१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

खेलाडीलाई फेरी फिटनेसको चिन्ता

लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो। घरेलु अभ्यासमा सीमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो।

सोमबार नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चित कालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ। तीन महिना लामो लकडाउन भएपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन्। 

केही खेलकुद संघले मात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए। ब्याडमिन्टन, कराते, टेबल टेनिस जस्ता खेलले स्वास्थ प्रोटोकललाई पूरा गर्दा अन्य सुचारु गर्ने सोचमा थिए। अहिले ती नै खेलका खेलाडी पुनः स्थगित हुँदा चिन्तित भएका छन्। यस्तै चिन्ताले सताएका फुटबल अन्जन विष्टले घरेलु अभ्यासबाट आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन्। खेल मैदानमा समूह गत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि आफूलाई फिट राख्न घरेलु अभ्यासमा ब्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट बताउँछन्।

त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परीक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो। बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णयसँगै खेलाडी निराश भएका छन्। सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी मारमा परेका छन्। ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनी बताउँछन्।

पछिल्लो केही साताबाट काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो। खेलकुद क्षेत्रमा अहिले सम्म स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको छ।

प्रकाशित: २ भाद्र २०७७ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App