४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

तोप–२१ राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्सलाई

मुलुकमै सर्वाधिक धनराशीको व्याडमिन्टन प्रतियोगिताको उपाधि लिँदै बिजेता युवा खेलाडी प्रिन्स दाहाल । तस्बिर : ध्रुव/नागरिक

एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्। प्रतियोगिता अन्तर्गत शुक्रबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय एकल पुरुष तर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठलाई पराजित गर्दै सिल्क ग्रुपका प्रिन्सले उपाधि चुमेका हुन्। प्रिन्सले नविनलाई २१–१३ र २१–१० को सोझो सेटमा पराजित गरे।  

सेमिफाइलनमा नेपाल नम्बर एक रत्नजित तामाङविरुद्ध ऐतिहासिक जित निकाल्दै प्रिन्स उपाधि नजिक पुगेका थिए। उपबिजेता नविनले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार हात परे। त्रिभुवन आर्मीका सेमिफाइनलिस्टद्धय (तृतीय) रत्नजित तामाङ र रुकेश महर्जनले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।  

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवद्र्धन र तोप–२१ को आयोजनामा साता चलेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रियतर्फ पुरुष एकल गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो।

शुक्रबारै भएको जिल्ला स्तरतर्फ युगल बिधाको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकाका अभिषेक गुरुङ र युवराज अधिकारीको जोडीले जित्यो। फाइलनमा चौतारा नगरपालिकाका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठलाई हराउँदै यो जोडीले उपाधि जितेको हो। अभिषेक–युवराज जोडीले रमेश–प्रकाशलाई २१–१२ र २१–१९ को सोझो सेटमा हरायो। बिजेता अभिषेक–युवराजले नगद ४० हजार रुपैयाँ पुरस्कार हात पार्दा उपजिबेता रमेश–प्रकाश ३० हजार पाए। सेमिफाइनलिस्ट चौताराका सुरेन्द्र श्रेष्ठ र कैलाश घले तथा बलेफी गाउँपालिकाका अजय तामाङ र राजकुमार तामाङको जोडीले जनही पाँच/पाँच हजार रुपैयाँ पुरस्कार पायो।  

त्यस्तै जिल्ला पुरुष एकल बिधाको उपाधि पनि त्रिपुराकै अभिषेकले जिते। उनले चौताराका सुरेन्द्र श्रेष्ठलाई फाइलनमा हराएका थिए। बिजेता अभिषेकले ३० र उपबिजेता सुरेन्द्रले २० हजार रुपैयाँ नगद पुरस्कार हात पारे। यसै विधाका सेमिफाइनलिस्ट अजय तामाङ र रमेश श्रेष्ठले नगद पाँच हजार पुरस्कार पाए।  

बिजेता खेलाडीलाई पूर्वकानुनमन्त्री तथा संघीय सांसद शेरबहादुर तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरेका थिए। राष्ट्रिय प्रतियोगितातर्फको नगद पुरस्कार मुलुकको व्याडमिन्टन खेल इतिहासमै सर्वाधिक भएको आयोजकको दाबी छ। आयोजक तोप–२१ ले यसअघिका दुई संस्करणमा मुलुकका ए डिभिजन क्लबबीच फुटबल प्रतियोगिता खेलाएको थियो।  

कोरोना महामारीका साथै चौताराको टुँडिखेल मैदानमा मिनी रंगशाला बन्दै गरेका कारण प्रतियोगितालाई निरन्तरता दिन यो वर्ष व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको आयोजक तोप–२१ का अध्यक्ष अशोक कार्कीले बताए। ‘खेल क्षेत्रको विकासका लागि बर्सेनी यस्ता प्रतियोगिता आयोजना गर्ने छौँ,’ उनले भने।

प्रकाशित: २७ मंसिर २०७७ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App