२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिमेन्ट ढुवानी नहुँदा मुस्ताङको कभर्डहल अलपत्र

सिमेन्ट नहुँदा काम रोकिएको मुस्ताङको जोमसोमस्थित कभर्डहल । तस्बिर : नागरिक

काम गर्न पहिला कामदार थिएनन् । अहिले कामदार छन् तर सामान छैन । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा निर्माणाधिन कभर्ड अहिले सामानमै अभावमा काम रोकिएको छ । ‘वैशाखदेखि काम थाल्न खोज्दा कामदार पाईएनन्’ जिल्ला खेलकुद विकास समिति मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले भने, ‘अहिले कामदार छन् तर सामान नहुदाँ समस्या भएको छ ।’ विश्वव्यापी कोरोनाको कहर शुरु भएसँगै चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको थियो । लकडाउनकै पहिलो मार कभर्ड हल निर्माणमा परेको थियो ।  

कास्कीमा निषेधाज्ञा छ । आईतबार रातीदेखि सकिने छ । मुस्ताङमा भारयुक्त सवारी साधनको ढुवानी भएको छैन । ढुवानी नहुदाँ निर्माणाधिन कभर्डहलको लागि अत्यावश्यक सिमेन्टले काम रोकिएको छ । हलको ४४ वटा पिलर मध्ये केही पिलर भरिएको छ । केही भर्न बाँकी छ । बेसमेन्ट(डिबीसी) ढलान गर्नुपर्ने अवस्थामा सिमेन्ट ढुवानी नहुदाँ काम रोकिन पुगेको कार्यालय प्रमुख थकालीले सुनाए । ‘ढुवानी नहुदाँ ढलान भएको छैन् । असोजपछि चिसो बढ्छ काम गर्न सकिदैन् ।’ उनको भनाई थियो । कभर्ड हलको लागि तत्काल १ हजार बोरा सिमेन्टको खाँचो छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार कभर्ड हल ३० मिटर चौडाई र ४५.४ मिटरको लम्बाईको छ । भित्री खेल्ने कोर्ट भने लम्बाई ३४.६ मिटर र २०.२ मिटर चौडाईको रहने इन्जिनियर ताम्राकारले सुनाए । चारवटा व्याडमन्टिन कोर्ट रहने छन् । ‘५५० दर्शक क्षमता प्यारापिट समेत निर्माण गरिने छ ।’ उनको भनाई थियो ।  

कार्यालय प्रमुख थकालीका अनुसार म्याग्दीको रुप्से छहरा(झरना)नजिकै काभ्रे भीरमा बाटो बिग्रिएकोले सामान ढुवानी हुनै सकेको छैन । गत असार २८ गतेदेखि ढुवानी रोकिएको हो । असार २६ गते म्याग्दीकै मोटरेबल पुल बगाएपछि आवातजावत नै ठप्प थियो । झण्डै एक महिनापछि पुल मर्मत सम्भारपछि यातायातको सञ्चालन भएपनि ठूला भारक्षमता(लोड सवारी) गाडी आवातजावत भएको छैन । ‘असोजपछि मुस्ताङमा चिसो बढ्छ । काम गर्न कठिनाई हुन्छ’ उनले भने–‘काम गर्न सहज बातावरण हुदाँ बाटो बिग्रिएर तनाब थपिएको छ ।’  

कामदार २५/३० जना छन् । सिमेन्ट नहुदाँ अन्य काम गरेर राख्नुपर्ने बाध्यता छ । त्यसले खर्चिलो हुने कार्यालय प्रमुख थकालीको भनाई थियो । ‘यो वर्ष जति सक्दो छिटो सक्ने गरी काम थालियो । अर्को वर्ष झन लागत बढ्न सक्छ’ उनले भने–‘बाटो बिग्रिएपछि सिमेन्ट ल्याउने अर्को विकल्प नै छैन ।’ विस्तृत परियोजना प्रतिवेदन अनुसार कभर्ड हलको लागत ८ करोड रुपैयाँ अनुमान गरिएको छ । यो आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयले केवल १० लाख रुपैयाँ बजेट रातो किताबमा छुट्टाएको छ ।  

एक स्थानीय तह एक खेल मैदानको नीति संघीय तथा प्रदेश सरकारको छ । त्यही नीति अनुसार युवा तथा खेलकुद मन्त्रालयले मुस्ताङको घरपझोङ गाँउपालिकालाई ५० लाख रुपैयाँ पूर्वाधारको लागि पठाएको थियो । त्यही बजेटबाटै संरचना पूर्ननिर्माणको काम शुरु गरिएको हो । ‘गाँउपालिकाबाट आएको पैसाबाट काम शुरु गरेका हौंं । गाँउपालिकाकै उपभोक्ता समिति मार्फत काम गरिएको छ ।’ कार्यालय प्रमुख थकालीले सुनाए । गाउँपालिकाले पनि समपुरक बजेटबाट २५ लाख रुपैयाँ छुट्टाएको छ ।  

जोमसोम २७ सय ४३ मिटरको उचाईमा छ । जोमसोम नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेवल टेनिस गर्ने योजना छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कभर्ड हल निर्माण शुरु गरिएको हो ।

प्रकाशित: ६ भाद्र २०७७ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App