मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरमा बुधबार एकै समयमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। तीमध्ये १२ जनालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।
उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहान १०ः१२ बजे कटारीबाट आउँदै गरेको ना.७ ख ४१५३ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस आपसमा ठोक्किँदा १७ जना घाइते भएका हुन्। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याइएको थियो। गम्भीर घाइतेमध्ये ६ महिलासहित १२ जनालाई प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको छ भने अन्य पाँच जनाको उदयपुरमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा हायस चालक मोरङ कानेपोखरी–६ का ४४ वर्षीय रामबहादुर विश्वकर्मा, सहचालक ४० वर्षीय देवराज विश्वकर्मासहित मोरङ, काठमाडौं, उदयपुर, बाँके, इलाम र सिन्धुलीका यात्रु घाइते भएका छन्।
यस्तै, सोही समयमा त्रियुगा नगरपालिका–९ गहिरुनस्थित वडा कार्यालयनजिक बा.०१०२८ ३६४८ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको छ। झापाबाट काठमाडौं जाँदै गरेको उक्त भ्यानमा सवार चालक र यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।
अँधेरी दुर्घटनाका ट्रक चालक मोरङ पथरी शनिश्चरे–१० का ३० वर्षीय रत्नबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले ओरालो सडकमा ब्रेक नलाग्दा दुर्घटना भएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। दुवै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ३१ भाद्र २०८३ २०:१५ बुधबार





