coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रशिक्षणको कुशलता प्रमाणित गर्ने अवसर

काठमाडौं – नेपाली खेलकुदका लागि बहुप्रतीक्षित अन्तर्राष्ट्रिय खेलकुद महोत्सवका दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आयोजनाको मिति नजिकिँदै छ। नेपालमा हुने भनिएको खेल आयोजनाका लागि करिब ३६ दिन मात्र बाँकी छँदा आन्तरिक तयारीको हिसाबले निराशाजनक रहे पनि खेलाडी र प्रशिक्षकको तयारीले भने खेलक्षेत्रमा झीनो आशा जगाएको छ।

यही सागमै लामो समयदेखि खेलाडीका रूपमा योगदान दिएका करातेका कुशल श्रेष्ठले यति बेला प्रशिक्षकको भूमिकाबाट देशलाई पदक दिलाउने लक्ष्यमा होमिएका छन्। कुशल एक दशकसम्म नेपाली करातेमा वर्चस्व रहँदा दक्षिण एसियाली राष्ट्रमा पनि आफ्नो छाप छोड्न सफल खेलाडी हुन्। 

नेपालमै आयोजना हुने खेलकुदको महाकुम्भ मेलामा कुशललाई चुनौतीसँगै अवसर पनि मिलेको छ। सीमित स्रोतसाधन, खेलाडीको अपर्याप्त अन्तर्राष्ट्रिय एक्सपोजर र करातेभित्रका खिचातानीका बीच खेलाडीलाई सक्षम बनाएर १३ औं सागमा स्वर्ण पदक दिलाउनु कुशलका लागि चुनौती हुनेछ। यसबीच कुशलको कुशलतामा कयौं किसिमका परीक्षा पक्कै खडा हुन्छ।

दशौं सागमा स्वर्णसहित कुशलले सागमा थप एक रजत र दुई कांस्य जित्दै आफू एक सफल खेलाडीको रूपमा प्रमाणित गरिसकेका छन्। साथै खेलाडीकै रूपमा सागमा स्वर्ण जितेका उनै कुशललाई प्रशिक्षकका रूपमा पनि सागमा देशलाई पदक दिलाउने अवसर यस पटक मिलेको छ, त्यो पनि २० वर्षपछि आफ्नै घरमा। 

पाकिस्तानमा भएको नवौं सागमा कुशल कुमुते (फाइट) तर्फ रजत पदकमा सीमित भएका थिए। निकै प्रतिस्पर्धात्मक रहेको उक्त फाइनलमा कुशल पाकिस्तानका खेलाडीसँग गोल्डेन स्कोरमा स्तब्ध हुँदा स्वर्ण जित्नबाट चुके। त्यसपछि स्वर्ण जित्ने अठोट बोकेका कुशलले श्रीलंकामा सम्पन्न १० औं सागमार्पmत लक्ष्य पूरा गरे। त्यस पटक नेपाली कराते टोलीले दुई स्वर्ण पदक जितेको थियो।

त्यति बेला कुशलसँगै सुलोचना सिजाखुले नेपाललाई स्वर्ण दिलाएका थिए। बंगलादेशमा सम्पन्न ११औं सागमा भने कुशलका लागि विशेष बन्न नसके पनि यादगार बन्यो। ११औं सागमा नेपालले करातेमा तीन स्वर्ण जिते पनि कुशल भने कांस्य पदकमै खुम्चिए। त्यस संस्करणमा कुशलले फाइटसँगै कातामा पनि नेपाललाई कांस्य पदक दिलाएका थिए। 

त्यस्तै १५ औं कतार एसियाड र १६ औं ग्वान्झाउ एसियाड खेलेका कुशलले सन् २००२ देखि ०१२ सम्म राष्ट्रिय टोलीबाट खेलाडीका रूपमा प्रतिस्पर्धा गरे। सन् २०१५ देखि भने राष्ट्रिय टोलीको प्रशिक्षक भएपछि कुशलको परिचय फेरिएको थियो। खेलाडीका रूपमा दिलाएको सफलता प्रशिक्षकको भूमिकाबाट पनि दोहोर्‍याउने लक्ष्यमा उनीमा छ।

‘खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट लामो समय योगदान दिएको छु। साथै केही पदक पनि दिलाएँ ,’ कुशलले भने, ‘प्रशिक्षकका रूपमा पनि देशका लागि पदक जित्ने लक्ष्य छ। त्यसका लागि सहज छैन। समय एकदम कम छ, त्यसैले हाम्रो तयारी अन्तिम चरणमा पुग्नुपर्छ।’

१३औं साग आगामी मंसिर १५ देखि २४ गते हुने तय भएको छ। त्यसैले आयोजना मिति पनि खासै पर छैन। यद्यपि, खेलाडीहरूले आफ्नो प्रशिक्षण निकै राम्रोसँग गरिरहेको प्रशिक्षक कुशलको बुझाइ छ। तथापि खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजर कम भएकाले उनमा केही चिन्ता पनि छ।

‘समय निकै कम भएकाले खेलाडीको तयारीमा तीव्रता छ। हाम्रा खेलाडी र प्रशिक्षकले शतप्रतिशत नै मिहिनेत गरिरहेका छन्,’ प्रशिक्षक कुशलले भने, ‘यद्यपि उनीहरूको म्याच एक्सपोजर निकै कम छ। १÷२ जनाले मात्र आफ्नै खर्चमा गत एसियाडपश्चात् अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका होलान्।’

जति धेरै एक्सपोजर पायो, त्यति प्रदर्शनमा पनि राम्रो हुने कुशलको बुझाइ छ। नीति नियम बनाउनेहरूले पनि प्रशिक्षणसँगै एक्सपोजरलाई पनि प्राथमिकतामा राख्यो भने नतिजा राम्रो आउने विचार कुशलको छ। साग नजिकिँदै जाँदा विभिन्न खेलले प्राथमिकताको वैदेशिक प्रशिक्षण वा विदेशबाट प्रशिक्षक बोलाएर प्रशिक्षण गरिरहेका छन्।

उनी भन्छन्, ‘खेलाडीलाई विश्व करातेमा राम्रो कहलिएका राष्ट्रका खेलाडीसँग प्रशिक्षण र केही प्रतिस्पर्धामा पनि सहभागी गराउने योजनामा थियौं। यसका लागि लामो समयदेखि तयारी गर्नुपर्दथ्यो। यद्यपि त्यो गर्न सकेका छैनौं। तर पनि रुटिन बनाएर हामीले पनि राम्रो तयारी गरेका छौं।’ करातेमा धेरै पक्षहरू र खेल्ने शैली पनि परिवर्तन भएका छन्। हामीले पनि सोही अनुरूपमा परिवर्तन गराउनुपर्ने कुशल बताउँछन्। 

‘हामी आफै पनि अपडेटेड छौं। सञ्चारको आधुनिक जमाना छ। इन्टरनेटका कारण सबै कुरा तुरुन्त अपडेट भइहाल्छ। हाम्रा खेलाडी पनि त्यसप्रति पोख्त छन्,’ प्रशिक्षक कुशलले भने, ‘तर वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय एक्सपोजरले भने खेलाडीको स्तरमा वृद्धि हुनेछन्। त्यस किसिमको सहभागिताले हाम्रा लागि नयाँ हुन्छन्।’

भारतमा सम्पन्न १२ औं संस्करणमा नेपालको पदक सम्भावना राम्रो भएको करातेले प्रतिस्पर्धा गर्न पाएन। भारतीय करातेको आन्तरिक द्वन्द्वको प्रत्यक्ष असर नेपाली खेलाडीमा पनि पर्‍यो। त्यसैले ११ औं संस्करणमा पूरा हुन नसकेको लक्ष्यमा होमिने अवसरमा खेलाडीले १२ औं संस्करणमा पाएनन्।

यद्यपि, २० वर्षपछि नेपालमा फर्किएको सागमा यस पटक नेपाली कराते खेलाडी गत संस्करणको धोको पूरा गर्न चाहन्छन्। गत संस्करण राम्रो तयारी गरे पनि प्रतिस्पर्धा गर्न नपाएकाले खेलाडीमा नैराश्यता छाएको थियो तर यस पटक नेपाली खेलाडीले राम्रो चुनौती प्रस्तुत गर्ने कुशलको विश्वास छ।

‘बंगलादेशको ढाकामा सन् २०१० सम्पन्न ११औं सागमा करातेको पछिल्लो प्रतिस्पर्धा हो। त्यसैले हामीले ९ वर्षपछि सागमा खेल्ने अवसर पाएका छौंं,’ कुशलले भने,‘हामीले करातेको एसियन च्याम्पियनसिप र केही अन्य प्रतियोगितामा राम्रो नतिजा ल्याएका छौं। त्यसैले साग प्रतिस्पर्धाहरूमा हामी पनि मुख्य चुनौती हौं।’

कुशलसँगै उनकी धर्मपत्नी तारा गुरुङ पनि राष्ट्रिय टोलीको प्रशिक्षण गराइरहेकी छन्।  कुशल र ताराको जोडी नेपाली खेलकुदमा जमेको जोडी हो । खेलकै क्रममा उनीहरूको प्रेमविवाह भएको हो । साग खेल्न नपाए पनि ताराले दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेकी छन् । राखेपमा करातेका सहायक प्रशिक्षक रहेका दुवैको नेपाली करातेले यस पटक स्वर्ण जिताउने लक्ष्य छ।

१३औं सागमा कुल १९ विधामा नेपाली खेलाडीले काताका चार विधा र अन्य कुमुतेमा प्रतिस्पर्धा गर्दै छ। कुमुतेमा पुरुषतर्पm ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६७ केजीमुनि, ७५ केजीमुनि, ८४ केजीमुनि र ८४ केजीमाथि तथा महिलातर्पm ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६१ केजीमुनि, ६८ केजीमुनि र ६८ केजीमाथि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

कुमुतेमै पुरुष टिम कुमुते र महिला टिम कुमुते पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। त्यस्तै कातातर्पm पुरुष काता, महिला काता र टिममा (पुरुष टिम काता र महिला टिम काता) नेपाली खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।

प्रकाशित: १७ कार्तिक २०७६ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App