१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सिटीमाथि लियोनको रोमाञ्चक जित

च्याम्पियन्स लिग

म्यानचेस्टर सिटीविरूद्धको रोमाञ्चक जितपछि खुसी मनाउँदै लियोनका खेलाडी। तस्बिर: एपी

मौसा डेम्बेलेको दुई गोल मद्दतमा लियोनले शनिबार म्यानचेस्टर सिटीमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ।  

लिग वान क्लब लियोनले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीविरुद्ध जित निकाल्दा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका डेम्बेलेले लियोनको च्याम्पियन्स लिग यात्रा अगाडि बढाएका हुन्। पहिलो हाफमा लियोनले लिएको अग्रतालाई बराबरीमा ल्याउन सिटीले खेलको ६९औं मिनेट कुर्नुपरेको थियो। अधिकांश समय बलमा पकड जमाए पनि नतिजा निकाल्न असफल सिटीविरुद्ध लियोनले २४औं मिनेटमै गोलको खाता खोलेको थियो। म्याक्सवेल कोरेन्टले लियोनलाई सुरुआती अग्रता दिलाएका थिए। बन्द रंगशालामा सिटीले लियोनमाथि दबाब कायम गरे पनि लियोनले गोलको पहिलो खाता खोलेको थियो।  

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा काउन्टरमा उत्रिएको सिटीले  खेलको ६९औं मिनेटमा केभिन डी ब्रुयनाको गोलबाट खेल बराबरीमा ल्यायो। प्रतिस्पर्धात्मक खेलमा मौसाले ७९औं मिनेटमा गोल थप्दै फ्रान्सेली टोलीलाई अगाडि बढाएका थिए। अग्रता लिए पनि सिटीविरुद्ध खुलेर खेलेको लियोनले ८७औं मिनेटमा तेस्रो गोल थप्यो। काउन्टरमा अगाडि बढेको मौकालाई लियोनले सदुपयोग गर्दा ३–१ को विजयी नतिजा निकालेको हो।  

फाइनल प्रवेशका लागि आरबी लिपजिग र पेरिस सेन्ट जर्मन (पिएसजी) तथा लियोन र बायर्नबीच प्रतिस्पर्धा हुनेछ।  

फ्रान्सेली लिग  ‘लिग वान’ मा सातौं स्थानमा रहँदै लिग समापन गरेको लियोनले सिटीमाथि जित निकाल्दा जारी च्याम्पियन्स लिगमा अर्को रोमाञ्चकता थपिएको छ। यसअघि जर्मन क्लब बायर्नले स्पेनिस ला लिगाको क्लब बार्सिलोनाविरुद्ध ८–२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा विश्वभर नै फुटबल रौनकता र चर्चा चलेको थियो। शनिबार लियोनले सिटीविरुद्ध जित निकाल्दा च्याम्पियन्स लिग पुनः चर्चाको विषय बनेको छ।  

‘हामी अझै यात्रामा छौं। यसको मतलब हाम्रो टोली यो सिजन मजबुत  छ,’ सेल्टिकका पूर्वस्ट्राइकर डेम्बेलेले भने, ‘एकपछि अर्को खेलमा सुखद नतिजा निकालेका छौं। यो जितले हामीलाई बायर्नविरुद्ध खेल्न हौसला मिलेको छ।’

माैसा डेम्बेले

शनिबारको खेलसँगै च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पूरा भएको छ। समीकरण पूरा हुँदा स्पेनिस र प्रिमियर लिगका क्लब प्रतियोगिताको होडबाट बाहिरिएका छन् भने फ्रान्सेली र जर्मन क्लबले च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएका छन्।  फाइनल प्रवेशका लागि आरबी लिपजिग र पेरिस सेन्ट जर्मन (पिएसजी) तथा लियोन र बायर्नबीच प्रतिस्पर्धा हुनेछ।  

लियोनसँग हारेको सिटीले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिनुपरेको छ। अघिल्ला दुई संस्करणमा सिटी क्वार्टरफाइनलमा टोटेनह्याम र लिभरपुलसँग पराजित हुँदै बाहिरिएको थियो।  

‘पछिल्ला तीन सिजन क्वार्टरफाइनलभन्दा माथि जान सकेका छैनौं। अवश्य आउँदा दिनमा हामी यो चरण पार गर्नेछौं। अहिलेको अवस्थामा असफल भयौं। यही टोलीबाट आउँदो सिजनमा राम्रो गर्नेछौं,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने। २०१५÷१६ को सिजनमा क्लबमा आबद्ध भएका ग्वार्डिओलाले उक्त सिजन टोलीलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका थिए। त्यसपछि उनको टोली अन्तिम ८ भन्दा माथि उक्लिन सकेको छैन।  

टोलीलाई जित दिलाउन गोल गरेका डेम्बेलेले बलियो प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपरेको प्रतिक्रिया दिए।  

‘सिटीजस्तो ठूलो टोलीविरुद्ध नतिजा निकाल्न निकै गाह्रो भयो,’ अन्तिम १५ मिनेट मैदान प्रवेश गरेका डेम्बेलेले भने, ‘मेरो मन पर्ने क्लब बायर्नसँग पुनः चुनौती छ। उक्त खेलमा राम्रो खेल्दै नतिजा पोल्टामा पार्ने हाम्रो प्रयास रहन्छ। बायर्न पनि बलियो र कठिन प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको टोली हो। राम्रो खेलिरहेको छ।’

यता खेलअवधिभर पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल रहेका केभिन डी ब्रुयनाले लगातार तेस्रो पटक च्याम्पियन्स लिगमा भएका कमजोरीलाई केलाउँदै आगामी दिनमा अगाडि बढ्नुपर्ने समय आएको बताए।  

‘लगातार तेस्रो संस्करणमा अन्तिम आठमा रोकिनुपरेको छ,’ लियोनविरुद्ध बराबरी गोल फर्काएका डी ब्रुयनाले भने, ‘विगतका कमी कमजोरी केलाउन जरुरी देखिएको छ। कसैलाई केही आरोप लगाउन चाहन्नँ। योभन्दा राम्रो खेल्न सक्ने टोली हाम्रो हो।’

इटालियन च्याम्पियन युभेन्ट्ससँग अवे गोलको आधारमा अन्तिम आठमा स्थान बनाएको लियोनका प्रशिक्षका रुडी गार्सियाले बायर्नसँगको खेलमा मनोबल उच्च बनाएर खेल्ने प्रतिक्रिया जनाए।  

‘युभेन्ट्ससँगको समीकरणले हामी भाग्यमानी रह्यौं। सिटीसँगको जितले मनोबल बढेको छ,’ लियोनका प्रशिक्षका गार्सियाले भने, ‘बायर्नसँग पनि मनोबल उच्च राखेर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछौं। रणनीतिक हिसाबमा सफल भएका छौं। बार्यनसँग रणनीतिलाई बलियो आधार बनाएर मैदान उत्रन्छौं।’

प्रकाशित: १ भाद्र २०७७ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App