१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियालले हलो अड्कायो: बेल

वेल्सका स्ट्राइकर ग्यारेथ बेलले आफू इङ्लिस प्रिमियर लिगमा पुनरागमन गर्न तयार रहे पनि आफ्नो सरुवा कठिन बनाउन वर्तमान क्लब रियाल मड्रिडले हलो अड्काएको आरोप लगाएका छन् । लगातार बेन्चमा बस्दा निराश बनेका बेल गत सिजन चिनियाँ सुपर लिगमा जाने करिब निश्चित भए पनि अन्तिममा रियालले उनी सान्टियागो बर्नाबेउमा बस्ने भन्दै तत्कालका लागि उनको सरुवा रोकिदिएको थियो । अन्य लिगका क्लबले पनि ३१ वर्षे बेललाई भित्र्याउन इच्छा देखाइरहे पनि बेलका एजेन्टले भने उनी कहीं नजाने बताउँदै आएका छन् ।

‘मैले गत सिजनै बर्नाबेउ छोड्ने प्रयास गरेको थिएँ तर क्लब (रियाल मड्रिड)ले अन्तिम मिनेटमा आएर सबै प्रक्रिया रोकिदिएको थियो,’ बेलले भने, ‘सो योजनाका लागि उत्साही थिएँ तर त्यसले पूर्णता भने पाएन । अहिले पनि प्रिमियर लिगका केही क्लब मलाई भित्र्याउन इच्छुक देखिएका छन् । तर मेरो चाहनाले मात्र प्रिमियर लिग पुनरागमन सम्भव हुँदैन । क्लबले कस्तो रणनीति लिन्छ, त्यसले अबको मेरो यात्रा तय गर्छ । म फुटबल खेल्न चाहन्छु । म अझै केही वर्ष स्वाभाविक लयमै खेल्न सक्छु । सबै क्लबको हातमा छ । साँच्चै भन्नुपर्दा उनीहरूले नियोजित रूपमै मेरो सरुवा प्रक्रिया कठिन अवस्थामा पु-याएका छन् । म जान्न इच्छुक छु, अरू क्लब मलाई अनुबन्धन गर्न तयार छन् भने क्लबले किन मलाई रोकिरहेको छ ?’

बेल सन् २०१३ मा टोटेनह्यामबाट विश्वकै महँगो खेलाडीका रूपमा कीर्तिमानी ८५ मिलियन युरोमा रियाल मड्रिड भित्रिएका थिए । बर्नाबेउमा आफ्नो पहिलो पाँच वर्षे बसाइमा बेलले ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने १ सय गोल गरेका छन् । तर सन् २०१८ पछि भने लगातारको चोटका कारण बेलले विरलै मात्रै पहिलो रोजाइमा स्थान पाउने गरेका छन् । कोरोना महामारीपछि पुनः खेल सुचारु हुँदा बेलले स्पेनिस ला लिगाको एक खेलमा मात्र पहिलो रोजाइबाट खेलेका थिए । सन् २०१७ पछि रियालले गत सिजन पहिलो पटक ला लिगाको उपाधि जितेको थियो । उपाधि यात्रामा पनि उनले सिजनभर करिब १ सय मिनेट मात्र खेल्ने अवसर पाएका थिए । वर्तमान प्रशिक्षक जिनेदिन जिदानसँगको चिसो सम्बन्धका कारण पनि बेलको बर्नाबेउ बसाइ खल्लो बन्दै आएको छ ।

प्रकाशित: १९ भाद्र २०७७ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App