१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

काडमाडौं  -  दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

त्यस्तै संरक्षक वज्राचार्यले श्री अमोल रोयलाई हराए। पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले। अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्सअगावै नेपाललाई सेमिफाइनलमा पु-याए।

डबल्समा नेपालका नवीन पाइजा र प्रदीप खड्काको जोडीले ३–० को सोझो सेटमा जित निकाल्यो। अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ। पुरुषतर्फ भुटान पनि सेमिफाइनलमा पुग्यो। भुटानले माल्दिभ्सलाई ३–० ले नै हरायो। सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६ (५), ५–५ (रिटायर्ड) को सेटमा हराए।

त्यस्तै तान्डिन वाङ्चुकले इग्नाज मन्सुरलाई ६–२ र ६–४ ले हराए। डबल्समा निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६(३) ले हरायो। भुटानले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ।

पाकिस्तानले श्रीलंकालाई २–१ ले हरायो। सिंगल्सतर्फको पहिलो खेलमा अइसम उल हक कुरेसीले शर्मल दिसानायकेलाई ६–७(५), ६–४ र ६–४ ले हराए। दोस्रो सिंगल्समा श्रीलंकाका दिनेश कान्तन थरंगराजले अकिल खानलाई ६–१ र ६–० ले हराउँदा बराबरी भयो।

डबल्सतर्फ भने मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ ले हराएपछि पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो। महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे। नेपालले माल्दिभ्सलाई ३–० ले हरायो। सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन्। अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन्।

डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हरायो।
श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो। अनिका सिनेभिरत्नेले जरिन सुल्ताना जोलीलाई ६–२ र ६–३ ले हराइन्। त्यस्तै अञ्जलिका कुरेराले रिन्भी अक्थर तृप्तिलाई ६–० र ६–१ ले हराइन्। डबल्सतर्फ अलाना सेनेभिरत्ने र रुक्सिका विजसुर्यको जोडीले इशिता अफ्रोस र सुस्मिता सेबको जोडीलाई ६–३ र ६–१ ले हरायो।

प्रकाशित: १७ मंसिर २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App