८ वैशाख २०८१ शनिबार
खेल

‘सोल्सजायरको नतिजा राम्रो’

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी पिटर स्केमिचेलले आफ्ना टोलीका पूर्वसहकर्मी तथा हालका  प्रशिक्षक ओले गनर सोल्सजायरले आफूहरूको अनुमानभन्दा धेरै राम्रो नतिजा दिएको बताएका छन् ।

डिसेम्बर २०१८ मा युनाइटेडमा जोजे माउरिन्होको स्थानमा अन्तरिम प्रशिक्षकको रूपमा आएका सोल्सजायरले ओल्ड ट्राफोर्र्डमा ११ सिजन व्यावसायिक खेलजीवन बिताएका थिए । युनाइटेडमा पहिलो सिजन अन्तरिम प्रशिक्षक रहँदा टोलीले १९ मध्ये १४ खेलमा सुखद नतिजा ल्याएसँगै उनले गत मार्चमा पूर्ण रूपमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

तर त्यसपछि भने उनको टोलीले एकरूपको प्रदर्शन गर्न सकिरहेको छैन । कोरोना भाइरसको महामारीका कारण सिजन रोकिनुअघि युनाइटेड प्रिमियर लिगको पाँचाै‌ स्थानमा छ भने युरोपा कपको पनि अन्तिम १६ सम्मको यात्रा कायम गरेको छ । तर प्रशिक्षण सम्हाले पनि सर एलेक्स फर्गुसनको जस्तो टोलीलाई उचाइमा पुर्याउन नसकेको भन्दै सोल्सजायरको चर्को आलोचना भएको थियो । स्केमिचेलले क्लबमा भएको प्रतिभा सोल्सजायरले उचित प्रयोग गरेको भन्दै उनको प्रशंसा गरेका थिए ।

‘सोल्सजायरले उत्कृष्ट काम गरिरहेका छन् । उनले सोचेभन्दा धेरै सुधारिएको नतिजा दिइरहेका छन् । छोटो समयमा उनले दिलाएको सफलता प्रशंसनीय छ,’ स्केमिचेलले भने, ‘उनले क्लब प्रशिक्षण सम्हालेको धेरै वर्ष भएको छैन । फर्गुसन, डेभिस मोइस र माउरिन्होपछि उनले क्लब प्रशिक्षण सम्हालेका हुन् र उनीसँगै विगतका प्रशिक्षकसँग भएका खेलाडी छन् । 

सबै खेलाडीको क्षमता फरक छ र प्रशिक्षकको प्रशिक्षण पनि । मलाई लाग्छ सोल्सजारले अझै आफूले सोचेजस्तो टोली तयार पार्न धेरै समय पाएका छैनन् । उनको प्रशिक्षणमा टोलीले गरेको प्रदर्शन निकै राम्रो छ । उनले टोलीमा भएका खेलाडीको क्षमता बुझ्न समय खर्चने हो भने पक्कै पनि टोलीको प्रदर्शन धेरै माथि जानेछ ।’

‘सोल्सजायरले उत्कृष्ट काम गरिरहेका छन् । उनले सोचेभन्दा धेरै सुधारिएको नतिजा दिइरहेका छन् । छोटो समयमा उनले दिलाएको सफलता प्रशंसनीय छ ।’

मिडफिल्डर फ्रेडको प्रदर्शनमा सुधार आउनु पनि सोल्सजायरको एउटा सफलता भएको स्केमिचेलको बुझाइ छ । सन् २०१८ मा साख्तर डोनेन्टक्सबाट युनाइटेडमा आएका फ्रेडले त्यसयता सुधारिएको प्रदर्शन गर्दै आएका छन् ।

‘सोल्सजायर आएपछि खेलाडीहरूले पनि सुधारिएको प्रदर्शन गरिरहेका छन् । उनीहरूले आफ्नो क्षमता थाहा पाउन थालेका छन्,’ उनले भने, ‘यसले पनि सोल्सजायरको आत्मविश्वास बढाएको हुनुपर्छ ।’

पिटर स्केमिचेल र सोल्सजायरले सन् १९९६ देखि  १९९९ गरी कुल ३ सिजन युनाइटेडबाट सँगै खेलेका थिए । उनीहरू क्लबमा व्यावसायिक खेलाडीका रूपमा रहँदा टोलीले ११ पटक प्रिमियर लिगको उपाधि जितेको थियो भने १९९९ मा एकै सिजन च्याम्पियन्स लिगसहित तेहेरो उपाधि जित्दा टोलीका प्रमुख खेलाडी थिए ।

स्केमिचेलले फर्गुसनको समयमा जस्तो युनाइटेडले सफलता भने हात पार्न नसकेको स्वीकार गरे ।

‘टोलीका लागि अहिले प्रिमियर लिग जित्नुभन्दा पनि शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुन समेत  संघर्ष गर्नुपरेको छ,’ उनले भने, ‘तर यसको अर्थ टोली च्याम्पियन्स लिगमा छनोट नहुँदैमा कुनै भूकम्प भने जाँदैन । यो सिजनको कमजोरी सुधार गर्दै अर्को सिजन थप सुधारिएको प्रदर्शन गर्न भने आवश्यक छ ।’

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App