१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेडलाई पहिलो गाँसमै ढुंगा, टोटेनह्यामको रवाफिलो जित

सन ह्युङ मिन एक्लैले चार गोल गर्दा पछि परेको टोटेनह्यामले आइतबार इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनविरुद्ध ५–२ को फराकिलो जित निकालेको छ।  

साउथह्याम्टनको घरेलु मैदानमा यादगार प्रदर्शन गरेको टोटेनह्यामले नयाँ सिजनको लिगमा पहिलो जित निकालेको हो। यसअघि भएको पहिलो खेलमा टोटेनह्याम एभर्टनसँग १–० ले स्तब्ध भएको थियो। घरेलु मैदानमा नतिजा सुम्पिएको टोटेनह्यामले आइतबार भने भ्रमणबाट नयाँ सिजनमा जितको सुरुआत गरेको छ।  

निकै रोमाञ्चक बनेको खेलमा साउथह्याम्पटनले ३२औं मिनेटमा ड्यानी इङ्सको गोलबाट खाता खोलेको थियो। यसअघि तेस्रो मिनेटमा ह्यारी केनले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले गोलको मान्यता दिएन। पहिलो हाफको अन्तिम मिनेटमा सनले गोल गर्दा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। पछि परेको टोटेनह्यामले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन ग¥यो। ४७ र ६४औं मिनेटमा गोल गर्दै सनले ह्याट्रिक पूरा गरे। यद्यपि सनको लय यतिमा सीमित भएन। ७३औं मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै घरेलु टोली साउथह्याम्पटनसँगको अग्रता फराकिलो पारे। फराकिलो अन्तरसँगै दबाबमा राखेको टोटेनह्यामका लागि ह्यारी केनले ८२औं मिनेटमा पाँचौं गोल थप्दा साउथह्याम्पटनका लागि गोलको खाता खोलेका ड्यानीले  पेनाल्टीबाट गोल गर्दै अग्रता ५–२ मा छोट्याए।  

भ्रमणकारी टोली क्रिस्टल प्यालेससँग सुरुआतबाट नै दबाबमा परेको युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन। निरन्तर काउन्टरमा रहेको युनाइटेडविरुद्ध क्रिस्टलले गोल थप्दै जित निश्चित गरेको हो।  

यस्तै इङ्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेससँग ३–१ को अप्रत्याशित पराजय भोगेको म्यानचेस्टर युनाइटेडले नयाँ सिजनमा खराब सुरुआत गर्दा २००४ पछि शीर्ष डिभिजनमा फर्किएको लिड्सले फुलह्याममाथि ४–३ को रोमाञ्चक जित निकाल्यो।  

युनाइटेडले घरेलु मैदानमा भ्रमणकारी टोली क्रिस्टल प्यालेसलाई नतिजा सुम्पिँदा लिड्सले भने घरेलु मैदानको फाइदा उठाएको हो। युरोपा लिग खेलेको युनाइटेडले आरामका लागि अतिरिक्त एक साता लिएका कारण यो साताबाट नयाँ सिजनको सुरुआत गरेको हो। शनिबारको पराजयले म्यानचेस्टर युनाइटेडलाई पहिलो गाँसमा नै ढुुङ्गा लागेको छ।  

युनाइटेडका प्रशिक्षका ओले गनर सोल्सजायरले खेलाडीले पर्याप्त हिसाबमा अभ्यास गर्न नपाएकाले पहिलो खेल गुमाउनुपरेको प्रतिक्रिया दिए। भ्रमणकारी टोली क्रिस्टल प्यालेससँग सुरुआतबाट नै दबाबमा परेको युनाइटेडले खेलमा फर्कन निकै  प्रयास गरे पनि सफल हुन सकेन। निरन्तर काउन्टरमा रहेको युनाइटेडविरुद्ध क्रिस्टलले गोल थप्दै जित निश्चित गरेको हो।  

घरेलु मैदानमा हम्मेहम्मे देखिएको युनाइटेडविरुद्ध क्रिस्टल प्यालेसले सातौं मिनेटमा गोलको खाता खोलेको थियो। एन्ड्रोस टाउनसेन्डले टोलीका लागि पहिलो गोल गरेका थिए। अग्रता लिएपछि रक्षात्मक खेलेको क्रिस्टलले ७४औं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर बनायो। विलफ्रेड जाहाले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै अग्रता २–० मा पु-याएका हुन्। खेल सकिन १० मिनेट बाँकी रहँदा युनाइटेडका लागि डोनिभान डे बेकले गोल गर्दै अग्रता छोट्याउने प्रयास गरे। तर ८५औं मिनेटमा विलफ्रेडले गोल थप्दै क्रिस्टलको जित निश्चित गरे। यससँगै क्रिस्टलले लगातार दुई खेलमा स्पष्ट जित निकालेको छ।  

प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा २००४ पछि बढुवा भएको लिड्सले फुलह्यामलाई ४–३ ले स्तब्ध बनायो। पहिलो हाफमा २–१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा थप दुई गोल गर्दा दुई गोल पनि खाएको थियो। समग्रतमा ४–३ को जित निकाल्दै लिड्सले नयाँ सिजनमा पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा टोली साबिक च्याम्पियन लिभरपुलसँग ४–३ ले पराजित भएको थियो।  

प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडविरुद्ध २–१ को जित निकालेको छ। २५औं मिनेटमा आर्सनलका एलेक्जेन्डर लाकाजेटले गोल गरेपछि लिएको अग्रता ४५औं मिनेटमा बराबरीमा पुगेको थियो। वेस्ट ह्यामका मिकाइल एन्टोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा आर्सनलले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल थप्दै जित सुनिश्चित ग¥यो। आर्सनलले लगातारका खेलमा जित निकालेको हो।

प्रकाशित: ५ आश्विन २०७७ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App