६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

निःशुल्क जग्गा दिँदा पनि बजेट पाईएन

जनताले निःशुल्क जग्गा दिएपछि फिदिम–५ सरसीउलामा सम्माईएको खेल मैदान । तस्बिर :गिरिराज बाँस्कोटा

जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको खेल मैदान बनाउन जग्गा अभाव भएपछि फिदिम–५ को सरसीउला भन्ने ठाँउका बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरे । व्यवस्थीत रङ्गशाला बनाउनका लागि यहाँको उत्पादन योग्य जमिन स्थानीयले सरकारको नाममा पास गरीदिए । तर अहिले आएर व्यवस्थीत रङ्गशाला बनाउनका लागि बजेट नआएको भन्दै उनीहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

फिदिम बजारमा रहेको फिदिम माविकै खेल मैदान बनाउन ठेक्का खुलेको भन्दै उनीहरुले आफूहरुलाई ओझेलमा पारेको गुनासो गरेका छन् । ‘११ साईडको फुटबल खेल्न मिल्ने गरी व्यवस्थीत खेल मैदान बनाउने प्रस्ताव गरेपछि जग्गा दिइएको थियो । अहिले फिदिम माविको नाईन साईटको खेल मैदान बनाउन ठेक्का खुलाईयो । तर हामीलाई वास्ता गरीएन’ जग्गा दाता तथा उपभोक्ता समितिका सचिव गगन लावतीले भने ‘हिजो यहाँका जनप्रतिनिधि, राजनीतिक दल, खेलकुद क्षेत्रका सरोकारवालाको उपस्थीतिमा जग्गा दिएका थियौँ । अहिले यो ठाँउको खेलमैदानलाई ओझेलमा पार्न खोजीयो । केन्द्रीकृत मानसिकता देखियो । ’

पाँचथर सदरमुकाम आसपासमा जग्गाको अभाव भएको बेला जिल्लाकै प्रतिष्ठाको रुपममा फुटवलको खेलमैदान बनाउने जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले भनेपछि स्थानीयले धान, मकै मनग्य फल्ने खेत खेतबारी उपलब्ध गराए । ६१ रोपनी जग्गा पास भईसेकेको छ, अझै चार रोपनी जग्गा पास गर्न लकडाउनले रोकेको जग्गादाता तथा जग्गा प्राप्ती समितिका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिए । ‘जति जग्गा आवश्यक पर्छ त्यति दिन्छौँ भनेर हामीले प्रतिवद्धता समेत जनाएका छौँ । तर हामीलाई प्राथमिकतामा राखिएन’ उनले भने ‘यहाँ भन्दा दुखद् के हुन्छ होला र?’

फिदिममा ११ साईडको फूटबल खेलाउन खेलमैदान छैन् । फिदिम बजारमा भएको फिदिम माविको खेलमैदान सानो छ । यहि मैदानमा पूर्वाधार विकास गर्न ठेक्का खुलेको छ । फिदिममा खेलमैदानका लागि पर्याप्त जग्गा नभएपछि जग्गा खोजिएको थियो । स्थानीयबासीले जग्गा उपलब्ध गराएपछि नयाँ सरह आयोजना कार्यालय मार्फत सम्याउने काम भएको थियो । ३१ रोपनी क्षेत्र सम्याउने काम बाहेक बाँकी काम अधुरै छ । प्याराफिटसहित अन्तराष्ट्रिय स्तरको रङगशाला बनाउने भनिएपछि स्थानीयमा खुसी छाएको थियो ।  

गाउँमा विकास हुन्छ भनेर खाई नखाई जोगाएको जग्गा दिँदा पनि सरकारी प्राथमिक्तामा नपरेको भन्दै गुनासो गरेका छन् । सरकारको ध्यान नपुगे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । ‘खाई नखाई जोडेर जग्गा सरकारलाई पास गर्दा पनि बेवास्ता हुनु दुखद् छ । जिल्लास्तरमै यहाँ खेलमैदान बनाउने भन्ने भएको थियो’ जग्गादाता राम तामाङले भने ‘सरकारले पर्याप्त बजेट छुट्याएर काम अघि नबढाए आन्दोलनको विकल्प छैन । ’

सदरमुकामा फिदिममा अन्तराष्ट्रिय मापदण्डको ११ साईटको फुटवल खेलमैदानको अभाव रहेको छ । सदरमुकाममा रहेको फिदिम माविको खेल मैदान पनि सानो रहेको छ । सदरमुकाममा जग्गा किन्न समेत अत्यन्त महंगो पर्छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App