१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलकुद मात्र किन बन्देज ?

कोरोना भाइरस महामारीपछि खेलकुद गतिविधिमा लागेको रोकका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्राय सुनसान देखिन्थ्यो। रंगशालामा मात्र नभई अहिले नेपाली खेलकुदको अधिकांश प्रशिक्षण केन्द्र पछिल्लो समय बन्द छन्। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै आफ्ना राष्ट्रिय प्रशिक्षण केन्द्रलाई प्रशिक्षण नगराउन निर्देशन नै जारी गरेको थियो।

त्यस कारण नेपाली खेलाडी अभ्यासका लागि रंगशाला पुग्ने कुरै भएन, त्यसमाथि केही कर्मचारीमा कोरोना पुष्टि भएपछि राखेपले समेत सीमित कर्मचारीमार्फत दैनिक कार्य गरिरहेको थियो। तर गत साता मंगलबार भने दशरथ रंगशालामा पुग्दा अन्य दिनभन्दा भिन्न दृश्य देखियो। केही महिला र पुरुष खेलाडी जर्सीमा सजिएका थिए र मैदान प्रवेशका लागि तमतयार। लाग्दैथ्यो सात महिनादेखि रोकिएको फुटबल गतिविधि रंगशालामा पुनः फर्किएको छ। कौतुहलता जागेपछि यथार्थ बुझ्न हामी प्यारापिट पुग्दा मैदानमा खेल जारी थियो।  

साथै दुई छेउबाट उक्त खेललाई क्यामेराले पनि कैद गरिरहेको थियो। त्यसपछि मात्र थाहा भयो कि भित्र फुटबल गतिविधि त भइरहेको छ, तर त्यो मात्र एउटा म्युजिक भिडियोको सुटिङका लागि। बेलुका सुटिङका तस्बिर सामाजिक सन्जालमार्फत सार्वजनिक भएपछि खेलकर्मीले खेलनेतृत्वमाथि तीव्र आलोचना सुरु गरेका थिए, जुन अहिले पनि जारी छ। अधिकांशको एकै किसिमको धारणा छ, खेलकुदका लागि बन्द रंगशाला सुटिङका लागि सहजै कसरी उपलब्ध भयो ?

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै स्वास्थ्य निर्देशिका पालना गर्र्ने प्रतिबद्धताका साथ अभ्यास अनुमतिका लागि पत्र पठाउँदा पनि राखेपले बेवास्ता गरिरहेको थियो। राखेप भन्छ, कोरोना कहरका कारण सरकारले खेलकुद गतिविधिको अभ्यासका लागि अनुमति दिएन, विशेष गरी सामूहिक अभ्यासका लागि, तर सुटिङका लागि भने सदस्यसचिवको ठाडो निर्देशनमा दशरथ रंगशाला सहजै उपलब्ध भएपछि खेलाडीहरूले चर्को आलोचना गरिरहेका छन्। 

सोमबार मात्र राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य जगजित श्रेष्ठले कोरोना महामारीपछि सरकारले अन्य गतिविधि सुचारु गरे पनि खेलकुद सुचारु नहुनु हास्यास्पद भएको भन्दै दुःख व्यक्त गरेका छन्। ‘हाम्रो देशमा कोरोनाले रोक्ने भनेको खेलकुद मात्र हो ? व्यापार, बजार, यातायात, आन्दोलन, रियालिटी सो, सुटिङ, रेस्टुरेन्ट सबै सुचारु छन्। ६०–७० जनाभन्दा कम मानिसको समूहमा जुनसुकै खेल सञ्चालन गर्न सकिन्छ त,त्यति भीड त आजकल हरेक दिन रिलिज हुने म्युजिक भिडियोमा पनि छ त।  

सहजता अपनाउँदै खेलकुद गतिविधि सुचारु गर्न पर्‍यो ,’ जगजितले सामाजिक सन्जालमा लेखेका छन्। यसै क्रममा राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले पनि सामाजिक सन्जाल फेसबुकमार्फत सरकार र राखेपलाई खुला पत्र लेख्दै यथाशीघ्र खेलकुद गतिविधि सुचारु गर्न गम्भीर बन्न आग्रह गरेका छन्। ‘म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ व्यक्तिगत र एन्फाको तर्फबाट सरकारलाई फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न अनुरोध गर्दछु,’ चेम्जोङ लेख्छन्, ‘किन एककान दुकान गर्दै हुनुहुन्छ, के खेलाडी सधंै मर्ममै पर्ने र मर्ने हो भने तपाईहरुले  सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडीचाहिँ सधैं काठमाडौको धुलोमा, तपाईहरुले चिल्लो गाडीमा ?’

चेम्जोङले देशको नाम खेलकुद र खेलाडीले चिनाउथे यथार्थ नभुल्न पनि सरकार र राखेपलाई आग्रह गरेका छन्। साथै उनले महिनौं  बित्दा पनि खेलाडी कुन दुर्दशाबाट गुज्रिरहेको छ भन्ने समेत सरकार र राखेपले चासो नदेखाएको यसबाट फुटबलमा भविष्य खोज्ने नयाँ खेलाडीमा गम्भीर असर पर्ने बताएका छन्।

 ‘अन्य राष्ट्र्हरूमा फुटबल गतिविधि सुरु भइसक्दा हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन,’ चेम्जोङ लेख्छन्, ‘खेलमैदानका लागि दुखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ र म्युजिक भिडियोका लागि प्रवेश खुला हुने, फुटबलका लागि खेल्न चाहिँ नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदानमा खेलकुद सुचारु गरिदिन अनुरोध गर्दछु।’

उनले सात महिनादेखि बेरोजगार खेलाडीलाई क्षतिपूर्ति कसले दिन्छ भन्ने प्रश्न गर्दै सम्बन्धित निकायलाई गम्भीर बन्नसमेत आग्रह गरेका छन्।

प्रकाशित: २८ आश्विन २०७७ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App