१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रतिबन्धविरुद्ध सिटीको सुनुवाइ सोमबारबाट

इङ्लिस प्रिमियर लिग साबिक विजेता म्यानचेस्टर सिटीले आफूमाथि युरोपेली प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्धविरुद्ध दर्ता मुद्दामा सोमबारबाट कोर्ट अफ आर्बिटेसन फर स्पोटर्स (सिएएस) मा सुनुवाइ सुरु हुने भएको छ ।

सन् २०१२ देखि २०१६ सम्म सिटीले युइएफएको फाइनान्सियल फेयर प्ले (एफएफपी) को नियमविपरीत गएको भन्दै सिटीमाथि दुई वर्ष युरोपेली प्रतियोगितामा सहभागी हुन प्रतिबन्ध लगाउनुका साथै  ३० मिलियन युरो जरिवानाको सजाय सुनाएको थियो ।

शेख मन्सुरले क्लब किनेपछि सिटीले सफलता चुम्न थालेको थियो । यस क्रममा सिटीले पछिल्लो ८ वर्षको अन्तरमा ४ पटक प्रिमियर लिग उपाधि जितिसकेको छ । यद्यपि स्टार खेलाडी भित्र्याउन महँगो रकम खर्चिए पनि सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेको छैन ।

अपिलका बारेमा कोर्टले जे निर्णय गरे पनि सिटीले अगस्टमा पुनः सुचारु हुने यस सिजनको च्याम्पियन्स लिगमा अझै प्रतिस्पर्धा गर्न पाउनेछ । तर युरोपेली प्रतियोगितामा लगाइएको दुई सिजनको प्रतिबन्ध भने सिटीका लागि महँगो साबित हुन सक्छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका साथै स्टार खेलाडी केभिन डी ब्रुयना र रहिम स्टर्लिङको भविष्यसमेत अनिश्चित हुने अनुमान गरिएको छ ।

‘दुई वर्षको प्रतिबन्ध निकै लामो हो । एक वर्ष वा त्योभन्दा केही महिनाको प्रतिबन्ध भएमा हामी केही सोच्न सक्छौं,’ डी ब्रुयनाले गत महिना भनेका थिए । सिटीले गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा गर्दा पुरस्कार र टेलिभिजन राइटबाट मात्र ९३ मिलियन युरो आर्जन गरेको थियो ।

सिटीले भने युइएफएले लगाएको आरोपको खण्डन गर्दै आएको छ । ‘यो हामीमाथि साधिएको राजनीतिक प्रतिशोध मात्र हो,’ सिटीका सिइयो ग्रुप फेरान सोरियानोले भनेका छन् । कोरोना भाइरसको महामारीका कारण सुनुवाई सोमबारबाट बुधबारसम्म भिडियो कन्फरेन्समार्फत हुनेछ ।

सिएएपका महासचिव माथियु रेबले अहिले कुनै निर्णय नभएमा जुलाईमा अन्तिम फैसला आउने बताएका छन् । सिएएसमा गरेको अपिल असफल भएमा सिटीले स्विस फेडरल कोर्टमा अपिलको अवसर पाउनेछ ।

सिटी अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ र टोलीले पाँचाैं स्थानको म्यानचेस्टर युनाइटेडमाथि १२ अंकको अग्रता लिएको छ । सिटीमाथिको प्रतिबन्ध अपिलपछि पनि कायम रहे पाँचाैं स्थानको टोली स्वतः अगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

कोरोना भाइरसको महामारीपछि रोकिएको प्रिमियर लिग जुन १७ बाट पुन सुचारु हुँदै छ । प्रिमियर लिगमा अन्तिम ९ चरणका खेल बाँकी छन् । योर्गान क्लोपको टोली लिभरपुल शीर्ष स्थानमा रहँदै ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने संघारमा छ । स्टार खेलाडी भित्र्याउन महँगो रकम खर्चिए पनि सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेको छैन ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App