१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

गर्भवती खेलाडीमाथि निर्घात कुटपिट

एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादे कात्तिक अन्तिम साता आमा बन्दै छिन् । चिकित्सकले कात्तिक २५ गते उनलाई प्रसूतिको ‘डेट’ दिएका छन् । यस्तो संवेदनशील स्वास्थ्य अवस्थाकै बीच उनीमाथि सोमबार आक्रमण भयो । जसका कारण उनी यति बेला असह्य शारीरिक र मानसिक पीडा झेल्न बाध्य बनेकी छिन् ।  

जातीय विभेद हुने गरी दुर्व्यवहार नगर्न सम्झाउँदा आफैँ आक्रमणको निसानामा परेकी यी राष्ट्रिय कीर्तिमानी खेलाडी अहिले पेटको बच्चाको स्वास्थ्यका लागि अस्पतालको बेडमा संघर्ष गरिरहेकी छन् । कहिल्यै चिनजान नै नभएका स्थानीय दम्पतीले मेचीनगरको चारआलीमा उनी र उनका पतिमाथि अनाहकमा आक्रमण गरेका थिए ।  

‘पेटमा दुखाइ लगातार छ’, झापा बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचाररत चन्द्रकलाले बुधबार नागरिकसँग भनिन् ‘एकदमै कमजोरी अनुभव भइरहेको छ । रक्तचाप पनि घटेको छ ।’  

‘धेरै हिँडडुल नगर्नू, त्यसो गर्दा बच्चा खेर जाने खतरा हुन्छ’, चिकित्सकले उनलाई भनेका छन्, ‘एकदमै संवेदनशील अवस्थामा बच्चालाई असर परेको छ । त्यसैले पूर्णतः उपचार नभई हिँडडुल नगर्नुहोला ।’ सोमबार राति आठ बजेतिर आक्रमणको सिकार बनेकी उनलाई राति १२ बजे बी एन्ड सी अस्पताल पु¥याइएको थियो । चिकित्सकहरूले अरू दुई–तीन दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । यस्तो अवस्थामा उनलाई पु¥याउने घटना सोमबार राति आठ बजे आसपासमा भएको थियो ।  

स्थानीय राजन दर्जी गुहार माग्दै चन्द्रकला र उनका पतिले सञ्चालन गरेको चिया पसलमा प्रवेश गरे । उनलाई लखेट्दै आउनेहरू दलितमाथि जातीय दुव्र्यवहार हुने शब्द प्रयोग गर्दै थिए । राजनकै छिमेकी दुर्गा श्रेष्ठ र उनकी पत्नी विष्णुको यस्तो व्यवहार देखेपछि चन्द्रकलाले सम्झाउने प्रयास गरिन्, ‘अहिले पनि यस्तो जातीय विभेदकारी शब्द प्रयोग नगर्नुस् ।’ उनीमाथि आक्रमण हुने निहुँ यही बन्यो । श्रेष्ठ दम्पती उनीमाथि जाइलागे । ‘पत्नी विष्णुले मलाई लड्ने गरी धकेलिन्’, घटनाबारे चन्द्रकलाले भनिन् ‘अनि उनका पतिले बेल्ट खोलेर जथाभाबी हान्न थाले । मलाई पेटमा पनि प्रहार गरे ।’  

उनका पति सुमन खातीले सञ्चालन गरेको चियापसलमा उनी लकडाउनयता सधैँजसो हुन्छिन् । नेपाल प्रहरीकी खेलाडी उनी नेपाली सेनाबाट सेवा निवृत्त दुर्गा श्रेष्ठ दम्पतीको आक्रमणमा परेकी हुन् । आक्रमणकारीलाई पक्राउ गरेर पाँच दिनको म्याद थप गरिएको झापा प्रहरीले जनाएको छ ।  

खेल निकायद्वारा कारबाहीको माग
नेपाल एथ्लेटिक्स संघ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी संघले लामगादेमाथि भएको कुटपिटप्रति घोर भत्र्सना गर्दै काराबाहीको माग गरेका छन् ।  

एथ्लेटिक्स संघले बुधबार विज्ञप्ति जारी गर्दै एक राष्ट्रिय कीर्तिमानीधारी खेलाडीमाथि भएको निर्घात कुटपिटको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको हो । खेलाडी संघले खेलाडीको अवस्थाबारे जानकारी लिन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई ध्यानाकर्षण गराउँदै यथाशीघ्र सहयोग गर्न पनि आह्वान गरेको छ । एथ्लेटिक्स संघले तत्कालका लागि उनको उपचारमा २१ हजार रूपैयाँ सहयोग गर्ने भएको छ ।  

एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहद्वारा जारी विज्ञप्तिमा चन्द्रकलालाई आर्थिक खाँचो रहेकाले २१ हजार रूपैयाँ सहयोग गर्ने उल्लेख गरिएको छ । ‘यस घटनाको घोर भत्र्सना गर्दछौं र नेपाली समाजमा यस्तो घटना हुनु निकै दुखद हो । देशको इज्जत र प्रतिष्ठा राख्ने खेलाडीमाथि नै भएको अमानवीय घटना निन्दनीय छ । दोषीमाथि कारबाहीका लागि माग गर्दछौं,’एथ्लेटिक्स संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल पुलिस क्लबमा आबद्ध चन्द्रकलाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनले सटपुटतर्फ १२.५२ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

प्रकाशित: ११ भाद्र २०७७ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App