२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

उसु खेलाडी वीरमानलाई श्रद्धाञ्जलि

उसु खेलाडी वीरमान वाइबालाई सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्चपदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए। सो अवसरमा नेपाली सेनाले श्रद्धाञ्जलि सभामा अन्तिम सलामी दिएको थियो। वीरमान नेपाली सेनामा आबद्ध थिए।

वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। २०५० सालमा जन्मिएका वीरमान उसु खेल्नुअघि क्योकुसिन करातेका खेलाडी हुन्। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ। इन्डोनेसियामा सम्पन्न गत १८औं एसियाडमा वीरमान सान्सौंतर्फ उसुको राष्ट्रिय टोलीमा थिए। तर ढाडको नशा समस्या भएपछि उनको सहभागिता अन्योलता भएको थियो। तथापि अन्तिम ६ महिनामा रिकभर हुँदा उनी इन्डोनेसिया पुगे पनि प्रतिस्पर्धा गर्न असफल भएका थिए।  

उसु महासंघका उपाध्यक्ष राजीव महर्जनले वीरमानको पोस्टमार्टम रिपार्ट आउन बाँकी रहेको उनको परिवारले उल्लेख गरेको बताए। ‘वीरमान क्योकुसिन र उसुका निकै उत्कृष्ट खेलाडी थिए। उनी राम्रा खेलाडीका साथै असल र सहयोगी मानिस थिए। पछिल्ला केही महिना उनी ब्रेन ट्युमरलगायत विरामीका लागि सहयोग गरिरहेका थिए। उनको अचानक मृत्यु सामना गर्दा अचम्मित छौं र नेपाली खेलकुदले राम्रो खेलाडी गुमाउनुपरेको छ,’ राजीवले भने। 

प्रकाशित: १६ असार २०७७ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App