२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

तेस्रो टेस्ट पनि अस्ट्रेलियाको पकडमा

सिड्नी – न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्टमा पनि पकड जमाउँदै घरेलु टोली अस्ट्रेलियाले आइतबार तेस्रो दिनको समाप्तिमा २ सय ४३ रनको अग्रता बनाएको छ। तेस्रो टेस्ट पनि आफ्नो बनाउँदै क्लिन स्विप गर्ने लक्ष्य राखेको अस्ट्रेलियाले पाहुना टोली न्युजिल्यान्डलाई पहिलो इनिङमा २ सय ५१ रनमै आउट गर्दै तेस्रो दिन नै आफ्नो दोस्रो इनिङ सुरुआत गरेको थियो। तेस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले बिनाविकेट ४० रन बनाउँदै २ सय ४३ रनको अग्रता लिएको छ। दुुई दिनको खेल बाँकी रहँदा अस्ट्रेलियाका ओपनरद्वय डेविड वार्नर २३ र जोय बन्र्स १६ रनमा नटआउट छन्।

यो जोडीले चौथो दिन सोमबार केही समय ब्याटिङमा बिताए अस्ट्रेलियाले बलियो स्थितिमा पाहुना टोलीलाई लक्ष्य प्रस्तुत गर्नेछ। यसअघि तेस्रो दिनमा न्युजिल्यान्डले दशै विकेट गुमाउँदा अफ स्पिनर नाथन लियोनले पाँच विकेट लिँदै घरेलु टोलीको बलिङ आक्रमणलाई बलियो साथ दिएका थिए। अस्ट्रेलियाको घातक बलिङपश्चात् न्युजिल्यान्डका एक खेलाडीले मात्र अर्धशतक पार गरे। न्युजिल्यान्डका लागि डेब्यु गरेका ग्लेन फिलिप्सले सर्वाधिक ५२ रनको योगदान दिएका थिए।

‘आज हामी निकै बलियो स्थितिमा छौं,’ करियरको ३ सय ८५ टेस्ट विकेट लिएका लियोनले भने,‘बिहानी सत्रमै धेरै राम्रो बलिङ भयो। ब्याट्सम्यानले पनि राम्रो सुरुआत दिने प्रयास गरिरहेका छन्।’ यता, दुई पटक जीवनदान पाएका फिलिप्सले पनि डेब्युमै आफ्नो टोलीको कमजोर ब्याटिङलाई राम्रो साथ दिने प्रयास गरे। फिलिप्सले २ रन र ११ रनमा लियोनकै बलिङमै दुई पटक आउट हुने संकट टारेका थिए। जेम्स प्याटिनसनको बलमा फिलिपले ठूलो सट खेल्ने प्रयास गर्दा ट्राभिस हेडद्वारा क्याच भए पनि नो बल हुन पुग्यो।

त्यससँगै २८ रनमा ब्याटिङ गरिरहेका फिलिप्सलाई पुनः भाग्यले साथ दियो। अवसर सदुपयोग गरेका फिलिप्सले प्याट कमिन्सको बलमा चौका हिर्काउँदै डेब्यु खेलमै अर्धशतक पूरा गरे। यद्यपि,त्यसको दुई बलपछि नै कमिन्सकै बलमा बोल्ड हुँदै फिलिप्स पवेलियन फर्किए। त्यसपछि लियोनले विल सोमरभिले र निल वाग्नरलाई डक आउट गरेपछि न्युजिल्यान्डको नवौं विकेट पतन भएको थियो।

हेनरीले तीव्र गतिका बलर म्याट हेनरीलाई ३ रनमा पवेलियनको बाटो देखाउँदै न्युजिल्यान्डको इनिङ सस्तैमा रोकिदिए। तेस्रो दिनको लन्च लगत्तैको दोस्रो ओभरमा भरपर्दा रोस टेलर २२ रनमा आउट भएपछि न्युजिल्यान्डको इनिङ कमजोर बन्न सुरु गरेको थियो। सस्तैमा आउट भएपछि टेलर न्युजिल्यान्डका लागि सर्वाधिक टेस्ट रन बनाउने ब्याट्सम्यान बन्न अभैm २० रनले पछाडि छन्।

न्युजिल्यान्डका लागि स्टेफन प्लेमिङले सर्वाधिक ७ हजार १ सय ७२ रनको आकडा बनाएका छन्। विकेटकिपर  ब्याट्सम्यान बिजे वाटलिङ पनि ९ रनमै पवेलियन फर्किए। उनी मिचेल स्टार्कको बलमा क्लिन बोल्ड भएका थिए। कोलिन डी ग्रान्डहोम २० रनमा रनआउटको सिकार भए। बिहानी सत्रैमा अस्ट्रेलियाका बलर हाबी हुँदा लियोनले दुई विकेट लिए। उनले मेलबर्नका शतकधारी टम ब्लन्डलाई ३३ रन र जित राभेललाई ३१ रनमा आउट गरेका थिए।

तेस्रो दिन नै कप्तान टम लाथम अर्धशतकबाट एक रनले चुकेका थिए। उनी ४९ रनमा कमिन्सको बलमा आउट भएका थिए। कमिन्सले तीन र स्टार्कले एक विकेट लिँदै अस्ट्रेलियाको बलिङ आक्रमणलाई साथ दिएका थिए।

प्रकाशित: २१ पुस २०७६ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App