नाइकले पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन स्ट्रायकर नेइमारसँग १५ वर्षदेखिको प्रायोजन सम्झौता रद्द भएको घोषणा गरेको छ।
‘नेइमार अब हामीले प्रायोजन गरेका खेलाडी होइनन्,’ अमेरिकी खेलकुद पोसाक महारथी नाइकका प्रवक्ता जोस बेन्डेकले भने।
सञ्चारमाध्यमहरूले भने २८ वर्षे नेइमारको पुमासँग नयाँ प्रायोजन सम्झौताका लागि छलफल भइरहेको जनाएका छन्।
‘हामी बिनातथ्य बाहिरिएका खबरमा कुनै प्रतिक्रिया जनाउन चाहँदैनाैं,’ पुमाले विज्ञप्तिमार्फत भनेको छ।
ब्राजिली समाचार एजेन्सी युओएलले नेइमार र नाइकबीच सम्झौता नवीकरण गर्दा रकम बढाउने विषयमा कुरा नमिलेपछि सम्झौता रद्द भएको दाबी गरेको छ।
नाइकले १३ वर्षको हुँदादेखि नेइमारलाई प्रायोजन गर्दै आएको थियो। नेइमारले भने यस विषयमा केही प्रतिक्रिया जनाएका छैनन्।
यद्यपि नाइक पिएसजी र ब्राजिलको प्रायोजक भएकाले मैदानमा भने नेइमार नाइकको लोगो अंकित जर्सीमा उत्रनेछन्।
प्रकाशित: १५ भाद्र २०७७ ०२:१० सोमबार