१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सागर थापालगायतलाई सर्वाेच्चको सफाइ

सत्यको जित भयो, सम्मानित सर्वोच्च अदालतबाट पनि न्याय पाइएकोमा आज समय, मिहिनेत, परिश्रमको मूल्याङ्कन कसले गर्दिने, सरकारले, एन्फाले ? राज्यविरुद्धको अभियोग खेलमिलेमतोमा सफाइ पाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले यसरी सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरे । मंगलबार राष्ट्रिय टोलीका पूर्वकप्तान थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।  

खेलमिलेमतोको आरोपमा राज्यविरुद्धको अभियोग मुद्दा लागेका राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागरसहित उपकप्तान सन्दीप राई, रीतेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र फिजिरोथेरापिस्ट डेविस थापाले मंगलबार सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् ।  

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले यसअघि विशेष अदालतले गरेको निर्णय सदर गरेको हो । फैसलाको पूर्ण पाठ भने आएको छैन ।

यसअघि विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले २०७५ जेठ २४ गते राज्यविरुद्धको अभियोग मुद्दामा उनीहरू ६ जनालाई दोषी ठहर गर्ने आधार नभेटिएको भन्दै खेलमिलेमतो मुद्दामा सफाइ दिएको थियो । विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० मा पुनरावेदन गरेको थियो ।

उनीहरू ६ जनालाई खेलमिलेमतोको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २०७२ असोज २७ मा पक्राउ गरेको थियो भने कात्तिक २२ मा ६ जनाले राज्यविरुद्धको अभियोग गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । साथै उनीहरूविरुद्ध एएफसीको अनुशासन समितिले पनि यही आरोपमा आजीवन प्रतिबन्ध लगाएको थियो । त्यसैले अदालतबाट क्लिन चिट पाए पनि उनीहरूविरुद्ध एएफसीको आजीवन प्रतिबन्ध भने कायमै छ ।

प्रकाशित: ३ असार २०७७ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App