३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक: वर्षको सुरुमै परीक्षण इभेन्ट गरिने

टोकियो ओलम्पिक आयोजकले मंगलबार यस सप्ताहको जिम्न्यास्टिक प्रतिस्पर्धाले आगामी वर्षको सुरुआतमा केही परीक्षण इभेन्ट आयोजना गर्न प्रोत्साहित गरेको जनाएको छ।

आइतबार नै २२ रसियन, चाइनिज र अमेरिकन जिम्न्यास्टिक खेलाडीले करिब एक हजार दर्शकका साथ जिम्न्यास्टिकमा प्रतिस्पर्धा गरिरहेको टोकियो ओलम्पिक आयोजकले मंगलबार जनाएको हो। टोकियो ओलम्पिकका अफिसर हिदेमासा नाकामुराले एक अनलाइनमार्पmत मार्चको सुरुआतमै केही टेस्ट (परीक्षण) आयोजनाहरूका लागि पनि काम भइरहेको स्पष्ट पारेका छन्। यही आयोजनाले परीक्षण आयोजना गर्न प्रोत्साहित गरेको नाकामुराको भनाइ छ। यद्यपि, नाकामुराले गैरजापानिज खेलाडी सहभागी भएका खण्डमा कस्ता किसिमका योजना तर्जुमा गरिन्छ भन्नेबारे भने स्पष्ट पारेका छैनन्।

‘कोभिड–१९ का बीच कसरी काम गर्ने भन्नेबारे जापानिज सरकार र टोकियो महानगरपालिकासँग छलफल भइरहेको छ,’ नाकामुराले भने, ‘आगामी वर्षको सुरुमै हामी काम सुरु गर्नेछौं र केही परीक्षण आयोजनाहरू मार्चमा हुनेछन्।’ कोरोना महामारीका कारण प्रभावित भएको टोकियो ओलम्पिक आगामी वर्षको जुलाई २३ देखि अगस्टका लागि तय भएको छ। यद्यपि, टोकियो ओलम्पिक र प्यारालम्पिक सम्पन्न गर्नु एक दर्जन खेलाडीको सहभागितामा एकदिनको परीक्षण आयोजना गर्नुभन्दा निकै कठिन हुनेछ। एक रिपोर्टका अनुसार टोकियोमा आएका कुनै पनि खेलाडीमा कोरोना संक्रमण देखिएको छैन।

‘आगामी वर्षको सुरुमै हामी काम सुरु गर्नेछौं र केही परीक्षण आयोजनाहरू मार्चमा हुनेछन्।’

जापानमा आएका खेलाडीलाई सुरुआतमा क्वोरेन्टिनमा बस्नुपर्नेछ र उनीहरू पर्यटकीय क्षेत्रमा जान प्रतिबन्धसमेत लगाइएको छ। साथै ती खेलाडीको दैनिकजसो कोभिड–१९ को टेस्ट गरिनेछ। टोकियो ओलम्पिकको अफिसियल, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र जापान सरकारले महामारीका कारण अनिश्चितताका बावजुद विश्वलाई आगामी जुलाई २३ मा ओलम्पिक सुरु हुनेमा विश्वस्त पार्ने प्रयास गरिरहेको छ। आइओसीका अध्यक्ष थोमस बाच यसै महिनाको अन्ततिर जापानी जनता, स्थानीय र अन्य प्रायोजकलाई आयोजनाबारे विश्वस्त पार्न जापान आउने कार्यक्रम तय थियो।

करिब तीन बिलियन डलरभन्दा बढी टोकियो ओलम्पिकले प्रायोजकमार्पmत प्राप्त गरेको छ र ती प्रायोजकहरूसँग पनि छलफल बढाउन आइओसीका अध्यक्ष बाच जापान आउने कार्यक्रम थियो। यद्यपि, युरोपमा पुनः कोरोना भाइरसको संक्रमण पैmलिएपछि बाचको भ्रमण रोकिन पुगेको हो।  टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्रका करिब ११ हजार खेलाडीको प्रत्यक्ष सहभागिता रहनेछ भने उनीहरूले करिब दुई हप्ताभन्दा बढी समय विभिन्न क्षेत्रमा रहेर प्रतिस्पर्धा गर्नेछन्। साथै उक्त खेल महाकुम्भ मेलामा अफिसियल, निर्णायक, प्रशिक्षक, मिडिया, ब्रोडकास्टर, प्रायोजक र भिआइपी गरी करिब १० हजारको थप सहभागिता रहनेछ।

त्यस्तै प्यारालम्पिकमा भने ४ हजार चार सय खेलाडीको सहभागिता रहनेछ। ओलम्पिकमा कति संख्यामा दर्शक आयोजना स्थलमा प्रवेश गराइन्छ भन्नेबारे स्पष्ट छैन, साथै जापानभन्दा बाहिरका दर्शकका लागि अनुमति हुने या नहुनेबारे पनि तय भइसकेको छैन। टोकियो ओलम्पिक अफिसर नाकामुराले भ्याक्सिन बनिरहेको समाचार सार्वजनिक भएकाले दर्शकको सहभागिता रहन सक्ने बताएका छन्।  

‘मैले भ्याक्सिन बनिरहेको बारे समाचार सुनिरहेको छु र मलाई लाग्छ सबै जना यो समाचारका कारण केही राहत महसुस गरिरहेका छन्,’ नाकामुराले भने, ‘आयोजक कमिटीलाई पनि ती समाचारका कारण केही मात्रामा दबाब कम भइरहेको छ। तर, अहिले नै हामीले भ्याक्सिनमा भर पर्नु हुँदैन। यो समय टेस्ट, सामाजिक दूरी, खेलाडी र सरोकारवालासँग सहकार्यका साथै छलफल अगाडि बढाइरहनुपर्छ।’ जापानमा कोरोना भाइरसका कारण एक हजार आठ सय जनाको मृत्यु भएको छ। यद्यपि, उनीहरू भाइरस नियन्त्रणमा केही सफलता प्राप्त गरिसकेका छन्।

तथापि, महामारीका कारण टोकियो ओलम्पिक निकै महँगो आयोजना हुने पक्का छ। आयोजकका अनुसार आयोजनाको तयारीका लागि १२.६ बिलियन डलर खर्च भइसकेको छ र तर सरकारको अडिटमा त्योभन्दा दोब्बर खर्च भएको सार्वजनिक पनि भइरहेका छन्। एक वर्ष पछि सारिएको ओलम्पिकका लागि थप दुईदेखि ३ बिलियन डलर खर्च हुने अनुमान गरिएको छ। अक्सफोर्ड युनिभर्सिटीको एक अध्ययनअनुसार टोकियो ओलम्पिक हालसम्मकै खर्चिलो ओलम्पिक हुने सार्वजनिक भएको छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App