coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गोलकिपरको प्रदर्शनबाट सोल्सजायर असन्तुष्ट

डेविड डे हेया

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले एफए कपको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि आगामी खेलमा आफ्ना गोलकिपर डेविडको स्थान सुरक्षित नभएको बताएका छन्।

युनाइटेडका गोलकिपर डे हेयाको लगातार गल्तीका कारण आइतबार राति एफए कप सेमिफाइनलमा चेल्सीसँग ३–१ ले स्तब्ध भएपछि प्रशिक्षक सोल्सजायरले आगामी खेलमा उनको स्थान सुरक्षित हुन नसक्ने बताएका हुन्। चेल्सीले एफए कपको उपाधिका लागि लन्डन प्रतिद्वन्द्वी आर्सनलसँग आगामी अगस्ट १ मा चुनौती प्रस्तुत गर्नेछ। वेम्बली स्टेडियममा डे हेयाको लगातार गल्तीका कारण पनि चेल्सीले सहजै उपाधि भिडन्त तय गरेको थियो। पहिलो हाफमा ओलिभर जिरौडको सट प्रहारलाई स्पेनिस गोलकिपर डे हेयाले फितलो बचाउ गर्दा गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा पनि डे हेयाले पुनः गल्ती दोहो¥याउँदा चेल्सीका मेसन माउन्टको प्रहार निकै फितलो बचाउ गरेका थिए। युनाइटेडका कप्तान ह्यारी माागुइरेको आत्मघाती गोल  पनि डे हेयाको ढिला प्रक्रियाको कारण थियो। ब्रुएनो फर्नान्डेजले खेलको अन्ततिर पेनाल्टी अवसरमार्पmत गोल फर्काए पनि सबै प्रतियोगितामा गरेर युनाइटेडको अपराजित यात्रा १९औं खेलमा पूर्णविराम लाग्यो। ‘उनलाई पनि थाहा छ, त्यो उनले बचाउ गर्न सक्दथे,’ सोल्सजायरले भने, ‘डे हेयाको आत्मविश्वासबारे कुराकानी गर्न चाहन्नँ तर मानसिक रूपमा उनी निकै बलिया थिए। त्यसैले उनलाई खेलाउने मेरो निर्णय थियो र उनी पनि पूर्णरूपमा तयार थिए।’

आगामी बुधबार युनाइटेडले प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध खेल्दै छ। युनाइटेडका लागि निकै महत्वपूर्ण रहेको खेलको पोस्ट जिम्मेवारी डे हेयाको स्थानमा सर्जियो रोमेरोलाई दिन सक्ने अनुमान पनि गरिएको छ। यद्यपि, सोल्सजायरले आफ्ना स्टार खेलाडीलाई मैदानबाहिर राख्ने सम्भावना न्यून छ। ‘डेविडलाई थाहा छ, दोस्रो गोल उनले सहजै बचाउन सक्थे। तर,जे भए भइसकेका छन् र हामी आगामी बुधबारको खेलका लागि तयारीमा हुनेछौं,’ सोल्सजायरले भने, ‘डेविडले यस सिजनका बाँकी खेलमा राम्रो गरेका छन्।’  

युनाइटेडमा डे हेयाको भविष्य अन्योल पनि बन्न सक्नेछ। युनाइटेडबाट लोनमा यस सिजन सेफिल्ड युनाइटेड गई उत्कृष्ट प्रदर्शन गरेका डिन हेन्डरसन फर्किन सक्ने भएकाले उनको भविष्यमा प्रश्नचिह्न लागेको छ ।

त्यसै पनि सोल्सजायरले हेन्डरसनलाई भविष्यमा इङ्ल्यान्डको नम्बर एक गोलकिपर बन्ने सक्ने भन्दै तारिफ गरिसकेका छन्। त्यसैले हेन्डरसन ओल्ड ट्राफोर्ड क्लब फर्किए कुनै आश्चर्यको निर्णय हुन सक्नेछैन। डे हेयाका लागि खराब दिन बनेको खेलमा चेल्सीले सफलता निकाल्दै सन् २०१८ पछि एफए कपको उपाधि जितेयता पहिलो पटक फाइनलमा प्रवेश गरेको छ। युनाइटेडले यस सिजन चेल्सीलाई तीन पटक पराजित गरेको छ, तर महत्वपूर्ण समयमा लाम्पार्डले बाजी मार्न सफल भए।

‘सेमिफाइनलमा जित्नु भनेको महत्वपूर्ण कुरा हो, तर फाइनल पनि जित्नु त्योभन्दा पनि महत्वपूर्ण हो,’ लाम्पार्डले भने, ‘आजको खेल र प्रदर्शनबाट निकै खुसी हुनुपर्छ।’ पहिलो हाफको इन्जुरी समयमा जिरौडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए र उनले पछिल्ला पाँच खेलमा चौथो गोल पूरा गरे। एज्पिलिक्वेटाको लो क्रसलाई नियन्त्रणमा लिँदै जिरौडले गोल गरेका थिए। दोस्रो हाफमा माउन्टले गोल गर्दै अग्रता दोब्बर बनाउँदा युनाइटेडका कप्तान मागुइरेको आत्मघाती गोलबाट चेल्सीले ३–० को अग्रता लिएको थियो। अन्तिम समयमा पेनाल्टीमार्फत् ब्रुनोले गोल गरे पनि युनाइटेडको हार टार्न सकेनन्। 

प्रकाशित: ६ श्रावण २०७७ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App