२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सहाराले गुमायो अभिभावकत्व

लामो समय फुटबलको गतिविधि शून्य थियो। शून्य अवस्थको फुटबललाई माथि उठाउन निकै सकस थियो। त्यसमा अझ मोफसलको शहर। मोफसल भन्ने वित्तिकै राजधानीले दोस्रो दर्जाको रुपमा हेर्ने गथ्र्यो।  

अखिल नेपाल फुटबल संघमा विवाद थियो। विवादकै कारण शहीद स्मारक लिग स्थगित थियो। त्यसो त द्वन्द्वकालिन अवस्था थियो। जटिल अवस्थाकै कारण राष्ट्रिय लिग बन्द हुँदा फुटबलको गतिविधि ठप्पै जस्तो थियो। गण्डकी अञ्चल आफैंमा फुटबलको उर्वर भूमि थियो। फुटबलको उर्वर भूमि भएपनि आयोजना हुँदै आएका प्रतियोगिता बन्द भईसकेका थिए।  

फुटबलको गतिविधि शून्यकै अवस्थामा सहारा क्लब पोखराको उदय भयो। २०५५ सालमा क्लबको उदयसँगै फुटबलमा नयाँ आयाम हुने धेरैले विश्वास गरेका थिए। त्यही विश्वासलाई साथ लिदैं क्लबले जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्‍यो। जिल्लास्तरीय प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेपछि राष्ट्रियस्तरको आयोजना गर्न धेरैले हौस्याए। आम दर्शकको चासो र समर्थकको हौसाईले ठूलो प्रतियोगिता गर्ने जमर्को क्लबले गरेपछि २०५८ सालमा क्याराभान गोल्डकप आयोजना गर्‍यो।  

जुन गोल्डकप पोखराको फुटबल इतिहास नयाँ आयाम बन्यो। एक वर्षको लागि सम्झौता थियो। फुटबल प्रतियोगितासँगै सम्झौता टुंगियो। दोस्रो वर्षको लागि नयाँ सम्झौता गर्न क्लबले धम्मरधुस लगायो। तर प्रायोजकले काठमाडौं गर्न सुझाए। सम्झौता रकम थप्ने आश्वासन दिए। झण्डै प्रायोजक खोज्दै ६ महिना बितेपछि आजित बनेको क्लबले हिमश्री फुड्ससँग सम्झौताको नजिक पुग्यो।  

सम्झौता गर्ने परिपाटी स्व. क्षेत्रबहादुर केसीले गरेका थिए। केसी जिल्ला विकास समिति कास्कीका अध्यक्ष समेत थिए। उनकै पहलमा हिमश्री फुड्सका अध्यक्ष सुर्यबहादुर केसी समक्ष प्रस्ताव पुग्यो। प्रस्तावलाई स्वीकार्दै सम्झौताको प्रयास अघि बढ्यो। क्लबले हिमश्री फुड्ससँग एकैसाथ दशवर्षको लागि सम्झौता गर्‍यो र शुरु गर्‍यो ‘रारा गोल्डकप’। २०५९ मा रारा गोल्डकपबाट उदाएको क्लबको नकाउट फुटबल प्रतियोगिता १८ औं संस्करण टुंग्सिकेको छ। उनै केसीको मंगलबार आफ्नै निवासमा निधन भयो। निधनले सहारा क्लबले अभिभावकत्व गुमाएको सहारा क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले बताए।  

‘सहारा क्लबले आफ्नो अभिभावकत्व गुमाएको छ’ उनले भने–‘फुटबलको विकासमा उहाँले गरेको योगदानलाई क्लबले कहिल्यै भुल्न सक्दैन।’ शून्य अवस्थामा रहेको फुटबललाई मोफसलकै क्लबको प्रस्तावलाई स्वीकार्दै दशवर्षे लामो सम्झौता गरेपछि पोखराको नकाउट फुटबल प्रतियोगिता नयाँ उचाईमा पुगेको हो। ‘क्याराभान गोल्डकप भव्य रुपमा सम्पन्न गरेपछि प्रायोजक खोज्दै भौतारिदाँ हिमश्री फुड्सले साथ दियो’ उनले भने–‘पटक पटक प्रायोजक खोज्नुपर्ने प्रवृत्ति अन्त्य गर्न दशवर्षे सम्झौता गर्‍यौं।’ उनका अनुसार मुख्य प्रायोजक बापत ‘रारा गोल्डकप’को नामबाट खेलाउने सहमति गर्दै दुई लाख रुपैयाँ उपलब्ध गराइएको थियो। सम्झौतामा नेपाल सरकारको मूल्य बृद्धि अनुसार सम्झौता रकम बढ्ने गरी गरिएको अध्यक्ष थकालीले बताए।  

‘हामीलाई पनि वर्षेनी सम्झौता परिपाटी अन्त्य गर्नुपर्ने थियो। जुन हामीले प्रस्ताव गर्‍यौं उहाँ(सुर्यबहादुर केसी)ले स्वीकार्नुभयो’ उनले भने–‘थोरै रकममा भएपनि सम्झौता गरेर फुटबललाई नयाँ उचाईमा पुर्‍यायौं।’ केसीको असामायिक निधनले क्लब मर्माहत भएको भन्दै उनले परिवारजनप्रति समवेदना प्रकट गरे।

प्रकाशित: १८ कार्तिक २०७७ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App