२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्लोपलाई विश्व नै साथमा रहेको महसुस

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले घरेलु मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचाल्न पाउँदा विश्व नै उनको साथमा रहेको महसुस  भएको बताए।

कोरोना भाइरसका कारण खाली मैदानका बीच ३० वर्षपछि बिहीबार शीर्ष लिगको ट्रफी उचाल्दै क्लोपले एन्फिल्डमा विश्व नै आफ्नो साथ रहेको प्रतिक्रिया दिएका हुन्। गत महिना नै उपाधि सुरक्षित गरेको लिभरपुलले यस सिजन घरेलु मैदानको अन्तिम खेलमा बिहीबार चेल्सीमाथि ५–३ को जित निकालेसँगै ३० वर्षपछि शीर्ष लिगको उपाधि उचाल्ने अवसर पाएको थियो। ‘हामीले जसरी सक्थ्यौं उत्कृष्ट ग-यौं,’ क्लोपले भने, ‘आज हाम्रो परिवार यहाँ हुनु अविश्वसनीय छ, जुन विश्व नै मेरो साथमा भएको महसुस हुन्छ। समर्थकका साथ हुनु निकै उत्कृष्ट हुन्छ, तर वर्तमान अवस्थामा त्यो असम्भव छ।’  

केही महिनाअगाडिसम्म वर्तमान अवस्थामा मैदान फर्किनु आफूले असम्भव देखेको क्लोपको भनाइ छ। ‘केही महिनासम्म फुटबल खेल्नु असम्भव देखेको थिएँ। तर अझै पनि म खुसी छैन, मैदान भरिभराउ भएर खेल्नुको मजा बेग्लै छ र त्यसले अर्कै माहोल सिर्जना गर्छ। समर्थकका साथ यो क्षण निकै उत्कृष्ट हुन्थ्यो,’ क्लोपले भने। पछिल्ला पाँच खेलमा दुई जित मात्र निकालेको क्लोपको टोलीले यस सिजनको अन्तिम घरेलु खेलमा सुखद नतिजा आत्मसात् गर्न सफल भयो। साथै क्लोपले आफ्ना समर्थकसँग स्थिति सामान्य हुनासाथ सहरमा विजयोत्सव मनाउने वाचा गरेका छन्।  

चेल्सीलाई एक अंक आवश्यक
यता, हारसँगै चेल्सी चौथो स्थानमा झरेपछि च्याम्पियन्स लिगमा स्थान पक्का गर्न अझै एक अंक आवश्यक देखिएको छ। सिजनको अन्तिम खेल घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार वुल्भ्सविरुद्ध बराबरी या जितले चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनेछ। ‘अबको अवस्थाका बारेमा जानकार छौं,’ फ्रान्क लाम्पार्डले भने, ‘निकै राम्रो टोली वुल्भविरुद्ध राम्रो नतिजा निकाल्न आफ्नो प्रदर्शनमा पनि भर पर्दछ।’ चेल्सीले आगामी सिजन आफ्नो अग्रपंक्तिमा धेरै सुधार गर्दा टिमो वेर्नेर र हाकिम जियचलाई अनुबन्धित गरेको छ।

त्यस्तै चेल्सी लेभेरकुसनका काई हाभाज्र्टलाई ९० मिलियन युरोमा अनुबन्धनजिक रहेको रिपोर्ट सार्वजनिक भएको छ। यस सिजन अवे मैदानमा एक मात्र क्लिन स्विप गरेका लाम्पार्डले त्यसको सुधार पनि खोज्नुपर्छ र साथै चेल्सीले यस सिजन ५४ गोलसमेत बेहोरेको छ। लिभरपुलविरुद्ध पनि चेल्सीले ४३ मिनेटभित्र तीन गोल बेहोर्दा नेबी केइटा, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र जर्जिनिओ विज्नाल्डमले गोल गरेका थिए। रोबर्टो फिर्मिनोले एन्फिल्डमा यस सिजनको पहिलो गोल गरेसँगै लिभरपुल बलियो स्थितिमा पुगेको थियो।  

यद्यपि, त्यसअघि पहिलो हाफको थपिएको समयमा ओलिभर जिरौडले गोल गर्दै लिभरपुलसँगको दूरी घटाएका थिए। लाम्पार्डले लयमा रहेका क्रिस्टियन पुलिसिकलाई सुरुआतमा बेन्चमा राख्दै आश्चर्यजनक निर्णय गरेका थिए। तथापि पुलिसिकसँगै ट्यामी अब्राहम र कलुम हडसन ओडोई आएसँगै चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो। अब्राहम र पुलिसिकले गोल गर्दै लिभरपुलसँगको दूरी ४–३ ले छोट्याएका थिए। तर, च्याम्बरलिनले गोल थप्दै चेल्सीको लक्ष्य पूरा हुन दिएनन् र घरेलु मैदानमा लिभरपुललाई सिजनको सुखद अन्त्यतर्फ डो-याए। 

प्रकाशित: ९ श्रावण २०७७ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App