१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइसिसी अध्यक्षमा बार्कले

अन्तरिम चेयरमेन इमरान ख्वाजालाई पराजित गर्दै ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन्।

गत जुलाईमा शशांक मनोहरको राजीनामापश्चात् अन्तरिम चेयरमेन रहेका ख्वाजा दोस्रो चरणको भोटिङमा पनि दुई तिहाइ भोटले पछि परेपछि न्युजिल्यान्डका बार्कले मंगलबार विश्व क्रिकेटको प्रशासकीय निकाय आइसिसीको अध्यक्ष घोषित भएका हुन्। स्पष्ट बहुमतका लागि बार्कलेलाई १६ मतमध्ये दुई तिहाई आवश्यक थियो, जहाँ उनले दोस्रो चरणको मतदानमा ११ मत प्राप्त गरेका थिए। इलेक्ट्रोनिक ब्यालेटमार्फत भएको पहिलो चरणमा बार्कलेले १० मत र ख्वाजाले ६ मत प्राप्त गरेका थिए। यससँगै दोस्रो राउन्डको निर्वाचनमा जितका लागि बार्कलेलाई १ मत र ख्वाजालाई ७ मत आवश्यक थियो। यदि, दोस्रो राउन्डमा पनि बहुमत नमिलेको खण्डमा तेस्रो राउन्डमा हुने थियो।

तेस्रो राउन्डमा पनि बहुमत नआएको खण्डमा भने ख्वाजा नै अन्तरिम चेयरमेनका रूपमा रहने थिए। तथापि, दोस्रो राउन्डमै बार्कलेले बहुमत ल्याए र सन् २०१५ को एकदिवसीय विश्वकप क्रिकेटका आयोजक समितिका अध्यक्ष बार्कले विश्व क्रिकेटको सर्वाेच्च निकायको अध्यक्ष निर्वाचित भए। ‘आइसिसीको चेयरमेनमा निर्वाचित हुनुलाई गौरान्वित महसुस गरेको छु। आइसिसीका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु,’ आइसिसीद्वारा जारी विज्ञप्तिमा बार्कलेले भने,‘सबै मिलेर क्रिकेटलाई आगाडि बढाउने र महामारीबाट उठेर क्रिकेटलाई अगाडि बढ्ने योजना छ।’ बार्कलेले सबै अन्तर्राष्ट्रिय शृंखला बचाउने आफ्नो अभियान रहेको समेत उल्लेख गरेका छन्।

प्रकाशित: ११ मंसिर २०७७ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App