coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सडक महोत्सवमा बिच भलिबल प्रतियोगिता

पोखराको फेवा किनारस्थित बाराही खेलमा निर्माण गरिएको बिच भलिबल कोर्ट । तस्बिर फाईल÷नागरिक

पोखराको लेकसाईडस्थित फेवा किनारमा रहेको बिच भलिबल कोर्टमा १३ महिनापछि प्रतियोगिता आयोजना हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले २२ औं सडक महोत्सवको अवसरमा संस्थागत बिच भलिबल प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगिता आगामी पुस १६ र १७ गते बाराही खेल मैदानस्थित बिच भलिबल कोर्टमा हुने छ । सडक महोत्सव भने पुस १५ गतेदेखि १७ गतेसम्म तीनदिन हुने छ । विगतमा ५ दिनको महोत्सव हुदैं आएको थियो ।  

रेबान पोखराले सडक महोत्सवमा पहिलोपटक बिच भलिबल प्रतियोगिता आयोजना गरेको हो । यसअघि आयोजित सडक महोत्सवमा डुंगा दौड, डोरी तान लगायतका खेलकुदजन्य गतिविधि गर्दै आएको थियो । २२ औं संस्करणमा पर्यटनसँग सम्बन्धीत संघसंस्था बीचको प्रतिस्पर्धा हुनेछ भने अर्को खुल्ला टेनिस प्रतियोगिता आयोजना गरेको छ । टेनिस प्रतियोगिता भईरहेको छ । बिच भलिबल प्रतियोगिता भने दुईदिनपछि शुरु हुनेछ । दुईवटा कोर्टमा प्रतियोगिता खेलाईने छ ।  

२०७६ मंसिर १५ देखि २४ सम्म पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को बेला निर्माण गरिएको बिच भलिबल कोर्ट लामो समयपछि मर्मत सम्भार गर्दै संस्थागत प्रतियोगिताको तयारी गरिएको हो । रेबान पोखराले कोभिडकै समयमा शिथिल बन्दै गएको पर्यटनलाई उठाउन आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले सडक महोत्सवलाई निरन्तरता दिईएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।  

उनका अनुसार खेलकुदबाटै पर्यटन प्रवद्र्धनको गर्ने जनाउँदै पर्यटन व्यवसायीहरुको संस्थागत बिच भलिबल प्रतियोगिता आयोजना गरेका हौं । प्रतिस्पर्धामा १२ टिमले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । विजयी टिमले नगद १५ र उपविजेताले ८ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । अध्यक्ष बरालले पुस १७ गते पोखराका पर्यटन व्यवसायी र कलाकार बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत खेलिने बताए । रेबानले मैदानको लागि नेपाल ट्रष्टलाई भाडा समेत बुझाईसकेको छ ।  

भलिबलको लागि कास्की जिल्ला भलिबल संघले प्राविधिक सहयोग गर्ने छ । ‘कोर्ट मर्मत सम्भार गरेका छौं । दुईदिनमा प्रतियोगिता टुग्याईने छ ।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने, ‘पर्यटन व्यवसायीहरुको संस्थागत भलिबलले लामो समयपछि कोर्ट मर्मत सम्भार भएको छ ।’ सागकै लागि तीनवटा कोर्ट निर्माण गरिएको हो । राष्ट्रिय खेलकुद परिषदले ५५ लाख रुपैयाँको लागतमा बिच भलिबल कोर्ट निर्माण गरेको हो । मर्मत सम्भारकै अभावमा वर्षदिनदेखि अलपत्रै थियो । 

प्रकाशित: १३ पुस २०७७ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App