१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नदी कटान नियन्त्रण नगरी क्रिकेट मैदान नबनाउन सुझाव

गुगलअर्थबाट खिचिएको पोखरा–३३ स्थित प्रस्तावित गण्डकी प्रदेशस्तरीय अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल ।

वर्षेनी सेतीनदीले किनारको भाग कटान गर्दै लगेको छ। नदी कटान नियन्त्रण नगरिकै क्रिकेट मैदान निर्माण गर्न नुहने जिकिर प्राविधिकले गरेका छन्। प्राविधिकले नदी कटान नियन्त्रण गर्ने तर्फ ध्यान दिनुपर्ने सुझाव दिँदै त्यसको लागि गण्डकी प्रदेश सरकार गम्भीर हुनुपर्नेमा समेत प्राविधिकले आग्रह गरेका छन्।  

गण्डकी प्रदेश सरकारकै बहुवर्षीय एवं बहुप्रतिष्ठित योजनाको रुपमा पोखरा–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना हो। योजना अनुसार जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार आईसकेको पनि वर्षदिन पुगिसकेको छ। तर मैदान निर्माणस्थललाई सेतीनदीले किनारतर्फ तीव्र कटान गर्दै लगेको छ। यो वर्ष पोखरामा अत्यधिक वर्षा भएको छ। वर्षायामले आएको बाढीले नदी किनार भत्काउँदै लगेको छ।  

‘नदीले कटान कसरी गरेको छ। त्यसलाई अध्ययन गरेर मात्रै मैदान निर्माण गर्ने योजना अघि बढाउनुपर्छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका ईन्जिनियर प्रनिस ताम्राकारले भने–‘कटान नियन्त्रण तर्फ ध्यान नदिए मैदान जोगाउन मुश्किल पर्छ।’ गण्डकी प्रदेश सरकारले क्रिकेट मैदान निर्माणको लागि सरकार गठन भएलगत्तै खेलकुद पूर्वाधारका योजना समेत सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको योजना अन्तर्गत क्रिकेट मैदान पहिलो प्राथमिकतामा परेको हो।  

पशुपतिघाटस्थित जग्गामा क्रिकेट मैदान बनाउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भईसकेको छ। डिपिआर अनुसार अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि १ अर्ब १९ करोडको लागत अनुमान गरिएको छ। ‘डिपिआर तयार भएर आएको छ। त्यसलाई अध्ययन गर्दै छौं’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्–‘प्रदेश सरकारले छुट्टाएको बजेट अनुसार काम अघि बढाउँछौं।’ उनका अनुसार मन्त्रालयले मैदान निर्माणको लागि दुई करोड रुपैयाँ छुट्टाइएको छ। छुट्टाइएको बजेटबाट सेतीनदी कटान नियन्त्रण गरी मैदान संरक्षण गर्ने तर्फ पहिलो काम हुने उनको भनाई थियो।  

‘नदीको  कटानको समस्या छ। नियन्त्रण गर्नुपर्ने छ’–मन्त्री पुनले भनिन्–‘हिउँददेखि नदी नियन्त्रणको लागि चेकड्याम निर्माण गरिने छ।’ तारजालीयुक्त ग्याभिन अथवा आरसिसी गरेर बनाउने भन्ने यकिन छैन। क्रिकेट मैदान बनाउन १७४ रोपनी क्षेत्रफल रहेको छ। क्रिकेट मैदान बनाउन प्रदेशको योजना अनुसार उक्त जग्गाको भोगाधिकार गण्डकी प्रदेश सरकारको नाममा आएको छ। डिपिआरमा पवेलियनसहित पार्किङ, होस्टेल, चेन्जिङ रुम, भिआईपी विल्डिङ लगायतका पूर्वाधार छन्।  

पीच र चेन्जिङ रुम मैदानकै छेउमा बनाउनुपर्ने छ। होस्टेल तथा पार्किङ भने मैदान भन्दा केही पर भएपनि बनाउन सकिने सुझाव क्रिकेट संघ कास्कीले दिएको छ। ‘क्रिकेट मैदान निर्माणको योजना बहुवर्षीय योजना हो। पहिलो वर्षमा गर्न सकिने कामको मात्रै टेण्डर गर्छौ’ मन्त्री पुनले भनिन्–‘ मैदान सम्याउने र पीच बनाई खेल्ने योग्य बनाईने छ।’

प्रकाशित: ३ आश्विन २०७७ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App