coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

उपाधिहोड अझै रोमाञ्चक

गोलअन्तरले उछिन्दै रियाल शीर्षमा

सर्जियाे रामाेस

रियाल सोसिडाडको मैदानमा आइतबार २–१ को जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।  

साबिक विजेता बार्सिलोनालाई गोलअन्तरले उछिन्दै रियाल शीर्ष स्थानमा उक्लिएको हो। यससँगै ला लिगामा आठौं चरणका खेल बाँकी रहँदा उपाधिहोड थप रोमाञ्चक बनेको छ। कोरोना भाइरसका कारण स्थगित भएपछि सुचारु भएको लिगमा रियालले हात पारेको यो लगातार तेस्रो सफलता हो। यसअघि रियालले एइबर र भ्यालेन्सियामाथि घरेलु मैदानमा क्रमशः ३–१ र ३–० को जित निकालेको थियो।  

आइतबार भ्रमणकारी टोली रियाललाई जित निकाले पनि भरपर्दा खेलाडी सर्जियो रामोसको चोटले भने चिन्तित बनाएको छ। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा आक्रामक देखिएको रियालले घरेलु टोली सोसिडाडविरुद्ध ५०औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो। भिनसियस जुनियरलाई सोसिडाडका डिएगो लोरेन्टोले पेनाल्टी क्षेत्रभित्र खराब  फाउल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई रामोसले कुनै गल्ती नगरी सदुपयोग गरे। ६८औं मिनेटमा सोसिडाडका अदुनान जुनुजाले गोल गर्दै अग्रता छोट्याउने प्रयास गरे पनि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगमा मान्यता दिएनन्। त्यसको दुई मिनेटमा रियालका लागि करिम बेन्जेमाले गोल गर्दै अग्रता २–० मा पु-याए। घरेलु मैदानमा पछि परेको अवस्थामा सोसिडाडले आक्रामक खेल्दै ८३औं मिनेट अग्रता छोट्यायो। मिकेल मेरिनोले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए।

जित निकालेको रियाल ३० खेलबाट ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा समान अंक भएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ।

रियाललाई पेनाल्टीबाट अग्रता दिलाएका रामोसले जारी सिजनमा लगातार पेनाल्टीबाट २०औं गोल पूरा गरेका छन्। रामोस  रक्षापंक्तिमा खेल्ने खेलाडीमध्ये सबैभन्दा धेरै ६८ गोल पूरा गर्ने ला लिगाका पहिलो खेलाडीसमेत बनेका छन्। यसअघि रेकर्ड नेदरल्यान्ड्सका रोनाल्ड कोइमनको नाममा छ।  

‘रामोस विश्वका सबैभन्दा उत्कृष्ट रक्षक हुन्,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘पछिल्ला वर्षहरूमा उनले प्राप्त गरेका उपलब्धि सबै सम्झनलायक छन्।’

तर रामोसले अग्रता दिलाएको १० मिनेटपछि घुँडाको चोटका कारण मैदान बाहिरिनुपरेको थियो, जुन रियालका लागि निकै टाउको दुखाइको विषय भएको छ। रामोसले खेलाडी रहने स्थलमा आई बायाँ खुट्टामा पट्टी लगाएर बाँकी खेल हेरेका थिए।  

‘टोलीलाई रामोसको चोटले निकै चिन्तित बनाएको छ। तर कठिन नहुने विश्वास लिएका छौं,’ रियालका प्रशिक्षक जिदानले थपे।  

लिगअन्तर्गत सोमबारै सम्पन्न अन्य खेलमा भ्यालेन्सियाले भ्रमणकारी टोली ओसासुनालाई २–० ले स्तब्ध बनाउँदा सेल्टा भिगोले डिपोर्टिभो अल्भेजलाई ६–० को फराकिलो अन्तरले हरायो।  

जित निकालेको रियाल ३० खेलबाट ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा समान अंक भएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ। एट्लेटिको मड्रिड समान ३० खेलबाट ५२ अंकका साथ तेस्रो स्थानमा छ। समान अंक भएको सेभिया चौथो र गेटाफे ४८ अंकका साथ पाँचौं स्थानमा छन्।
एएफपी

प्रकाशित: ९ असार २०७७ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App