विश्वभरका २१ जना पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर पूर्वकप्तान इमरान खानको उपचारको माग दोहोर्याएका छन्।
सर्वोच्च अदालतको निर्देशन पालना नभएको भन्दै उनीहरूले यो अपील गरेका हुन्। ‘पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई उनका आफ्नै व्यक्तिगत चिकित्सकहरू र उनकी बहिनी डा. उज्मा खानलाई समावेश गर्ने मेडिकल बोर्डद्वारा परीक्षणको लागि अस्पताल स्थानान्तरण गर्न आदेश दिएको छ,’ पत्रमा भनिएको छ।
पत्रमा अगाडि भनिएको छ, ‘अदालतले साप्ताहिक परिवार भेटघाट पनि पुनर्स्थापना गर्यो। यी धेरै स्वागतयोग्य कदम थिए। तर चिन्ताको विषय, खानको अस्पताल बसाइ केही घण्टा मात्र टिक्यो। अदालतले निर्देशन दिएको बोर्डको सट्टा राज्य-नियुक्त टोलीले उनको जाँच गर्यो, ‘मेडिकल रूपमा फिट’ घोषित गरियो, र बोर्डले आफ्नो काम पूरा गर्नु अघि नै आदियाला जेल फर्काइयो।’
पूर्व कप्तानहरूको पत्रमा सर्वोच्च अदालतले निर्देशित गरेको मेडिकल बोर्डलाई खानको स्वास्थ्यको पूर्ण र स्वतन्त्र मूल्यांकन गर्न अनुमति दिइयोस् भन्ने प्रमुख माग राखिएको छ। विशेष गरी उनको दाहिने आँखाको दृष्टि गुमेको रिपोर्ट आएकाले यो आवश्यक भएको उनीहरूले बताएका छन्।
यसका साथै, अदालतले पुनर्स्थापना गरेको साप्ताहिक पारिवारिक भेटघाटलाई कुनै पनि प्रकारको अवरोध वा प्रशासनिक ढिलाइबिना सम्मान गर्न भनिएको छ। अनि चिकित्सा मूल्यांकनको नतिजा जेसुकै भए पनि त्यसले सिफारिस गरेको उपचार ढिलाइबिना उपलब्ध गराइओस् भन्ने माग पनि उनीहरूको छ।
यो पनि पढ्नुहोस्
निजी होइन, सरकारी अस्पतालमा इमरानको स्वास्थ्य परीक्षण : ‘मेडिकली फिट’ भएपछि जेल फिर्ता
छ महिनाभित्र पाकिस्तानी प्रधानमन्त्रीलाई गरिएको यो दोस्रो अपील हो। यस वर्षको फेब्रुअरीमा १४ जना पूर्वकप्तानले पत्र लेखेर खानको स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए। जेलमा उचित उपचार नपाएका कारण उनको एक आँखा लगभग पूर्ण रूपमा काम गर्न छोडेको कुरा परिवारले बताएपछि उनीहरूले चिन्ता व्यक्त गरेका थिए।
आफूहरूलाई ‘राजनीतिज्ञको रूपमा होइन, तर क्रिकेट मैदानमा बनाइएको बन्धन साझा गर्ने पूर्व सहकर्मी र विपक्षीहरूको रूपमा’ उभ्याएको हस्ताक्षरकर्ताहरूले बताएका छन्। उनीहरूले पाकिस्तानको घरेलु कानुनी प्रक्रियामा हस्तक्षेप गर्न खोजेको नभई मानवीय कारणले पत्र लेखेको उल्लेख गरेका छन्।
पत्रमा हस्ताक्षर गर्ने २१ जनामा ग्रेग च्यापेल, इयान च्यापेल, एलन बोर्डर, सुनील गावस्कर, डेभिड गोवर, क्लाइभ लोयड, अर्जुन रणतुंगा, स्टीव वा र जोन राइट लगायतका दिग्गज पूर्व खेलाडी रहेका छन्।
सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका खानलाई पदबाट हटाइएपछि विभिन्न भ्रष्टाचारको मुद्दामा लामो जेल सजाय सुनाइएको छ। यसबाहेक सन् २०२४ को चुनावअघि उनलाई नियम विपरीत विवाह गरेको भन्दै अर्को सजाय पनि सुनाइएको थियो।
एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल फेडरेशन आफ ह्युमन राइट्सलगायतका संस्थाले पनि उनको मुद्दाको निष्पक्षता र जेलको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका छन्। खानका छोराहरूले उनलाई जेलमा मनोवैज्ञानिक यातना दिइएको दाबी गरेका छन् भने पाकिस्तान सरकारले भने ती सबै आरोप खारेज गर्दै आएको छ।
हस्ताक्षर गर्ने कप्तानको सूचीमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रेअर्ली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलिस्टर कुक, माइकल ग्याटिंग, सुनील गावस्कर, ली जर्मोन, एडम गिलक्रिस्ट, डेभिड गोवर, किम ह्युजेस, नासेर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुन रणतुंगा, एन्ड्रयू स्ट्रस, दिलीप भेंगसरकर, स्टीव वा र जोन राइट रहेका छन्। एजेन्सी
प्रकाशित: ७ भाद्र २०८३ २१:२४ आइतबार




-600x400.jpg)
