१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोरोनाबाट प्रभावित खेलाडीलाई एन्फा कास्कीद्वारा राहत वितरण

कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले शुक्रबार खेलाडीहरुलाई राहत वितरण गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा एन्फा कास्कीले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित फुटबल खेलाडी तथा फुटबल खेलसँग सम्बद्ध पदाधिकारीहरुलाई राहत वितरण गरेको हो।

एन्फा कास्कीमा आबद्ध २२ वटा क्लवका आर्थिक अवस्था कमजोर भएका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा पत्रकारलाई समेत राहत वितरण गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। उनका अनुसार कुल ५० जनालाई एन्फाको तर्फबाट जनही १ हजार ५ सयको दरले चेक प्रदान गरिएको हो।

त्यस्तै, एन्फाको राहत वितरण कार्यक्रममा लायन्स क्लव अफ पोखरा सेनटेनियललेपनि खेलाडी तथा खेल पदाधिकारीहरुलाई नगद राहत वितरण गरिएको थियो। जनही १ हजारका दरले राहत वितरण गरिएको क्लवका अध्यक्ष पर्वत कायस्थले जानकारी दिए।

कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापा लगायतले राहत हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीले कोभिड–१९ बाट प्रभावित खेलाडी तथा खेल पदाधिकारीलाई रकम सानै भएपनि खेलाडीलाई राहत पुग्ने बताए। खेलाडीलाई अप्ठेरो पर्दा सम्बन्धित खेल संघले हामी छौं है भन्ने विश्वास दिलाउनुपर्ने भन्दै उनले भने,‘खेलाडीको सुख, दुःखमा सहारा बन्न नसक्ने खेल संघको कुनै औचित्य हुन्न, यसलाई मनन् गरेर एन्फा कास्कीले राहत वितरण गरेकोमा धन्यवाद।’

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले एन्फा केन्द्रले खेलाडीलाई राहत स्वरुप ७५ हजार पठाएको र सो रकम जस्ताकोतस्तै वितरण गरिएको बताए।

प्रकाशित: ३० श्रावण २०७७ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App