१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इङ्ल्यान्ड विश्वकपको दाबेदार: डी ब्रुयना

बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाले इङ्ल्यान्ड टोली अर्को वर्ष आयोजना हुने युरोपियन च्याम्पियनसिप र २०२२ को कतार विश्वकप उपाधिको दाबेदार टोली भएको बताएका छन्।  

इङ्ल्यान्ड र बेल्जियमले २०१८ को रूस विश्वकप सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। सन् १९६६ को विश्वकप उपाधिपछि इङ्ल्यान्डले कुनै प्रमुख उपाधि जित्न सकेको छैन। ‘उनीहरू धेरै उत्साही छन्,’ २९ वर्षे डी ब्रुयनाले भने, ‘इङ्ल्यान्ड टोलीमा युवा तथा क्षमतावान् खेलाडीको बाहुल्य छ। उनीहरूले अर्को वर्ष आयोजना हुने युरो कप र २०२२ को विश्वकप उपाधि जित्ने लक्ष्य राख्नुपर्दछ र क्षमतावान् खेलाडी पनि छन्। सबै खेलाडी युरोपका शीर्ष लिगमा खेल्छन्। त्यसैले उनीहरू अनुभवले पनि भरिएका छन्।’

साथै डी ब्रुयनाले आफू म्यानचेस्टर सिटीसँग नयाँ सम्झौताका लागि तयार भएको तर अहिलेसम्म यसबारे कुनै प्रक्रिया अघि नबढेको बताएका छन्। उनी २०१५ अगस्टमा उल्फसबर्गबाट ५५ मिलियन पाउन्डमा सिटी भित्रिएका थिए। यद्यपि सिटीसँग उनको सम्झौता अझै २ वर्ष ६ महिना बाँकी छ। ‘मैले यस विषयमा एक पटक पनि क्लबसँग छलफल गरेको छैन। तर मानिसहरू म क्लबसँग थप २ वर्षको सम्झौताका लागि तयार भएँ भन्दै छन्,’ उनले भने, ‘म सिटीमा खुसी छु । मलाई क्लबले राख्न चाहेमा म छलफल गर्न सधैँ तयार छु। तर अहिले भने कुनै प्रक्रिया अघि बढेको छैन।’

डी ब्रुयनाले सिटीमा रहँदा दुई पटक इङ्लिस प्रिमियर लिग, चार पटक इङ्लिस लिग कप र एक पटक एफए कपको उपाधि जितेका छन्। 

प्रकाशित: २६ आश्विन २०७७ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App