१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमालयन र जावलाखेलबीच बराबरी

जावलाखेल युथ क्लवका सुजित बुढाथोकी (दायाँ) विपक्षीविरुद्ध बल अघि बढाउदै। तस्बिर : सौजन्य एन्फा

काठमाडौं – हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्दा १२औं चरणका खेल  समाप्त भएका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा हिमालयनले पहिलो हाफमा एक कम खेलाडी भएको जावलाखेल युथ क्लबमािथ लिएको ३–१ को अग्रतालाई अन्तिम समयसम्म कायम राख्न नसक्दा अंक बाँडेको हो। ३५औं मिनेटमा गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सीमित भएको थियो। काउन्टरमा आएको बललाई पेनाल्टी क्षेत्रभन्दा बाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई रातो कार्ड देखाएका थिए। दोस्रो हाफमा जावलाखेलले दुई गोल थप्दै तीन–तीनको बराबरी गर्दा दुवै टोलीले समान १ अंक बाँडे।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पाँचौं मिनेटमा हिमालयन शेर्पाका लागि विदेशी खेलाडी स्टेफेन समिरले गोल गर्दै सुरुआती अग्रता दिलाए। २७औं मिनेटमा विजय श्रेष्ठले गोल थप्दा हिमालयनले अग्रता दोब्बर पारेको थियो। पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका खेलाडी कुवेर विष्टले गोल गर्दै अग्रता छोट्याएका थिए। इन्जुरी समयकै अर्को मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए। ६०औं मिनेटमा जावलाखेलका फोडे फोफानाले एक गोल गर्दै अग्रता ३–२ ल्याए। ६८औं मिनेटमा रूपबहादुर लामाले एक गोल थप्दै खेल ३–३ को अवस्थामा ल्याए। ६९औं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै हिमालयनका नीरज बस्नेत बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए।

त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवैले अग्रताका लागि प्रयास गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल रहे  र खेल ३–३ को बराबरीमा सकियो। बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ। जावलाखेल लिगको पाँचाैँ स्थानमा छ। समान खेलबाट ११ अंक जोडेको हिमालयन शेर्पा ११औं स्थानमा छ। फुटबलको मेरुदण्डका रूपमा हेरिएको प्रतियोगितामा अब अन्तिम चरणका खेल मात्र बाँकी छन्। अहिलेसम्मको लिग समीकरणमा विभागीय टोली त्रिभुवन आर्मी २९ अंकका साथ तालिको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। अघिल्लो सिजन रेलिगेसनको सट्टा अंक घटुवाको प्रावधान राख्दै सञ्चालन गरिएको थियो। जसमा मच्छिन्द्र एक अंकको घटुवामा परेको थियो। सोही अंकका कारण मच्छिन्द्र दोस्रो स्थानमा रहेको छ। अहिले एक मात्र टोलीलाई रेलिगेसन गर्ने प्रावधानअन्तर्गत सरस्वती युथ क्लब घटुवा भइसकेको छ।

१३औं चरणसम्म हुने लिगमा अब अन्तिम चरणका खेल बाँकी छन्। अन्तिम खेलको नतिजासँगै लिगको उपाधि जित्नेको टुङ्गो लाग्नेछ। शीर्ष दुई टोली आर्मी र मच्छिन्द्र आमनेसामने हुँदा लिग समापन हुन्छ। त्यससँगै उपाधि छिनोफानो हुनेछ। अपेक्षाअनुसार लिग रोमाञ्चक नदेखिए पनि अन्तिम खेलमा उपाधि छिनोफानो हुने हुँदा केही रोमाञ्चक हुने निश्चित छ। लिगमा बिहीबारबाट १३औं चरणका खेल सञ्चालन हुँदै छन्। पहिलो खेलमा नेपाल पुलिस र फ्रेन्ड्स क्लब, दोस्रो खेल एपिएफ र ब्रिगेड ब्वाइज तथा तेस्रो खेल सरस्वती र संकटा क्लबबीच हुनेछन्। सबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन्।

लिगमा आजका खेल (एन्फा मुख्यालय)
नेपाल पुलिसविरुद्ध फ्रेन्ड्स    ८ः४५ बजे
एपिएफविरुद्ध ब्रिगेड ब्वाइज    १२ः१५ बजे
सरस्वतीविरुद्ध संकटा    १५ः३० बजे

प्रकाशित: १ फाल्गुन २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App