काठमाडौं – सुवास तामाङले तीन अन्डर ७१ को सेट खेल्दै फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार अग्रता बनाएका छन्। गोकर्ण गल्फ क्लबमा च्याम्पियनसिपको उद्घाटनको दिन युवा गल्फर सुवासले शीर्षता अग्रता बनाउँदा रीतेश तामाङको तीन ओभर ७५ को कार्ड दिनको दोस्रो उत्कृष्ट स्कोर बन्यो। पहिलो दिन सुवासले फ्रन्ट नाइनमा दुई अन्डर ३४ को सट खेल्दा तेस्रो र सातौं होलमा बर्डी हिर्काएका थिए। १०औं होलमा बर्डीसहित ब्याक नाइनको सुरुआत गरेका सुवासले १४औं होलको सट भने खेर फालेका थिए।
यद्यपि, दिनको अन्तिम होलमा बर्डी हिर्काउँदा सुवासले ब्याक नाइनमा एक अन्डर ३५ को कार्ड बनाए। रीतेशले भने पहिलो हाफमा दुई ओभर ३८ स्कोर बनाउँदा पहिलो र तेस्रो होलमा बोगीको सामना गरेका थिए। चौथो र सातौं होलमा बर्डी प्रहार गरेका रीतेश आठौं होलमा भने डबल बोगी खेप्न पुगे। १२औं होलमा बर्डी हिर्काएका रीतेशले १४औं र १६औं होलको सट खेर फालेपछि दोस्रो हाफमा भने एक ओभर ३७ को कार्ड बनाए।
त्यसैगरी १७–२१ वर्ष उमेरसमूहमा भारतका अभिराजसिंह चौहानले पहिलो राउन्डमा चार ओभर ७६ स्कोर गरे। नेपालका सुदीप तामाङले भने १५ ओभर ८७ को स्कोर कार्डमा खेलेका थिए। अभिराजसिंहले इभन पारमा रहेर फ्रन्ट नाइन खेल्दा तेस्रो र नवौं होलमा बर्डी हिर्काए। त्यसअघि चौथो होलमा भने उनले डबल बोगीको सामना गरेका थिए।
ब्याक नाइनमा एक मात्र बर्डी प्रहार गरेका अभिराजले ११औं, १२औं र १६औं होलमा बोगी हिर्काए। १४औं होलमा भने डबल बोगी खेपेका उनले ब्याक नाइनमा भने १४ ओभर ४० को स्कोर कार्ड बनाएका थिए। १२–१६ वर्ष उमेरसमूहमा भने सद्भाव आचार्यले आशालाग्दो सुरुआत गरेका छन्। सद्भावले ६ ओभर ७६ को सुरुआत गर्दा रीतेश तामाङभन्दा तीन सटले मात्र पछि परे।
डबल बोगीबाट खेलेका सुरुआत गरेका सद्भावले छैटौं होलमा बोगीकै सामना गरे। सातौं होलमा बर्डीसहित सद्भावले पहिलो नाइनमा दुई ओभर ३८ को कार्ड बनाए। दशौं होलमा बर्डीसहित पछिल्लो नाइनको सुरुआत गरेका सद्भावले ११औं, १३औं र १५औं होलको सट खेर फाल्दा १४औं होलमा भने डबल बोगी खेपेका थिए। त्यससँगै उनी पछिल्लो नाइनमा चार ओभर ७६ को कार्डमा खुम्चिए।
यसै उमेरसमूहमा शाश्वत प्रधानले १८ ओभर ९० को सट खेले। गल्र्सतर्पm कश्मिरा शाहले १३ ओभर ८५ को प्रदर्शन गरिन्। प्रतिभा राई र रविना श्रेष्ठले २१ ओभर ९३ स्कोरको कार्ड बनाए। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा कुल ५४ होलमा खेल हुनेछ। प्रत्येक विधाका विजेताले १४औं फाल्डो सिरिज एसियाको ग्रान्ड फाइनलमा स्थान बनाउनेछन्। उक्त प्रतियोगिता आगामी मार्चमा भियतनाममा हुनेछ।
प्रकाशित: १७ पुस २०७६ ०१:१५ बिहीबार