दैनथ्यो।
‘म क्लबमा जिमका लागि जान्थें। तर कोरोना महामारीपछि नियमित शारीरिक अभ्यासका लागि क्लब जान सम्भव भएन,’ मैनालीले भनिन्, ‘त्यसैले शारीरिक रूपमा फिट हुनैका लागि मैले टेनिस अभ्यास सुरु गरेकी हुँ।अहिले मेरो यस खेलप्रतिको लगाव बढ्दै गएको छ।’
नौलिन स्पोर्ट्स भिल्लामा कोरोना महामारीका बीच पनि राष्ट्रिय खेलाडीका साथै त्यहाँ सदस्यले नियमित अभ्यास गरि नै रहे। भिल्लाका सञ्चालक थापाले स्थानीय निकायको स्वीकृतिमै स्वास्थ्य मापदण्डको पालना गर्दै अभ्यास गराइरहेको बताए।
‘हामीले यो कोरोना माहामारीबीच पनि यहाँ अभ्यास भने जारी नै राख्यौं,’ थापाले भने, ‘धेरै खेलाडी जम्मा हुने भएकाले हामीले तीन सिफ्टमा अभ्यास तालिका बनायौं। बिहानको सत्रमा पुरुष खेलाडी, दिवा सत्रमा गृहिणी र साँझको सत्रमा विद्यालयका बालबालिकाका लागि अभ्यासको व्यवस्था मिलायौं। बिहान र दिवा सत्रमा यस भिल्लाकै सदस्य नियमित अभ्यासमा सहभागी हुन्थे। साँझको सत्रमा भने दिन दिनै खेलाडीको संख्या बढ्दै गयो।’
लकडाउनका कारण आफ्ना बालबालिका घरमा बस्ने र मोबाइल तथा टेलिभिजन हेर्नमै व्यस्त हुने भएकाले पनि अभिभावकले उनीहरूको दैनिकी परिवर्तन ल्याउनैका लागि साँझको सत्रमा आफ्ना बालबालिकालाई भर्ना गरेको थापाको बुझाइ छ।
‘लकडाउनअघि कमै मात्र बालबालिका टेनिस अभ्यासमा सहभागी हुन आउँथे। तर लकडाउनपछि भने उनीहरूको सभागिता बढेको छ,’ थापाले भने, ‘यहाँ आएपछि आफ्ना बालबालिकाको दैनिकी र जीवनशैलीमा आएको परिवर्तनले अभिभावक सन्तुष्ट छन्। हामी अझै विद्यालयका छात्रछात्रा,कर्पोरेट क्षेत्र र अन्य इच्छुक सर्वसाधारणका लागि केन्द्रित कार्यक्रम ल्याउँदै छौं। त्यसका लागि हामीले ‘टच एन्ड फिल’ को अवधारणासमेत ल्याएका छाैं।’
त्यस्तै अभिभावकमध्येका एक हुन् राजु सिंह। उनी आफैं पनि यस क्लबका सदस्य थिए। त्यहाँ अभ्यासका लागि आउँदा उनले अन्य बालबालिकाले टेनिस अभ्यास गरिहेको देखेर उनले आफ्ना छोरा ऋदभिक सिंह पनि साँझको सत्रमा भर्ना गराए।
‘लकडाउन भएपछि ऊ मोबाइल र कार्टुन हेर्नमै व्यस्त भयो। एकल स्वभाव बढ्दै गयो,’ राजुले भने, ‘त्यसैले उसलाई मैले टेनिस खेल प्रशिक्षणमा भर्ना गरिदिए। अहिले उसको दैनिकी फेरिएको छ। कोर्टमा, घरमा र छरछिमेक सबैसँग सहजै घुलमिल हुन थालेको छ। पहिला कार्टुन र मोबाइल गेममा मात्र केन्द्रित हुन्थ्यो। तर अहिले टेनिसका साथै अन्य खेलकुद गतिविधिहरू चाख दिएर हेर्छ।’
प्रकाशित: १५ पुस २०७७ ०४:१८ बुधबार