१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अभिव्यक्ति विवादमा एन्फा अध्यक्ष

संसद्मा कारबाहीको माग

केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई एक अनलाइनसँगको प्रत्यक्ष कुराकानीका क्रममा दिएको अभिव्यक्तिले  विवादको भुमरीमा धकेलेको छ ।

शेर्पाले नेपाल आर्मीसँगको सहकार्यमा सप्तरी, धनुषा, सिराहा र महोत्तरीमा ग्रासरुटको कार्र्यक्रम सञ्चालन गर्न लागेको उल्लेख गर्दै यसको मुख्य उद्देश्य भनेको तराईका बालबालिकालाई फुटबल खेलतर्पm आकर्षित गर्ने र अर्को राष्ट्रियता सिकाउनका लागि भएको बताएपछि उनी विवादमा तानिका थिए । पछिल्लो केही दिनयता निरन्तर उनीमाथि कारबाहीको माग भइरहेको छ । एन्फा कार्यसमितिको बैठकमा समेत उनले फिफा, एएफसी र एन्फा विधानविपरीत अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरिएको थियो ।

यस विषयमा अध्यक्ष शेर्पाले भने आफ्नो उद्देश्य मधेसी समुदायलाई होच्याउने वा ठेस पु¥याउने नभएको उल्लेख गर्दै माफी मागिसकेका छन् । माफी मागे पनि उनी यो विवादबाट पन्छिनेभन्दा पनि थप दबाबमा पर्ने देखिएको छ । यो विवाद अघिदेखि नै शेर्पामाथि विभिन्न किसिमका आरोप लगाउँदै आएका एन्फा उपाध्यक्ष पंकज नेम्बाङ पनि यस विषयमा  शेर्पाको विपक्षमा उभिएका छन् । केही दिनअघि मात्र एन्फा उपाध्यक्ष पंकज नेम्बाङ र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले शेर्पाको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै फिफा र एएफसीमा कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका थिए ।

तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचार आरोप लगाउँदै एन्फाको परिवर्तनमा सारथि बन्दै आएका नेम्बाङसहित अन्य कयौं फुटबलकर्मीले वर्तमान अध्यक्ष शेर्पाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आइरहेका छन् । जसका कारण लामो समयको विवादबाट माथि उठ्ने प्रयास गरेको एन्फा पुनः विवादमै धकेलिँदै गएको छ । पछिल्लो समय शेर्पाले दिएको अभिव्यक्ति नै विवादको थप बीज बनिरहेको छ । फुटबलको अन्तर्राष्ट्रिय प्रशासनिक निकायका साथै देशको संसद्सम्म शेर्पाको अभिव्यक्ति चर्चाको विषय बनिरहेको छ ।

प्रतिनिधि सभामा शुक्रबार पनि अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई अविलम्ब निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै संघीय समाजवादी फोरम नेपालका संसद प्रदीप यादवले एन्फा अध्यक्ष शेर्पाले मधेसीलाई राष्ट्रियता सिकाउने भन्दै दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले कारबाही प्र्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । अध्यक्ष शेर्पासँगै यस विवादमा अब खेलकुदमन्त्री जगतबहादर विश्वकर्मालाई समेत मुछिएको छ ।

‘मलाई यहाँसम्म पनि सुन्न आएको छ कि, खेलकसदमन्त्रीलाई एन्फाले पनि धेरै माया गरेको छ,’ यादवले भने, ‘एन्फाले उहाँलाई १७ करोड दिएको छ । त्यसकारण एन्फा अध्यक्ष शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिँदै मधेसीहरूलाई राष्ट्रियता आउँदैन र त्यो पनि सिकाउनुपर्छ भन्नुभयो । त्यो पनि सेनामार्फत । यस विवादमा उहाँले सेनालाई समेत मुछ्नुभएको छ ।’

‘मधेसीलाई राष्ट्रियता उहाँले सिकाउने हो ?’ आपत्ति जनाउँदै यादवले भने, ‘के मधेसीलाई राष्ट्रियता आउँदैन ? हामीले एन्फालाई सधैं सम्मान गर्दै आएका छौं । तर यस्तो मर्यादित ठाउँमा बसेर मधेसीलाई होच्याउने ? मधेसविरुद्ध यस्तो गलत अभिव्यक्ति दिने कर्माछिरिङ शेर्पाले कसको ताकतमा बोल्नुभयो  ? उहाँले पक्कै पनि खेलकुदमन्त्रीको ताकतमा यस्तो बोल्नुभएको होला ।’

यादवले राजनीतिक विवादमा नआएको सेनालाई समेत शेर्पाले विवादमा तानेको आरोप लगाए । ‘सेनालाई समेत उहाँले विवादमा तान्नुभयो । त्यस कारण त्यस्ता गलत अभिव्यक्ति दिने शेर्पालाई अविलम्ब निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ र कानुनी दायरामा ल्याउनुपर्छ । उहाँले देश टुक्राउने अभिव्यक्ति दिनुभएको छ,’ यादवले भने ।

एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो उद्देश्य मधेसी समुदायलाई होच्याउने वा ठेस पुर्याउने नभएको उल्लेख गर्दै माफी मागिसकेका छन् । माफी मागे पनि उनी यो विवादबाट पन्छिनेभन्दा पनि थप दबाबमा पर्ने देखिएको छ ।

एन्फा अध्यक्षविरुद्ध उजुरी

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाका विषयमा केन्द्रित रहेर चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई शुक्रबार पत्र बुझाएका छन् ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित कारबाही गरी पाऊँ भन्ने विषयको पत्र उपाध्यक्ष तिम्सिनालाई बुझाइएको हो । पत्र हस्तान्तरणका बेला भक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।

त्रिपुरेश्वरस्थित राखेपको आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकीकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App