९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

‘बुट’ झुन्ड्याउँदै प्रशिक्षणको जिम्मेवारी

बेल्जियमका डिफेन्डर भिन्सेन्ट कोम्पनीले ३४ वर्षको उमेरमै आफ्ना बुट झुन्ड्याउँदै आफ्नै देशको पहिलो डिभिजन क्लब एन्डेरलेक्टको प्रशिक्षण जिम्मेवारी लिएका छन्।

म्यानचेस्टर सिटीका पूर्वडिफेन्डरसमेत रहेका कोम्पनीलाई चार वर्षका लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको सोमबार एन्डेरलेक्टले जनाएको हो। उनी सन् २०१९ मा सिटीबाट एन्डेरलेक्टमा खेलाडीका रूपमा आबद्ध भएका थिए। यद्यपि, एक सिजन त्यहाँ खेलेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो। उनले फ्यान्की भरकाउटेरेनलाई प्रतिस्थापन  गरेका हुन्। ‘मैले पाएको जिम्मेवारी पूर्ण रूपमा निभाउनेछु। शतप्रतिशत समय र ध्यान केन्द्रित गर्नेछु, त्यसैले पनि मैले खेलाडी जीवन त्यागेको हुँ,’ ११ वर्ष म्यानचेस्टर सिटीमा बिताएका कोम्पनीले भने, ‘हाम्रो लक्ष्य एउटै हो। क्लबमा कम्तीमा चार वर्ष रहनेछु र त्यसबीच क्लबलाई आधुनिक फुटबलतर्फ डो-याउने प्रयास गर्छु।’

उनको प्रशिक्षणमा क्लबले पहिलो खेल आगामी आइतबार मुसक्रोनविरुद्ध खेल्नेछ। उनकै कप्तानीमा सिटीले चार इङ्लिस प्रिमियर, दुई एफए कप र चार लिग कप उपाधि जितेको छ। उनले आफूलाई एक सफल खेलाडीका रूपमा स्थापित गरिसकेका छन्। एन्डरलेक्टको एकेडेमीबाट आफ्नो फुटबल करियर सुरु गरेका उनले सोही क्लबबाटै खेलाडीजीवन अन्त्य गरे। गत सिजन एन्डरलेक्टबाट १५ खेल खेल्दा उनले एक गोलसमेत गरेका थिए। उनले १७ वर्षकै उमेर बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २०१८ को विश्वकपमा बेल्जियम तेस्रो हुँदा उनी टोली सदस्य थिए।

प्रकाशित: २ भाद्र २०७७ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App