१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बुजकसी खेल: खतरनाक शक्ति प्रदर्शन

अफगानिस्तानको एउटा रोमाञ्चकको खेल हो, बुजकसी। बुज भन्नाले पर्सियन भाषामा बाख्रो र कसी भन्नाले तान्ने (बाख्रो–तानातान) बुझिन्छ। रस्साकस्सी खेलमा डोरीलाई तानातान गर्नेजस्तै अर्थमा यसलाई पनि बुझ्नुपर्ने हुन्छ।  

यो खेल मंगोलिया, चीन, टर्की हुँदै घुमन्ते जाति कोची (नोम्याड्स) ले १२औँ शताब्दीतिर अफगानिस्तान भित्र्याएका हुन्। भनिन्छ, ताजिकहरूले त घोडाको सट्टा चौँरीमाथि चढेर पनि यो खेल खेल्छन्। कतिपयका अनुसार, शक्तिको प्रदर्शन तथा समूहगत दम्भ वा आवेग देखाउने कला पनि हो, बुजकसी खेल।  

तत्कालीन अफगानी राजपरिवार जाहिर शाहका सन्तानले अमेरिकामा पनि सन् १९४० मा यस खेलको प्रदर्शन गरेका थिए। तालिबानको समयमा यो प्रतिबन्धित जस्तै थियो। तर, सन् २००१ मा अफगान सरकार, तालिबान र संयुक्त राष्ट्रसंघ बीच भएको बोन (जर्मनी) सम्झौतापछि यो खुलेको हो। यसलाई सामाजिक सद्भाव कायम गर्ने खेलका रूपमा लिइन्छ।  

सन् २००४ मा राष्ट्रपतिको चुनाव हुनु दुई–तीन साताअघि यो खेल बामियानमा देखाइएको थियो। हजारौँ मान्छे जम्मा हुने सो मौकालाई संयुक्त राष्ट्रसंघीय अफगान सहयोग मिसन (युनामा) ले पनि उपयोग गर्न चाह्यो। तालिम अधिकृतको हैसियतमा काम गर्न पुगेको यो लेखक पनि चुनाव प्रचारका सामग्रीसहित स्थानीय टिमलाई लिएर त्यहाँ पुगेको थियो। सो अवसरमा मतदाता नामावली दर्ता, परिचयपत्र तयारी, चुनाव मिति, भोट हाल्ने तरिका आदिबारे लेखिएका पोस्टर, पम्फ्लेट, पर्चाहरू त्यहाँ वितरण गरिए।  

यस खेलको नियम ठाउँअनुसार फरक रहेको पाइन्छ, तापनि मूल तरिका उस्तै–उस्तै हो। ‘अफगान ओलम्पिक फेडरेसन’ले यसलाई केही निश्चित नियममा राख्न थाल्यो। यसका लागि पनि फुटबल मैदानको हाताकै नापमा क्षेत्र निर्धारण गरियो। बाक्लो लुगा, बुट, हेलमेट, पन्जा लगाउनुपर्ने नियम बनाइयो। तर प्रान्तीय तथा स्थानीय तहमा खेलिने खेलमा भने यी सबै सुविधा हुन्छन् भन्ने छैन।  

अघिल्लै दिन वध गरेर चिसो पानीमा ढड्याएको बाख्राको मृतशरीर (गिँड) लाई एउटा सामान्य फराकिलो खाडल र त्यसको वरिपरि घुमाउरो घेरा लगाएको स्थानमा ल्याएर राखिन्छ। बाख्रो कम तौलको भएमा यदाकदा त्यसभित्र बालुवा भर्ने पनि चलन छ। खेलाडीको एक समूहमा प्रायः १२ जना हुन्छन्। यिनलाई पनि पहिलो, दोस्रो चरणमा कति–कति जनाले भाग लिने भनेर पालो मिलाइन्छ।  

यो खेल खेल्न बलिष्ठ व्यक्ति र घोडाहरू चाहिन्छन्। सञ्चालकको इसारापछि वा भनौँ सिटी बजाएपछि दुई समूहमा बाँडिएका घोडचढीमध्ये एउटाले बुजलाई घोडाबाट नझरीकनै भुइँदेखि टिप्छ र आफ्नो काखमा राखी घोडा दौडाउँछ। विपक्षीहरू जसरी भए पनि त्यो बुज आफूले हासिल गर्न पछि लाग्छन्। खेलको बीचबीचमा मध्यान्तर पनि हुन्छ।  

आफ्नो समूहको खेलाडी थाकेपछि अर्कोले त्यसलाई पालो दिन्छ। काखमा लिएर दौडाइएको बुज समात्न आउने अर्को समूहका सदस्यलाई बुजवालाले सकेसम्म नजिक पर्नबाट रोक्छ। दौडँदा–दौडँदै २०–३० किलोग्रामको त्यस गिँडलाई एक हातले तानेर आफ्नो काखमा ल्याउन चानचुने बलले सक्ने कुरै भएन। यसैले खेलाडीहरू उमेरले प्रायः ४० वरपरका हुन्छन्, यिनलाई ‘चपन्दाज’ भनिन्छ। 

यो खेल खेल्न बलिष्ठ व्यक्ति र घोडाहरू चाहिन्छन्। सञ्चालकको इसारापछि वा भनौँ सिटी बजाएपछि दुई समूहमा बाँडिएका घोडचढीमध्ये एउटाले बुजलाई घोडाबाट नझरीकनै भुइँदेखि टिप्छ र आफ्नो काखमा राखी घोडा दौडाउँछ। विपक्षीहरू जसरी भए पनि त्यो बुज आफूले हासिल गर्न पछि लाग्छन्। खेलको बीचबीचमा मध्यान्तर पनि हुन्छ। 

समूह–समूह, व्यक्ति–व्यक्ति बीच खोसाखोस चल्छ। यस्तो तानातान कैयौँपटक हुन्छ। लुछाचुँडी हुन्छ। खेलको खास उद्देश्यचाहिँ जसरी होस्, त्यो बुज आफूले हासिल गर्नु नै हो। अन्त्यमा, निश्चित समय र सञ्चालकको संकेतपछि त्यो गिँड पहिले जहाँबाट उठाइएको हो, त्यहाँ गाडिएको झन्डाको पछाडिपट्टिबाट घुमेर जसले त्यही खाल्टोमा हाल्न सक्छ, त्यो समूह नै विजयी हुन्छ। यो मैदान वा सम्म ठाउँमा खेलिने खेल हो। काटमार, रगत र उत्तेजक दृश्य हेर्न मन नपर्नेलाई त यो खेल मन थामेरै हेर्नुपर्ने हुन्छ।  

अफगानिस्तानको मजार–ए–सरिफ भन्ने ठाउँमा घोडा पनि ठूला–ठूला हुने र खेल हेर्न देश–विदेशबाट हजारौँ मानिस आउँछन्। त्यहाँ अन्तर्राष्ट्रियस्तरको खेल हुन्छ। यस्तो खेल केही दिनसम्म पनि चल्न सक्छ।  

अफगानिस्तान मिसनबाट पहिला हुनेलाई सात सय डलर र भाग लिने खेलाडीलाई जनही तीन सय डलर सहभागिता खर्च पनि दिइएको थियो। खेलका बेला एउटाको घोडा पनि म¥यो। सबैले पैसा उठाएर त्यसलाई शोधभर्ना गरे। साथमा गएको एक अफगानी कर्मचारीले भन्दै थियो– खेलमा भाग लिने खेलाडी र घोडालाई कैयौँ दिनदेखि गतिलो खुराक र डाइटिङमा बस्नुपर्ने हुन्छ। मलाई त्यतिबेला लागेको थियो, यो रकम त मात्र प्रेमोपहार (टोकन अफ लभ) रहेछ, (१६ वर्षअघिको कुरा भएकाले अहिले यस रकममा वृद्धि भएको हुन सक्छ) संसारकै अचम्म र खतरनाक खेलमध्येको बुजकसी पनि एक हो, स्पेनको साँढे खेलजस्तै।  

अफगानिस्तानभित्र बुजकसीका लागि पहिलो श्रेणीमा पर्ने स्थानहरू हुन्– क्रमशः कुन्दुज, मजार, समनगन, बदाक्सान, तरवार र दोस्रोमा बामियान, पान्जसिर, बाग्लान र परवान। अग्ला र बलिया महसुर घोडाको मोल दुई हजार डलरसम्म पनि हुन्छ रे। खेलमा हजार, एक हजार पाँच सय, दुई हजार अफगानी रुपैयाँको दाउतलेबी (बाजी वा च्याँखे) थाप्ने पनि धेरै हुँदा रहेछन्। ज्यादा चिसो भएका बखत दौडँदादौडँदै घोडा वा घोडचढी मर्ने वा कुनै नराम्रो घटना पनि हुन सक्छ। कहिलेकाहीँ खेलै स्थागित वा रद्द पनि गर्नुपर्ने हुन्छ।  

ठूलो लगानी गर्न नसक्ने कतिपय स्थानमा खेललाई नियमित गराउन खेल्नुभन्दा पहिले खेलाडी, घोडा, समय, पुरस्कार आदिबारे प्रतियोगी समूहबीच आफ्नै किसिमको समझदारी हुन्छ। तर, यहाँ खासै समस्या आएन। भर्खरै बामियानमा भएको बुजकसी खेलमा हाम्रा स्टाफ सिकन्दरका भाइ सहेद ताहिरले पनि याकावालाङ क्षेत्रबाट भाग लिएका रहेछन्, त्यहाँबाट उनको समूहले जितेछ।

अफगानिस्तानको खेलकुद तथा ओलम्पिक विभागले पनि बेलाबेला यस खेलका लागि सहयोग गर्छ। धनीमानीले आफ्नै खर्चमा पनि आयोजना गर्छन्। सिकन्दरका अनुसार ९–१० वर्षअघि मजार–ए–सरिफ प्रदेशमा रसुल नाम गरेका एक पहलमान पुलिस कमान्डर थिए। उनी धेरै धनी थिए। उनले पहिलो हुने समूहलाई ल्यान्डक्रुजर जिप र सुनको हार समेत उपहार दिएका थिए। कारण यो थियो कि त्यस दिन उनका छोरा जन्मिएका थिए।  

भारतीय सिनेमा ‘धर्मात्मा’ तथा ‘खुदा गबाह’ का केही दृश्य बामियानमा छायांकन गरिएको हो, जसमा बुजकसी खेलको दृश्य पनि देखाइएको छ।  

त्यहाँ पुगेर यो खेल प्रत्यक्ष देख्न मात्र होइन, त्यस कार्यक्रमको आयोजक जस्तो पनि बन्न पाउँदा गौरव लागेको छ।
(लेखक सन् २००४ र ५ मा संयुक्त राष्ट्रसंघीय मिसन अफगानिस्तानमा आबद्ध थिए।)

प्रकाशित: २० भाद्र २०७७ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App