१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पसालिचको ह्याट्रिक

मारियो पसालिच

मारियो पसालिचले ह्याट्रिक गरेपछि ब्रेसियामाथि ६–२ को फराकिलो जित निकालेको एट्लान्टा मंगलबार इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ।

पछिल्ला १३ खेलमा अपराजित रहेको जियान पिएरो ग्यास्पेरिनीको टोली एट्लान्टाले शीर्ष स्थानको युभेन्ट्ससँग दूरी घटाएको हो। एक खेल कम खेलेको युभेन्ट्स ३२ खेलबाट ७६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा उक्लिएको एट्लान्टाले ३३ खेलबाट ७० अंक बनाएको छ। मंगलबारको नतिजापछि तालिकामा समान ६८ अंक जोडेका इन्टर मिलान र लाजियो एट्लान्टाभन्दा दुई अंकले पछि क्रमशः तेस्रो र चौथो स्थानमा छन्। पाँचौं स्थानको रोमाको ३२ खेलबाट ५४ अंक छ।  

ग्यास्पेरिनीको टोली एट्लान्टाले जारी सिजनमा ९३ गोल पूरा गरेको छ। ८ पटक च्याम्पियन बनेको युभेन्ट्सको जारी सिजनमा ६७ गोल रहेको छ। एट्लान्टाको २६ गोल बढी हो। आधा दर्जन गोलको वर्षा भएको खेलमा आफ्नो टोलीले स्वाभाविक खेल देखाएको एट्लान्टाका प्रशिक्षक ग्यास्पेरिनीले बताए।  

‘प्रतिद्वन्द्वीको अपमान गर्न खोजेका होइनौं। हामीले आफ्नो स्वाभाविक खेल देखाएका हौं,’ एट्लान्टाका प्रशिक्षक ग्यास्पेरिनीले भने, ‘अघिल्लो सिजन हामी आक्रामक खेल खेल्ने टोलीको रूपमा परिचित भएका थियौं। अहिलेको सिजन आक्रामक रणनीतिलाई कायमै राख्दै धेरैभन्दा धेरै खेलाडीबाट गोल गर्ने लक्ष्य राखेका थियौं।’

‘च्याम्पियन्स लिग खेल्दा खेलाडीको प्रदर्शन बढेको छ,’ पेरिस सेन्ट जर्मन (पिएसजी) सँग च्याम्पियन्स लिगअन्तर्गत अन्तिम आठमा प्रतिस्पर्धा गर्ने टोलीका एट्लान्टा प्रशिक्षक ग्यास्पेरिनीले थपे, ‘अहिले हामी पिएसजीसँग खेल्ने तयारी गरिरहेका छौं।  सँगै इटालियन सिरी ‘ए’ लक्ष्य भने यथावत् नै छ।’

छिमिकी सहरका यी प्रतिद्वन्द्वी एट्लान्टा र १९औं स्थानको कोरोना भाइरसको महामारीपछि पहिलो पटक आमने सामने भएका हुन्। १७ गोल जारी सिजनमा गरेर सर्वाधिक गोलकर्ताको सूचीमा रहेका लुइस मुरियलको टोली एट्लान्टाले पाहुना टोलीविरुद्ध दोस्रो मिनेटमा नै गोलको खाता खोलेको थियो। पसालिचले खाता खोल्दा ५५औं र ५८औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। त्यसअघि पाहुना टोली ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। मार्टन डी रुनले २५औं र रुस्लान मालिनोवस्कीले २८औं मिनेटमा एटलान्टाका लागि गोल गर्दा डुवान जापताले ३०औं मिनेटमा एक गोल थपेका थिए। खेल सकिन ७ मिनेट बाँकी रहदाँ निकोलस स्पालेक्सले पाहुना टोलीका लागि दोस्रो गोल गर्दै अग्रता घटाएका थिए। बाँकी समयमा थप गोल हुन सकेन र एट्लान्टाले फराकिलो जित निकाल्न सफल भयो।

प्रकाशित: १ श्रावण २०७७ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App