६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रिमियर लिग, आजबाट सामूहिक अभ्यास अनुमति

इङ्लिस प्रिमियर लिग क्लबका खेलाडीहरूले मंगलबारबाट सामूहिक अभ्यास गर्न पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका फुटबल गतिविधि विभिन्न विकल्पका साथ सुचारु हुने क्रममा छन् । प्रिमियर लिगले जुन १२ मा लिग पुनः सुचारु गर्ने गरी तयारी गरिरहेको छ । सोमबार बसेको प्रिमियर लिग क्लबको बैठकले सानो समूहमा अभ्यास गर्न अनुमति दिने भएको हो । 

प्रिमियर लिगका २० वटै क्लबले अभ्यासको प्रस्तावमा समर्थन गरेका थिए । तर अभ्यासका क्रममा खेलाडीहरूले सामाजिक दूरीको नियम भने पालना गर्नुपर्नेछ । क्लबका खेलाडी, प्रशिक्षक र स्वास्थ्यकर्मीको रायका आधारमा निर्णय लिइएको प्रिमियर लिगले जनाएको छ ।

‘सबै खेलाडी अभ्यासमा सहभागी हुन पाउँछन् तर त्यसका लागि सरकारले बनाएको स्वास्थ्य तथा सामाजिक दूरीको निर्देशिका भने गम्भीर रूपमा पालना गर्नुपर्नेछ,’ प्रिमियर लिगले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै खेलाडी, प्रशिक्षक र मैदानका कर्मचारीको स्वास्थ्य पहिलो प्राथमिकता हो । त्यसैले स्वस्थ वातावरणमा बसेर अभ्यास गर्नुपर्नेछ । अहिले सुरुआती चरणमा सानो समूह बनाएर अभ्यास गर्नुपर्नेछ । अर्काे चरण केकस्तो हुनेबारे आगामी दिनमा निर्णय लिइनेछ ।’

त्यसका लागि खेलाडीहरूले घरबाटै मैदानमा अभ्यास पोसाक र आफ्नै गाडीमा जानुपर्नेछ । प्रिमियर लिगका २० मध्ये १४ क्लबको सहमतिपछि मात्र स्वास्थ्य र अभ्याससम्बन्धी निर्देशिका पारित हुने बताइएकोमा सबै क्लबले समर्थन गरेका हुन् ।

गत साता इङ्ल्यान्डको सरकारले सामाजिक दूरी कायम गर्दै फुटबल गतिविधि सुचारु गर्ने दिने संकेत गरेको थियो । तर बन्द रंगशालामा प्रिमियर लिग सुचारु हुने भनिए पनि त्यसमा धेरै कठिनाइ भने कायमै छ ।

प्रिमियर लिगले पनि क्लबहरूलाई सबै खेलाडीको कोरोना टेस्ट गर्न निर्देशन दिइसकेको छ । तर केही खेलाडीले भने मैदान फर्कनु खतरनाक बन्न सक्ने बताउँदै आएका छन् । प्रिमियर लिगले तीन चरण गरी जुन १२ सम्ममा लिग सचालन गर्ने योजना बनाएको छ । प्रिमियर लिगले न्युट्रल भेन्युको प्रस्ताव गरेको थियो ।

शनिबारबाट जर्मनीमा बुन्डेसलिगा सुचारु भइसकेको छ । आइतबार मात्र म्यानचेस्टर सिटीका रहिम स्टर्लिङले आफूहरूलाई प्रतियोगितामा फर्कनु घि ४ देखि ५ साताको अभ्यास आवश्यक रहेको बताएका थिए ।

युइएफएको बैठक मे २७ बाट जुन १७ सम्मका लागि सारिएकाले प्रिमियर लिगले कहिलबाट प्रतियोगिता सुरु गर्ने भन्ने निर्णयका लागि पनि थप समयसीमा पाएको छ । युएइफएले यसअघि मे २५ सम्ममा खेलतालिका पठाउन निर्देशन दिएको थियो ।

युइएफएले अगस्टमा च्याम्पिन्यस लिग र युरोपा लिगको फाइनल खेलको मिति यसअघि नै तय गरिसकेको छ । सुरक्षा लागि खेलाडीहरूले घरबाटै अभ्यास पोसाक र आफ्नै गाडीमा रंगशाला जानुपर्नेछ ।

प्रकाशित: ५ जेष्ठ २०७७ १९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App