१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शीर्ष स्थानमा फर्कियो बार्सिलोना

तालिकाको १०औं स्थानमा रहेको एथलेटिक बिलबाओमाथि संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।  

मंगलबार बार्सिलोनाले बिलबाओलाई १–० ले हराउँदै पहिलो स्थानमा उक्लिएको हो। रियाल मड्रिडभन्दा एक खेल बढी खेलेको बार्सिलोनाले २४ घण्टा शीर्ष स्थानमा उक्लिएको रियाललाई पछि पारेको हो। जितसँगै बार्सिलोनाले रियालसँगको अंकदूरी ३ बनायो। जितपछि बार्सिलोनाको ३१ खेलबाट ६८ अंक भएको छ। एक खेल कम खेलको रियालको ६५ अंक छ। पराजित बिलबाओ ४२ अंकका साथ दशौं स्थानमा छ।  

७१औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका इभान राकिटिचले गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि बलले गोलको दिशा लिन सकेन। बार्सिलोना स्तरीय खेल देखाउन असफल देखिएको थियो। जसका कारण कप्तान लियोनल मेसी चिन्तित देखिएका थिए। अघिल्लो खेलमा टोली सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो। जुन खेल बार्सिलोनाका लागि निकै महँगो हुन पुग्यो। बुधबार हुने खेलमा रियालले नवप्रवेशी टोली मालोर्कालाई पराजित गरेको खण्डमा पुनः शीर्ष स्थानमा फर्किनेछ। बार्सिलोनाले निकालेको संघर्षपूर्ण जितपछि रियालका प्रशिक्षक जिनेदिन जिदानलाई दबाब पुगेको छ। शीर्षता कायम राख्न रियाललाई जित आवश्यक छ। घरेलु मैदानमा सहज रूपमा खेल्दा जित निकाल्न कठिन भएको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले प्रतिक्रिया दिए।  

‘खेलअवधिभर नतिजा निकाल्न कठिन महसुस भयो,’ बार्सिलोनाका प्रशिक्षक सेटियनले भने, ‘खेलाडीमा केही तालमेलको अभाव पनि देखिएको थियो। सामान्यभन्दा सामान्य गल्ती खेलाडीमा देखियो। पहिलो हाफमा कठिन भए पनि दोस्रो हाफमा लय लिन सक्यौं।’  

करियरको ७ सय गोल पूरा गर्ने संघारमा रहेका मेसी खेल अवधिभर चिन्तित देखिएका थिए। यसै सिजन क्लब छोड्ने संघारमा रहेका राकिटिचले क्लासिको भिडन्तपछि बार्सिलोनाका लागि गरेको यो पहिलो गोल हो।

‘हामी कठिन परिस्थितिबाट गुज्रिरहेका छौं। यस्तो बेलामा सबैले समन्वय गरेर अगाडि बढ्नुपर्छ,’ निर्णायक गोल गरेका राकिटिचले भने, ‘महŒवपूर्ण गोल थियो र निकै प्रतिस्पर्धात्मक खेल पनि रह्यो। तीन अंक खोस्न हम्मेहम्मे भयो।’  

ला लिगामा विजयी बार्सिलोनाले शनिबार सेल्टी भिगोको सामना गर्नेछ। भ्रमण गर्ने टोली बार्सिलोनाका सर्जियो बुस्केटले लगातारका खेलमा पहेंलो कार्ड पाएकाले  खेल गुमाउनेछन्। 

प्रकाशित: ११ असार २०७७ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App