१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इटालीमा मेसीको व्यग्र प्रतीक्षा

इटालियन सिरी ‘ए’ का केही क्लब अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई भित्र्याउन व्यग्र प्रतीक्षामा छन् । उनीहरू सबै आर्थिक मापदण्डभित्रै रहेर मेसीको सरुवा प्रक्रिया पूरा होस् भन्नेमा सजग छन् ।

यससँगै स्पेनिस ला लिगामा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र मेसी पुनः एक पटक आमनेसामने हुने सम्भावना समेत बढेको छ । इटाली पनि मेसीको सहज आगमनका लागि उनलाई करमा विशेष छुट र सुविधा दिने तयारीमा छ । ऊ चाहन्छ, मेसीले इटालीमा स्पेनमा भोगेको जस्तो करको झमेला पुनः भोग्न नपरोस् । मेसीका बुबा जर्ज मेसीले मिलानमा अमार्टमेन्ट खरिद गरेको भन्ने खबर सार्वजनिक गर्दै इटालीका सञ्चारमाध्यमले मेसीलाई आफ्नो लिगमा हेर्न चाहने सिरी ‘ए’ समर्थकको महत्वाकांक्षालाई थप बल दिएका छन् ।

कोरोना महामारीपछि यस सिजन सिरी ‘ए’ शीर्ष क्लबका साथै प्रिमियर लिग क्लब, बुन्डेसलिगा क्लब, स्पेनिस ला लिगा क्लब र फ्रेन्च लिग वानले समेत आर्थिक मन्दीलाई ध्यानमा राख्दै सरुवा बजारमा पहिलेको जस्तो मनलागी खर्च नगर्ने मनस्थिति बनाइसकेका छन् ।

युभेन्ट्सले सन् २०१८ मा रियाल मड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धित गर्दा त्यसले इटालीमा ठूलै तहल्का मच्चाएको थियो । रोनाल्डो अनुबन्धित गरेको लगातार २ सिजनै युभेन्ट्सले सिरी ‘ए’ उपाधि रक्षा गर्दै आएको छ । युभेन्ट्सको यो लगातार १०औं सिरी ‘ए’ उपाधि थियो । युभेन्ट्सले च्याम्पियन्स लिगबाट बाहिरिएसँगै माउरिसियो सारीलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वखेलाडी समेत रहेका ४१ वर्षे आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ भने बार्सिलोनाबाट २४ वर्षे अर्थरलाई भित्र्याएका थियो ।

युभेन्ट्सले २२ वर्षे वेस्टन म्याक्नीलाई साल्केबाट लोनमा भित्र्याउँदै छ भने ब्लेसी म्यातुडीलाई डेविड बेकह्यामको क्लब इन्टर मायामीमा पठाउँदै छ । साथै उनीहरू ३३ वर्षे सामी खडिरा र ३२ वर्षे गोन्जालो हिग्विनलाई समेत अन्यत्र पठाउन चाहन्छन् । हिग्विनलाई युभेन्ट्सले २०१६ मा नेपोलीबाट ९०मिलियन युरोमा अनुबन्धित गरेको थियो । उनको स्थानमा युभेन्ट्सले रोमाका स्ट्राइकर इडेन जेकोमाथि आँखा गाडिरहेको छ । त्यस्तै एसी मिलानले ३९ वर्षे ज्लाटान इब्राहिमोभिचलाई गत सिजनको मध्यमा क्लबमा अनुबन्धित गरेको थियो । जुन सम्झौता एक वर्षका लागि थप भइसकेको छ ।

सन् २०१४ पछि च्याम्पियन्स लिगमा समेत छनोट हुन नसकेको मिलान इब्राहिमोभिचको प्रेरणामा क्लबका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको हेर्न चाहन्छ । मिलानले इब्राहिमोभिचको आगमनपछि सिजनको अन्तिम १२ खेलमा अपराजित यात्रा कायम गरेको थियो ।

‘म यहाँ मस्कट बन्न आएको होइन, क्लबलाई सफलताको उचाइमा पु¥याउन आएको हुँ, जसका लागि क्लब सक्षम पनि छ,’ १९ सेप्टेम्बरबाट सुरु हुने सिरी ‘ए’ को नयाँ सिजन तयारीमा जुटेका ज्लाटानले भने । मिलानले यस सिजनका लागि ब्रेसियाबाट २० वर्षे सान्ड्रो टोनालीलाई अनुबन्धित गर्ने प्रयास गरिरहेको छ ।

युभेन्ट्सको दबदबा अन्त्य गर्ने लक्ष्यमा रहेको इन्टर मिलान भने मिडफिल्ड मजबुत पार्दै यस सिजन पनि उत्कृष्ट लय कायम राख्न चाहन्छ । गत सिजन इन्टर शीर्ष स्थानको युभेन्ट्सभन्दा मात्र १ अंकले पछि परेको थियो । इन्टरले गत सिजन टोटेनह्यामबाट क्रिस्टियन इरिक्सनलाई अनुबन्धित गरे पनि उनले सोचेअनुरूपको भने प्रदर्शन गर्न सकिरहेका छैनन् । इन्टर प्रशिक्षक एन्टोनियो कोन्टे मिडफिल्डमा अनुभवी खेलाडी भित्र्याउन चाहन्छन् । इटालीका सञ्चारमाध्यमले भने इन्टर बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल र चेल्सीका एनगोलो कान्टे भित्र्याउन इच्छुक रहेको बताउँदै आएका छन् ।

प्रकाशित: १७ भाद्र २०७७ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App