१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सागका लागि बीच भलिबलको मैदान निर्माण

काठमाडौं– नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ।

आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष्य गरेर बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो। सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ।

बीच भलिबलको हाल भइरहेको एक कोर्टलाई  स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ। त्यसैगरी महिला तथा पुरुषको छुट्टाछुट्टै चेञ्जिङ रुम, बत्तीलगायत अन्य पूर्वाधारसमेत निर्माण गरिने बताइएको छ।

फेवाताल किनार बाराहीघाटस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा दुई सातामै आवश्यक सबै  पूर्वाधार निर्माण गरी काम शुरु गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले बताए। 

सो कार्यका लागि राखेपबाट ५२ लाखरुपैयाँ विनियोजन भएपछि उपभोक्ता समितिमार्फत काम शुरु गरिएको उनको भनाइ थियो। नयाँ कोर्ट निर्माणका लागि जमीनको खाल्डाखुल्डी पुर्न  करीब  पाँच हजार ५०० घनमिटर माटो आवश्यक पर्ने भएकाले पाँच ट्रिपरबाट फेवाताल सफाइअन्तर्गत निकालिएको माटो ओसार्न शुरु गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताए।

मैदानमा माटो भरेपछि डेढ फिट बालुवा हालेर निर्धारित समयमै मैदान तयार गरिने उनले प्रतिबद्धता व्यक्त गरे। सागका लागि नेपाली राष्ट्रिय भलिबल टोली एक सातापछि बन्द प्रशिक्षणका लागि पोखरा आउने सदस्य गुरुङले जानकारी दिए। नेपाली टोलीमा महिला तथा पुरुष चार÷चार गरी आठ जनाको सहभागिता रहेको छ। रासस

प्रकाशित: ३ कार्तिक २०७६ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App