६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बुटवललाई रोक्दै विराटनगर फाइनलमा

धन बस्नेत/सुमन चापागाइँ
पोखरा - बुटवल ब्लास्टर्सलाई ब्याक टु ब्याक पराजित गर्र्दै विराटनगर टाइटान्स नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अनतर्गत दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ। लिग चरणका खेलमा कमजोर देखिएको विराटनगरले प्लेअफमा पुग्न बुटवललाई नै पराजित गरेको थियो। नेट रनरेटमा काठमाडौंलाई पछि पार्दै माथि उक्लिएको विराटनगरले बुटवलमाथि जित निकाल्दै फाइनल प्रवेश ग-यो।

लिग चरणमा विराटनगर  कमजोर देखिएको थियो। लिगचरणको अन्तिम खेलअघि केवल २ अंकमा रहेको विराटनगरले बुटवलाई पराजित गर्दै प्लेअफमा सम्भावना बनायो। बुटवल ब्लास्टर्सलाई पोखरा क्रिकेट मैदानमा बिहीबार २१ रनले पराजित गर्दै विराटनगर टाइटान्स उपाधिनिकट पुग्ने भाग्यमानी टोली बन्यो। उपाधिका लागि चितवन राइनोजले नयाँ प्रतिस्पर्धी पाएको हो। चितवनले दोस्रो पटक फाइनल खेल्नेछ। पहिलो संस्करणमा पोखरा पल्टनसँग फाइनलमा पराजित चितवनले उपविजेतामा चित्त बुझाएको थियो।  

बुटवललाई जितका लागि अन्तिम दुई ओभरमा २६ रनको खाँचो थियो। १९औं ओभरमा जितेन्द्र मुखियाले मेडन ओभर फाले। क्रिजमा थिए अविनाश बोहोरा। बोहोराले मुखियाको बल खेल्नै सकेनन्। ६ बल नै  डट खेलेपछि सम्भावित जितबाट बुटवल टाढिइसकेको थियो। अन्तिम ओभरमा पुनीत मेहराले बुटवल ब्लास्टर्सका कप्तान सोमपाल कामीको विकेट लिएपछि विराटनगर २१ रनको जित निकाल्दै फाइनल पुग्यो। अघिल्लो दिन बुटवलाई नै पराजित गरेर प्लेअफ सम्भावना बनाएको विराटनगरले बुटवललाई फेरि पराजित गर्दै उपाधिनिकट पुग्यो।

१ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलका लागि अफ्ताबुद्दिन अहमदले उत्कृष्ट सुरुआत गरे। उनको विकेट गुमेसँगै बुटवलले थप ५ रन जोड्ने क्रममा ३ विकेट गुमाउन पुग्यो। अहमदलाई  ४३ (२२)  रनमा गुमाएको बुटवलले त्यसपछि शंकर राना ४ र हर्ष टंकलाई २ रनमै गुमाएपछि सम्भावित जितका लागि संघर्ष गर्नुपर्ने परिस्थिति देखियो। अहमदले २२ बल खेल्दै ६ चौका र २ छक्का हिर्काए।

यद्यपि मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले लोभलाग्दो प्रदर्शन गर्दै जितको आधार तयार पार्ने सम्भावनालाई जीवितै राखे। उनी ४४ रन बनाउँदा किशोर महतोको बलमा आउट हुन पुगे। उनको पतनसँगै बुटबलका ब्याट्सम्यानले आशालाग्दो प्रदर्शन गर्न सकेनन्। उनले पनि ३४ बलको सामना गर्दै ३ चौका र २ छक्का हिर्काए। शिव्म सिंहले १४, पुरन विकले १५ रन बनाए। पुनीत मेहरा र सहबाव आलमले ३÷३ विकेट लिएपछि बुटवल प्लास्टर्स २० ओभर टुंगिँदा १ सय ४४ रनमा समेटिन पुग्यो।

यसअघि टस हारेर ब्याटिङ सुरु गरेको विराटनगरले ओपनर सुनील धमलाले उत्कृष्ट ब्याटिङ गर्दै बनाएको ६१ रनको मद्दत १ सय ६५ रन बनाएको थियो। नमस्ते पोखरा प्रिमियर लिगमा बुटवलविरुद्धको प्ले अफमा उनको यो उत्कृष्ट प्रदर्शन हो। यसअघि उनको ब्याटबाट खासै रन भने निस्किएको थिएन।

टस हारेर क्रिजमा उत्रिएको विराटनगर टाइटान्सले पहिलो विकेटका रूपमा मोहम्मद जैद आलमलाई गुमाउन पुग्यो। ३९ रनको साझेदारी निभाइरहँदा आलम व्यक्तिगत २० रनमै आउट भए। अर्का ओपनर सुनील धमलालाई साथ दिन लोकेश बम मैदान छिरे। उनीसँग २८ रनको साझेदारी बन्यो। तेस्रो विकेटका लागि धमलाले पुनीत मेहरासँग ४७ रनको साझेदारी गरे। धमलाले ६१ रन बनाउने क्रममा ५४ बल खेले।

६ चौका र २ छक्का हिर्काए। बमले १९ (१६), पुनीत मेहराले १९ (२१) रन बनाए। कप्तान प्रदीप ऐरीले अविजित रहने क्रममा ३३ रन बनाए। उनले १३ बल खेल्दै १ चौका र ४ छक्का हिर्काए। विराटगरका बलर आलम म्यान अफ दी म्याच घोषित भए। टस हारेर ब्याटिङ सुरु गरेको विराटनगरले ओपनर सुनील धमलाले उत्कृष्ट ब्याटिङ गर्दै बनाएको ६१ रनको मद्दत १ सय ६५ रन बनाएको थियो।

प्रकाशित: ११ पुस २०७६ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App