१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेश सरकारको एक स्थानीय एक खेलमैदानलाई प्रस्ताव आह्वान

संघीय सरकारले एक स्थानीय एक खेल मैदानको लागि प्रस्ताव आह्वान गरेको दुईसातापछि गण्डकी प्रदेश सरकारले पनि स्थानीय तहमा खेलकुदका पूर्वाधार बनाउन सार्वजनिक सूचना निकालेको छ। प्रदेशका ११ जिल्लामा खेल मैदान निर्माणको लागि एक स्थानीय तह एक खेलमैदानको योजनासहित लागि सार्वजनिक सूचना जारी गर्दै प्रस्ताव मन्त्रालयले आह्वान गरेको हो।  

प्रदेश सरकारले नगरपालिका क्षेत्र र गाउँपालिका क्षेत्रमा गरी बजेट विनियोजन गर्दै प्रस्ताव आह्वान गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए। ‘नगरपालिका तर्फ तीन करोड र गाउँपालिका तर्फ ४ करोड ४० लाख रुपैयाँ छुट्टाएका छौं’ उनले भने–‘भईरहेका खेल मैदानको स्तरोन्नति गर्ने र नयाँ बनाउन धेरथोर बजेट उपलब्ध गराउँछौं।’  

प्रस्तावको लागि प्रदेश सरकारले १५ दिने सूचना निकालेको छ। १५ दिनभित्रमा आएका प्रस्तावलाई अध्ययन गर्दै बजेट उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। सम्बन्धित स्थानीय तहले बनाएको लागत अनुमानसहितको प्रस्ताव आएको अवस्थालाई अध्ययन गरेर बजेट निकासा गरिने उनको भनाई थियो। ‘सबै जिल्लामा खेलकुद पूर्वाधार बनाउनुपर्छ भन्ने प्रदेश सरकारको ध्येय हो’ उनले भने–‘प्रदेश सरकारले दिने बजेटसँगै स्थानीयको सहभागिता समेत भएमा अझ प्रभावकारी हुन्छ।’  

पूर्वाधारको लागि कतै जग्गा प्राप्तको लागि पहल भईरहेको छ। कतै प्राप्त जग्गालाई खेल मैदान सम्याउने काम भईरहेको छ। कतै सम्याई लागतको अभावमा पूर्वाधार निर्माण गर्न रोकिएको अवस्था छ। मुस्ताङ र नवलपुर जिल्लामा खेलकुद पूर्वाधारको लागि प्रदेश सरकारले गतवर्ष बजेट विनियोजन गरेको थियो। प्रदेश सरकारले बहुप्रतिष्ठित योजनाको रुपमा प्रदेश अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने लक्ष्य राखेको छ। त्यसको लागि २ करोड रुपैयाँ यो वर्ष बजेट छुट्टाइएको छ। आवश्यक विस्तृत परियोजना प्रतिवेदन समेत तयार भईसकेको छ।  

प्रदेश सरकारसँगै पोखरा महानगरपालिकाले पनि एक वडा एक खेलमैदानको नीति लिएको छ। महानगरको नीति अनुसार गत वर्ष विभिन्न दुई दर्जन वडामा भलिबल कोर्ट तथा बास्केटबल कोर्ट निर्माण गरिएको महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले बताए। महानगरपालिकाले यो आर्थिक वर्षमा पनि विभिन्न ठाँउमा खेल मैदान निर्माणको लागि साढे दुईकरोड रुपैयाँ बजेट छुट्टाएको छ। साना खेल मैदान निर्माण, संघसंस्था तथा प्रतियोगितालाई प्रभावकारी बनाउन समेत महानगरपालिकाले बजेट छुट्टाएको छ।  

महानगरपालिकाले भने गौरवको योजना अन्तर्गत पोखरा–२० मौजामा महानगरकै सबैभन्दा उचाईमा फुटबल मैदान बनाउने लक्ष्यसहित यो वर्ष ५० लाख रुपैयाँ उपलब्ध गराएको पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए। मौजामा निर्माण गरिने फुटबल मैदान १७ सय मिटरको उचाईमा छ।

प्रकाशित: १४ आश्विन २०७७ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App