२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

न्याय याचनाका लागि फाइनल लक्ष्य: ओसाका

युएस ओपन

अमेरिकी १६ वर्षीया टेनिस स्टार कोको गउफ (बायाँ) र जापानकी नाओमी ओसाका । तस्बिर: एपी

युएस ओपन सुरु हुनुभन्दा एक दिनअगाडि एक खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सोमबार नोभाक जोकोभिचसहित शीर्ष खेलाडीले आफ्नो पहिलो जित निकाल्दा कडा स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएका छन् ।

फ्रान्सका बेन्वा पेयरलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै युएस ओपनमा सहभागी प्रतिस्पर्धीमाथि केही नकारात्मक टिप्पणी आइरहे पनि उनीहरू उच्च सतर्कताका साथ पहिलो प्रतिस्पर्धा गरेका थिए । कोरोना संक्रमण भएपछि पेयरको नाम युएस ओपनबाट हटाइएको थियो । ‘संक्रमित खेलाडीले न्युयोर्क राज्यद्वारा जारी स्वास्थ्य सुरक्षा प्रोटोकल नअपनाएको स्पष्ट हुन्छ,’ युएस टेनिस एसोसिएसनका प्रवक्ताले भने । करिब २३ हजार दर्शक क्षमताको अर्थर एसे स्टेडियममा निकै अनौठो वातावरणका बीच खेल सञ्चालन भए ।

जोकोभिच र क्यारोलिना प्लिसकोभा ती शीर्ष खेलाडी थिए, जसले फ्लसिङ मेडोजमा आफ्नो पहिलो प्रतिस्पर्धा शान्तपूर्वक खेले र कोभिड–१९ को महामारीपश्चात् भएको पहिलो ग्रान्ड स्लाम युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । म्याच विनिङ प्वाइन्टमा बिनाप्रतिक्रिया, बल ब्वाइको मास्क पहिरनु र खेलाडी आपैmँले टावलसम्म पुग्नुलगायत पहिलो दिनका विशेषता थिए । ‘त्यो अवस्था र प्रतिस्पर्धा निकै अनौठो थियो,’ पहिलो जित निकालेपछि फ्रान्सकी क्रिस्टिना लाडेनोभिचले भनिन् । उनले अमेरिकी हेइली बापटिस्टमाथि ७–५ र ६–२ ले जित निकालेकी थिइन् । अमेरिकी टेनिस एसोसिएसनले पेयरको कन्ट्याक्टमा आएका खेलाडी खोजी गरिने र प्रत्येक चार दिनमा कोरोना परीक्षण हुने जनाएको छ । सबै सहभागीलाई खेल प्रतिस्पर्धाबाहेक होटल रुमबाट बाहिर निक्लन रोक लगाइएको छ ।

नाेभाक जाेकाेभच

शीर्ष खेलाडी जोकोभिच पनि गैरवरीयताका बोस्निया एन्ड हर्जगोभिनाका दामिर जुमहुरलाई ६–१, ६–४ र ६–१ ले सहजै पराजित गर्दै १८औं ग्रान्ड स्लाम उचाल्ने लक्ष्यमा छन् । विश्व नम्बर तीन प्लिसकोभाले पनि १ सय ४५औं वरीयताकी एनलिना क्यलिनिनालाई ६–४ र ६–० ले हराउँदै पूर्णरूपमा हाबी भइन् । सन् २०१६ की युएस ओपन च्याम्पियन एन्जेलिक केरबरले पनि दोस्रो चरणमा स्थान बनाउँदा अस्ट्रेलियाकी आइला टोमिआनोभिचविरुद्ध ६–४ र ६–४ को जित निकालिन् । गत वर्ष विम्बल्डनको चौथो चरणसम्म यात्रा तय गरेकी अमेरिकाकै १६ वर्षीया कोको गउफ भने पहिलो चरणबाटै बाहिरिन् ।  

उनी लात्भियाकी एनास्टासिया सेभास्तोभासँग ६–३, ५–७ र ६–४ ले स्तब्ध भइन् । अमेरिकामा प्रहरीबाट अश्वेत नागरिकमाथि भएको दमन र अत्यचारविरुद्ध उत्रिएकी विश्व नम्बर चार नाओमी ओसाकाले पनि पहिलो चरणमा सफलता प्राप्त गरेकी छन् । खेल एरिनामै ‘ब्ल्याक लिभ्स म्याटर’ अंकित ब्यानर राखिएको थियो भने जापानिज युवा स्टारले ब्रिअना टेलर नामको मास्क लगाएकी थिइन् । अश्वेत नर्स टेलर पनि गत मार्चमा केन्टकीस्थित आफ्नै अपार्टमेन्टमा बसिरहेको समय प्रहरीको सुटआउटमा मारिएकी थिइन् ।  

यसअघि नै अमेरिकामै गत हप्ता प्रहरीद्वारा मारिएका अश्वेत ज्याकोब ब्लेकको न्याय याचना गर्दै ओसाकाले न्युयोर्कमा भएको वेस्टर्न एन्ड साउथर्न ओपनको सेमिफाइनल नखेल्ने निर्णय गरेकी थिइन् । हाइटीका पिता र जापानिज आमाकी सन्तान ओसाकाले प्रहरीद्वारा मारिएका अन्य ६ जनाको न्यायका लागि मास्क तयार गरिएको बताएकी छन् । ‘मसँग कुल सात जनाको नाम छ । तर, दुःखका साथ भन्नुपर्छ उनीहरूको न्यायका लागि म मात्र पर्याप्त हुनेछैन,’ आफ्नै देशकी मिसाकी डोईमाथि जित निकालेकी ओसाकाले भनिन् ।  

२२ वर्षे ओसाकाले मिसाकीमाथि ६–२, ५–७ र ६–२ को संघर्षपूर्ण जित निकालेकी थिइन् । ‘आशा गरौं म फाइनलसम्म पुग्नेछु र ती बाँकी सातै जनाको न्याय माग्न सकुँ,’ उनले थपिन् । विश्व नम्बर चारका स्टेफानोस सितसिपासले स्पेनका अलबर्ट रामोसलाई ६–२, ६–१ र ६–१ ले हराउँदा विश्व नम्बर पाँच एलेक्जन्डर भेरेभले केभिन एन्डरसनमाथि ७–६ (७–२),५–७, ६–३ र ७–५ को संघर्षपूर्ण जित निकाले । यसपटक जोकोभिच १८औं ग्रान्ड स्लाम उचाल्दै रोजर फेडेररको २०औं र राफाइल नाडालको १९औं ग्रान्ड स्लामको रेकर्ड छोट्याउने लक्ष्यमा छन् ।

प्रकाशित: १७ भाद्र २०७७ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App