पहाडी जिल्ला खोटाङलाई उदयपुर सदरमुकामदेखि सोझो यातायातले जोड्ने उद्देश्यले तीन दशकदेखि निर्माण भइरहेको ‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ झण्डैझण्डै एकादेशको कथा जस्तो बन्न पुगेको छ।
२०५१ सालमा तत्कालीन मनमोहन अधिकारीको प्रधानमन्त्रीको कालमा खोटाङका सांसद, निर्माण तथा यातायात मन्त्री अशोक राईले शिलान्यास गरेको सो लोकमार्ग अहिलेसम्म सम्पन्न हुन नसकेको हो। कच्ची ट्र्याक खोल्दै, स्तरोन्नतिसहित कालोपत्रे बनाउने ठेक्का लागेको सो सडक निर्माण व्यवसायीकै लापरबाहीका कारण अलपत्र परेको हो। पहुँचवाला ठेकेदार कम्पनीहरूले सडक निर्माणको पेस्की लिँदै काम नगरी सम्झौता अवधि गुजार्ने गर्दा सडक अलपत्र परेको स्थानीयको गुनासो छ।
रेखदेख तथा सुपरिवेक्षणको जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ३ दशकमा एकतिहाईभन्दा बढी सडक कालोपत्रे हुन सकेको छैन। निर्माण हुन सकेको छैन। जम्मा १ सय १ किलोमिटर दूरीको उक्त लोकमार्ग उदयपुरतर्फ गाईघाटदेखि फोक्सिन्टारस्थित सुन नदीसम्म ५३ र फोक्सिन्टारदेखि खोटाङको महुरेगढीसम्म ४८ किलोमिटर रहेको छ। जसमा गाईघाटदेखि साउने, खाँबु हुँदै रानीबाससम्म ३१ किलोमिटर मात्र कालोपत्रे भएको छ।
झण्डै दशकअघि नै कालोपत्रे भईसकेको गाईघाट–खाँबु खण्डमा भने केही वर्षयतादेखि नै भत्कने क्रम सुरु भएर मर्मत गर्ने गरिएको छ। खाँबुको अँधेरीदेखि फोक्सिन्टार खण्डका केही भागमा स्तरोन्नति गरी बेससम्मको काम सम्पन्न भए पनि कालोपत्रे गर्न ढिलाई हुँदा भत्केर धुले सडकमा परिणत भईसकेको अवस्था छ। ३ दशकअघि इस्टीमेट गर्दा ‘सर्फेस ड्रेसिङ’ प्रविधिमा कालोपत्रे डिजाइन गरिएको थियो। अहिले त्यसभन्दा गुणस्तरीय अस्फाल्ट प्रविधि प्रयोगमा आइसकेको अवस्थामा पुरानो प्रविधिको कालोपत्रे गुणस्तरीय नहुने पनि स्थानीयको भनाई छ।
३० वर्षसम्म ३३ प्रतिशत मात्र काम हुनुले नेपालको विकास गर्ने गति कछुवा हिँडाई समान भएको प्रमाणित हुन्छ। त्यो बेला खोटाङबासीले ‘ड्रिम प्रोजेक्ट’ मानेको यो लोकमार्ग साँच्चै सपनामै सीमित हुन पुगेको स्थानीय शिक्षक हरिबहादुर राईको गुनासो छ। ‘हामीले चुनाव जिताएर पठाएको अशोक राई मन्त्री भएपछि जिल्लामा सडक आउने आसा पलायो’ शिक्षक राईले भने ‘नभन्दै ०५१ सालमा सडक निर्माण पनि सुरु भयो, तर यतिका वर्षसम्म एक तिहाइ मात्र सडक बन्नुले खोटाङबासीलाई यो लोकमार्ग सपनामै सीमित भएको छ।’
निर्माणको जिम्मा पाएका फरक फरक कम्पनीले समयमा काम नगरेकै कारण लोकमार्ग अलपत्र परेको अर्का स्थानीय प्रतिक गिरीले बताए। निर्माण कम्पनीले लापरबाही नगरेको भए यो सडक कम्तीमा १५ वर्षभित्र बनिसक्नुपर्ने उनको ठम्याई छ। अप्ठेरो भूगोल, चट्टानी पहरा र लामो दूरी भएकाले काम फटाफट गर्न नसके पनि यति लामो समय लाग्नु ठेकेदारकै लापरबाही भएको उनी बताउँछन्।
काम ढिला गरेर सडक अलपत्र पारेको भन्दै योजना कार्यालयले ठेकेदार कम्पनीलाई पटक पटक कारबाहीसमेत गरिसकेको छ। योजना प्रमुख (डिई) पशुपति ज्ञवालीका अनुसार २ वर्षअघि नै ठेकेदारलाई कारबाही गरी मोविलाईजेसन पेस्की रकम फिर्ता लिइएको थियो। त्यसपछि ठेक्का तोडेर कारबाही गर्दा उच्च अदालत पाटनमा मुद्दा हालेर अन्तरिम आदेश दिएकोमा वर्ष दिनपछि अदालतले रिट नै खारेज गरेको ज्ञवाली बताउँछन्। सो कारबाहीपछि अव नयाँ ठेक्का लगाएर काम सुचारु गर्न लागेको उनले बताए।
३ वर्षमा काम सक्ने गरी ठेक्का लिए पनि ५ वर्षसम्म नगरेपछि खोटाङतर्फ ४८ किलोमिटर खण्ड निर्माण गर्ने ठेकेदार भारत/सिद्धि शाही जेवी र देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवीको ठेक्का तोडिएको थियो। भारत÷सिद्धि शाहीले खोटाङको महुरेदेखि राजा पानीसम्मको २२ किलोमिटर खण्ड ४ वर्षभित्र कालोपत्रेसहित निर्माण गर्ने गरी २०७३ असार ३० गते ४१ करोड ५० लाख लागतमा सम्झौता गरेको थियो। ०७७ असार २९ गतेभित्र निर्माण सक्ने सम्झौता गरेको कम्पनीले ४१ प्रतिशत काम गरे पनि कालोपत्रे सुरु नगरेकाले ठेक्का तोड्नु परेको हो।
खोटाङतर्फकै राजा पानीदेखि फोक्सिन्टारसम्मको २६ किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवीको ठेक्का सम्झौता पनि योजना कार्यालयले तोडेको थियो। सो कम्पनीले ४७ प्रतिशत हाराहारी काम गरे पनि कालोपत्रे सुरु नगरेकाले ठेक्का तोडिएको हो।
उदयपुरतर्फ भने ३१ किलोमिटर खण्ड कालोपत्रे भएर पनि भत्कने क्रम सुरु भईसकेको छ। गाईघाट–खाँबु–रातमाटे खण्ड कालोपत्रे हुँदा त्यहाँदेखि अँधेरी–पोखरी–फोक्सिन्टार खण्डका केही भागमा बेससम्मको काम सकिएको छ। तर, गरिहाल्नुपर्ने कालोपत्रे नगर्दा सबै बेस भत्केर कच्चीजस्तै भएको छ।
ठेक्का तोड्नुपरेपछि योजना कार्यालयले गत वर्षदेखि गाईघाट–साउने खण्डमै स्तरोन्नतिको काम गर्न थालेको छ। गत आर्थिक वर्ष उता ठेक्का तोडिएपछि बजेट फ्रिज गर्नुभन्दा अस्फालट प्रविधिबाट स्तरोन्नतिको काम गरेको डिई ज्ञवालीले बताए। त्यसैले गत वर्ष गाईघाटको आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्मको ३.१ किलोमिटर सडक अस्फाल्ट प्रविधिमा कालोपत्रे सम्पन्न भएको छ । चालु वर्ष बरुवा पुलदेखि साउने खण्ड स्तरोन्नतिसहित अस्फाल्ट प्रविधिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढिसकेको छ।
प्रकाशित: ४ पुस २०८१ १३:४७ बिहीबार