२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा महानगरपालिकाकाे योजना ‘विद्यालयस्तरीय मेयर कप’

खेलकुदको शहर बनाउने ध्येयमा लागेको पोखरा महानगरपालिकाले यसै बर्षदेखि महानगरस्तरीय मेयर कप आयोजना गर्ने योजना बनाएको छ। महानगरपालिकाले रातो किताबमै मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै १० लाख रुपैयाँ विनियोजन गरेको छ।  

विभिन्न नगरपालिकाले मेयर कप आयोजना गर्दै आएका छन्। दुईवर्षदेखि बाग्लुङ  नगरपालिकाले अन्तर नगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। पोखरा महानगरपालिकाले पनि मेयर कप आयोजना गर्ने योजनासहित बजेट छुट्टाएको हो। बजेट छुट्टाएपनि कोरोना कहरले खेलकुद गतिविधि सबैठप्प भएका छन्। विद्यालय समेत पूर्ण रुपमा बन्द छन्।  

‘महानगरले खेलकुद समिति गठन गर्ने तयारीमा छ। समिति गठन गरेपछि समितिले बनाएको क्यालेण्डर अनुसार मेयर कप आयोजना गर्छौ’ पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले भने–‘मेयर कपमा यही नै खेल आयोजना गर्ने भन्ने निक्र्यौल छैन्। तर फुटबल नै आयोजना गरिने छ।’ विद्यालयस्तरीय देखि नै खेलकुदको जग बसाल्नुपर्ने भन्दै उनले महानगरपालिकाले पनि विद्यालयस्तरीय मेयर कपको योजना बनाएको प्रष्टयाए।  

फुटबल लगायतका अन्य खेलकुद गतिविधि कमजोर बन्दै गएको छ। महानगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिताको नाममा राष्ट्रपति रनिङशिल्ड आयोजना गर्दै आएको छ। निजी शैक्षिक संस्थाको छाता संगठन प्याब्सन तथा एन प्याब्सन एवं हिसानले पनि खेलकुद गतिविधि आयोजना गर्दै आएका छन्। यद्यपी सरकारीस्तरबाट भने खेलकुदको गतिविधि आयोजना हुन सकेको छैन्। खेलकुद गतिविधिलाई बढाउन महानगरपालिकाले मेयर कप सहित अन्य खेलकुदजन्य कार्यक्रम गर्ने योजना बनाएको छ।  

महानगपालिकाले विविध खेलकुद कार्यक्रमको लागि १५ लाख रुपैयाँ छुट्टाएको छ। ‘मेयर कप आगामी माघ फागुन नभए नयाँ वर्षमा आयोजना गर्ने छौं। किनकि कोरोनाको विषम परिस्थिति त्यतिबेलासम्म केही सहज हुने विश्वास छ।’ उनको भनाई थियो। महानगर खेलकुद समिति गठन पछि खेलकुदको गतिविधि बढ्नेमा विश्वस्त रहेको उनको भनाई थियो। महानगरपालिकाले खेलुकदलाई पर्यटनसँग जोड्दै खेल–पर्यटन प्रवद्र्धन गर्ने अभिप्राय समेत लिएको छ।  

पोखरालाई अन्तराष्ट्रियबजारमा परिचय दिने उद्देश्यसहित अन्तराष्ट्रियस्तरको पोखरा साईकल दौडको समेत आयोजना गरिने छ। साईकल दौडको लागि १० लाख रुपैयाँ छुट्टाइएको छ। ‘दशलाख रुपैयाँले अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिन्छ’ पोखरा साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने–‘कोरोना कहर सकिएपछि आयोजना गर्ने छौं।’ उनका अनुसार प्रतियोगिता आयोजना तयारी गरिएको थियो। कोरोना कहरले रोकियो। साईक्लिङ संघ कास्कीका अध्यक्ष भण्डारीले पोखरा १३ आर्वामा ‘इण्डुरो’ गर्ने योजना बनाइएको बताए। २ किलोमिटर डाउनहिल र त्यसपछि अपहिल गरी एकै ठाँउमा भेट हुने गरी ठाँउ तयर गरिएको थियो। पोखरामा साईक्लिङ आईभी (चौथो) आयोजना गरिएको थियो।  

त्यसैगरी पोखरा म्याराथन प्रवद्र्धन गर्न महानगरपालिकाले १० लाख रुपैयाँ छुट्टाइएको छ। वर्षेनी क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको सहारा क्लबलाई समेत महानगरपालिकाले सहारा दिने प्रयास गरेको छ। मोफसलकै गर्विलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकपलाई यसै वर्षदेखि २ लाख रुपैयाँ महानगरले छुट्टाईदिएको छ। 

प्रकाशित: २० भाद्र २०७७ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App