३१ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

सँघारमा २०औं एसियाली खेलकुद

ओलम्पिक र विश्व च्याम्पियनसहित ४५ देशका करिब १७ हजार खेलाडीसँगै पदाधिकारी जापानमा शनिबारदेखि हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदै छन्। यस एसियाली खेलकुदका ४३ खेलमध्ये अधिकांश प्रतिस्पर्धा जापानको प्रमुख बन्दरगाह सहर नागोया र आसपासको आइची प्रिफेक्चरमा हुने तय छन्।

नागोया जापानको चौथो ठूलो जनसंख्या भएको सहर हो, जहाँ २० लाखभन्दा बढी मानिस बसोबास गर्छन्। दोस्रो विश्वयुद्धका क्रममा ठूलो क्षति भएको नागोया युद्धपछि पुनर्निर्माण गरिएको हो। ३० हजार दर्शक क्षमताको मिजुहो पार्क एथलेटिक रंगशाला मुख्य आकर्षणको केन्द्र रहनेछ। यही रंगशालामा एथलेटिक्सका खेलसँगै उद्घाटन र समापन समारोह हुने तय छ। अत्यधिक चासोका साथ हेरिने पौडीको प्रतिस्पर्धा भने नागोयाबाट करिब ३५० किलोमिटरपूर्व राजधानी टोकियोमा हुनेछ। हरेक चार वर्षमा आयोजना हुने गरी तय एसियाली खेलकुद अक्टोबर ४ तारिखमा सकिनेछ।

दुई सातासम्म चल्ने एसियाको सबैभन्दा ठूलो प्रतिस्पर्धामा एथलेटिक्स र पौडीसँगै ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, फुटबल, गल्फ, जिम्न्यास्टिक्स, टेबल टेनिस, टेनिस र भारोत्तोलन प्रमुख आकर्षणका केन्द्र रहनेछनन्। युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले यसपटक ई स्पोर्ट्स, ब्रेकडान्सिङ र बिएमएक्स साइक्लिङलाई पनि महत्त्व दिइएको छ।

पछिल्लो समय र्‍याकेट खेल प्याडल, मिश्रित मार्सल आर्ट्स (एमएमए) र टेकबल तीव्र रूपमा लोकप्रिय हुँदै छन्। यी खेलले पनि एसियाली खेलकुदमा डेब्यु (पहिलोपल्ट) गर्दै छन्। क्षेत्रीय रूपमा लोकप्रिय कुरास, कबड्डी र उसुसँगै भर्चुअल तेक्वान्दो पनि एसियाली खेलकुदको हिस्सा बनेका छन्।

यस एसियाली खेलकुद संख्याको हिसाबले ओलम्पिकभन्दा पनि ठूलो खेल प्रतिस्पर्धा हो। यसपल्ट ४५ देशका ११ हजार बढी खेलाडी र करिब ६ हजार पदाधिकारीसहित १७ हजारभन्दा बढी सहभागी हुँदै छन्।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा आयोजक पदकतालिकाको शीर्ष स्थानमा थियो। कोरोना महामारीका कारण निर्धारित समयभन्दा एक वर्ष ढिलो आयोजना भएको उक्त संस्करणमा चीन नै बलियो रह्यो। पदकतालिकामा जापान दोस्रो, दक्षिण कोरिया तेस्रो, भारत चौथो र उज्बेकिस्तान पाँचौं स्थानमा थिए। इरान र उत्तर कोरिया पनि शीर्ष १० भित्र रहे। सिरिया र प्यालेस्टाइन पदकतालिकाको पुछारमा खुम्चिए। केही चर्चित खेलाडीको सहभागिताले यसपटक विशेष चासो सिर्जना गरेको छ।

पेरिस ओलम्पिकमा स्वर्ण विजेता ताइवानकी बक्सर लिन यु टिङ लैंगिक विवादका कारण चर्चामा छिन्। उनी पनि आकर्षण हुनेछिन्। भारतका १५ वर्षे क्रिकेटर वैभव सूर्यवंशीलाई उदीयमान खेलाडीका रूपमा हेरिएको छ। उनीभन्दा पनि कम उमेरमा चर्चामा आएकी चीनकी पौडी खेलाडी यु जिदी छिन्।

गत वर्ष १२ वर्षको उमेरमा उनी विश्व पौडी च्याम्पियनसिपमा पदक विजेता हुन्। फिलिपिन्सकी २१ वर्षीया टेनिस खेलाडी एलेक्जान्ड्रा इलालाई पनि स्वर्ण दाबेदारको रूपमा हेरिएको छ। पेरिस ओलम्पिकमा स्वर्ण विजेता पाकिस्तानका जाभलिन खेलाडी अर्साद नदिम पनि एसियाली खेलकुदमा पदकको प्रमुख दाबेदार हुन्। ई स्पोर्ट्समा दक्षिण कोरियाको विश्वकै चर्चित गेमरमध्ये एक ली फेकर साङ ह्योकले नेतृत्व गर्नेछन्। उनको सहभागिताले ई स्पोर्ट्सतर्फ प्रतिस्पर्धालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

भिलेजबाहिर खेलाडी

आयोजक जापानले यसपल्ट एसियाली खेलकुदमा खर्च कम गर्ने गरी व्यवस्थापन गरेको छ। त्यसैले पनि खेलाडीका लागि छुट्टै एथलेट्स भिलेज निर्माण गरेको छैन। केही खेलाडी होटलमा बस्नेछन्। केहीलाई नागोया बन्दरगाहमा रहेका क्रुज जहाजमा राखिँदै छ। एसियसाली खेलकुदका लागि अस्थायी काठका संरचनासमेत प्रयोगमा ल्याइएको छ।

आयोजकले क्रुज जहाजमा बसाइ खेलाडीका लागि सम्झनलायक अनुभव बन्ने विश्वास व्यक्त गरेको छ तर सेप्टेम्बरदेखि अक्टोबरसम्म जापानमा आँधीको मौसम हो। त्यसैले मौसम चुनौती एसियाली खेलकुद बन्न सक्ने सम्भावना पनि छ।

नागोया बन्दरगाहमा राखिएको कोस्टा सेरेना नामक जहाजमा करिब चार हजार मानिस बस्न सक्ने क्षमता छ। सन् २०१२ मा इटालीको टस्कनीनजिक डुबेको चर्चित कोस्टा कोनकोर्डियाको यो जुम्ल्याहा जहाज हो। उक्त कोस्टा कोनकोर्डिया दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो।

धेरै जापान र थोरै ब्रुनाई

यसपटक सबैभन्दा ठूलो संख्यामा खेलाडी आयोजक जापानबाट सहभागी हुँदै छन्। जापानले ९१९ खेलाडी दर्ता गरेको छ। नेपालबाट भने २१ खेलमा १३५ खेलाडी सहभागी हुने तयारी छ। चीनका ८०३ र दक्षिण कोरियाका ७८० खेलाडीले खेल्ने भएछन्। सोमबारसम्मको तथ्यांकअनुसार कुल १० हजार ७९८ खेलाडी एसियाली खेलकुदमा दर्ता छन्।

सबैभन्दा ठूलो खेलाडी टोलीको सूचीमा थाइल्यान्ड ६८२ खेलाडीसहित चौथो स्थानमा छ। हङकङका ५६९, कजाकिस्तानका ५४७ र भारतका ५०८ खेलाडी दर्ता भएका छन्। यी संख्या खेलाडीका मात्र हुन्। राष्ट्रिय टोलीमा प्रशिक्षक, व्यवस्थापक र अन्य पदाधिकारीसमेत समावेश हुने भएकाले समग्र प्रतिनिधिमण्डलको संख्या भने यसभन्दा  बढी हुनेछ।

दक्षिण कोरियाले ४१ खेलमा प्रतिस्पर्धा गर्न १०५२ खेलाडी जापान पठाउँदै छ। दर्ता भएका खेलाडीमध्ये पुरुषको संख्या महिलाको तुलनामा बढी छ। ६ हजार २१५ पुरुष र चार हजार ५८३ महिला खेलाडी यसपल्ट सहभागी हुँदै छन्। कुल खेलाडीमध्ये पुरुषको हिस्सा करिब ५८ प्रतिशत छ तर केही देशको टोलीमा महिला खेलाडीको संख्या पुरुषभन्दा बढी छ।

उत्तर कोरियाले ४२ पुरुष र ६५ महिला खेलाडी प्रतिस्पर्धा गराउँदै छ। भियतनामबाट १७३ पुरुष र १७५ महिला तथा सिंगापुरबाट १३३ पुरुष र १७१ महिला खेलाडी छन्। सबैभन्दा सानो टोली ओलम्पिक काउन्सिल अफ एसियाको शरणार्थी टोली हुनेछ।

उक्त टोलीमा एक पुरुष र एक महिला गरी दुई खेलाडी मात्र छन्। दुवैले तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन र समापन समारोहमा उक्त टोलीलाई ‘ओसिए रिफ्युजी टिम’ नामले प्रस्तुत गरिनेछ। प्रतिस्पर्धामा ‘एसियन रिफ्युजी टिम’ अर्थात् एआरटी नाम प्रयोग हुनेछ। ब्रुनाई सबैभन्दा सानो टोली हो।

ब्रुनाईले पाँच पुरुष र एक महिला गरी कुल ६ खेलाडीलाई सहभागी गराउँदै छ। उनीहरूले कराते र उसुमा प्रतिस्पर्धा गर्नेछन्। जापानले तेस्रोपल्ट एसियाली खेलकुद आयोजना गर्न लागेको हो। सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एसियाली खेलकुद आयोजना भएको थियो। 

प्रकाशित: ३१ भाद्र २०८३ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App