१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पूर्वाधार निर्माणले मात्र खेलकुदको विकास सम्भवः मन्त्री सुनार

बाम्दीस्थित नवनिर्मित भलिबल कोर्ट उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा । तस्बिर: धन

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताएका छन्। उनले पूर्वाधार निर्माण नहुँदा खेलकुदको विकास सम्भव नहुने जिकिर समेत गरे।  

‘खेलकुदको विकास हुन पूर्वाधार अनिवार्य चाहिन्छ’ उनले शनिबार पोखरा–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको उद्घाटन गर्दै भने–‘पूर्वाधारसँगै खेलकुदको विकास गर्नुपर्ने आवश्यक छ।’ मन्त्री विकले ग्रामीण क्षेत्रमा बनाइएको पूर्वाधारले खेलकुदको गतिविधि बढ्ने भन्दै गाउँ गाउँबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। सरकारले अहिले खेलकुद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री विकले यही पूर्वाधारको विकासले आगामी वर्ष प्रतिफल पाईने स्पष्ट पारे।  

बाम्दीमा निर्माण गरिएको भलिबल कोर्टबाट भलिबलको विकास र विस्तारमा नयाँ आयाम हुने विश्वास समेत मन्त्री विकले लिए। पोखरा महानगरपालिकाको आयोजना सञ्चालित वडास्तरीय भलिबल प्रतियोगितामा पोखरा–२३ बाम्दीले उपाधि उचालेको थियो। त्यसैले पनि भलिबल कोर्टसँगै अन्य खेल पूर्वाधारको लागि समेत सरकारले चासो दिने प्रतिबद्धता समेत जनाए।  

गण्डकी प्रदेश सदस्य राजीव पहारीले खेलकुद पूर्वाधारले गाउँ ठाँउमा समेत खेलकुदको गतिविधि बढ्ने बताए। ‘खेलकुदसँगै बाम्दीलाई कालोपत्रे सडकले छोएपछि खेलकुदको गतिविधि अझै बढ्ने छ’ उनको भनाई थियो। कार्यक्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सबैको सहयोगमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको जनाउँदै पूर्वाधार निर्माणमा अझै तिर्नुपर्ने रकम नआउँदा समस्या सृजना भएको बताए।  

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले अत्यन्तै कठिन परिस्थितिमा समेत भलिबल कोर्ट निर्माण भएकोप्रति सबैमा आभार प्रकट गरे। ‘गत आर्थिक वर्षमा कास्कीमा १६ योजनालाई सफलतापूर्वक कार्यान्वयन गरियो’ उनले भने–‘त्यसमा पनि कोरोनाको महामारीकै कठिन परिस्थितमा पनि पुरा गरिएको छ।’ कार्यालय प्रमुख बरालले अप्ठ्यारो परिस्थितिमा समेत उपभोक्ता समितिले जिम्मेवारी पुरा गर्दै अनुकरणीय कार्य गरेको बताए।  

पोखरा–२३ वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पनि भलिबल कोर्टको निर्माणले भलिबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले अन्य खेलकुदको पूर्वाधार निर्माण गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणको लागि सरकारले चासो दिनुपर्नेमा जोड दिए। एक स्थानीय तह एक खेलमैदानको नीति अनुसार मन्त्रालयले उपलब्ध गराएको ५० लाखको लागतबाट भलिबल कोर्ट निर्माण गरिएको हो। भलिबल कोर्टसहित दुवै तर्फ दर्शक प्यारापिट निर्माण गरिएको छ। आर्थिक प्रतिवेदन सुनाउँदै पार्वती अधिकारीले स्थानीयको ५ लाख ८४ हजारको श्रमदानसँगै कोर्ट निर्माण गर्न ५३ लाख ४ हजार रुपैयाँ खर्च भएको सुनाईन्।

प्रकाशित: २२ कार्तिक २०७७ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App